१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गुठियारलाई सामन्ती भन्ने संचारमन्त्रीको राजीनामा माग

काठमाडाैँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेको भन्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको राजीनामा मागेका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सत्तारुढ दलकै नेता मानन्धरले गुठीलाई सामन्ती पं्रथा जोडेकोमा कडा आपत्ती जनाउँदै राजीनामा दिनुपर्ने बताएका हुन्। ‘सरकार प्रवक्ताको रूपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनुस्, होइन भने राजीनामा दिनुस्। प्रवक्ता जनताको हो। धेरै ठूलो स्वरले बोल्ने होइन,’ उनले भने। सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरेको मानन्धरको आरोप छ। ‘सञ्चारमन्त्रीजी, कि क्षमा माग्नुस्, कि राजीनामा दिनुस्,’ उनले भने।

मुलुक चिनाउने गुठीलाई सामन्तवादको सूचक भनेको भन्दै मानन्धरले राजीनामा नै माग्नुपर्ने अवस्था आएको पनि बताए। ‘आज गुुठियारहरूलाई जसरी आक्षेप लगाउने र अपमान गर्ने गरिएको छ, यसले अब मन्त्रीहरूको दिनगन्ती सुरु भएको छ,’ मानन्धरले भने। मन्त्रीहरूको यस्तै प्रवृत्ति जारी रहे गणतन्त्रसमेत धरापमा पर्ने उनको तर्क थियो।

प्रधानमन्त्री केपी ओली फर्किएपछि पनि विधेयक फिर्ता लिने निर्णय नगरे काठमाडांैमा आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनीसमेत मानन्धरले दिएका छन्। ‘म यहीँबाट भन्न चाहन्छु, यदी प्रधानमन्त्रीले पनि फिर्ता लिन चाहनुभएन भने हेर्दै गर्नुहोला काठमाडौं के हुन्छ। यो मेरो चुनौती होइन, सरकारलाई सुझाव हो,’ उनले भने। सरकारले ल्याएको गुठी विधेयकले कसैलाई फाइदा नहुने मानन्धरको दाबी छ। बाबु बाजेले गुठीमार्फत संरक्षण गरेको सम्पत्तिलाई अहिलेको सरकारले मास्न खोजेको उनको आरोप छ।

कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेता तथा सांसद भिमसेन दास प्रधानले गुठी विधेयक फिर्ता नभएसम्म संसद चल्न नदिने बताए। कुनै पनि हालतमा विधेयक फिर्ता गर्नुपर्ने प्रधानको भनाइ थियो। विधेयक फिर्ता भएन भने काठमाडांै जुरुक्क उठ्ने र त्यसलाई कसैले पनि रोक्न नसक्ने प्रधानको चेतावनी थियो। प्रधानले मन्त्री बाँस्कोटा धर्म संस्कृतिबारे अनभिज्ञ हुनु दुर्भाग्य भएको बताए।

गुठी विधेयककै कारण संघीयतासमेत धरापमा परेको भन्दै प्रधानले प्रधानमन्त्री केपी ओली नै संघीयताविरोधीको रूपमा देखा परेको बताए। ६२–६३ को आन्दोलनका बेला घरमा बसेर बयलगाढा चढेर अमेरिका पुगिँदैन भन्ने ओली अहिले धर्म संस्कृति मास्न लागिपरेको आरोप लगाए। ओलीले होली वाइन खाएको आरोप लगाउँदै प्रधानले नेपाली मौलिक संस्कृति मास्न खोजेको आरोप लगाए। ‘गुठी विधेयक फिर्ता गर्नुपर्छ। फिर्ता भएन भने कुनै पनि हालतमा संसद चल्न दिँदैनौँ। ४ गतेपछि के हुन्छ हेर्दै जानुस्,’ प्रधानले भने।

कार्यक्रममा पशुपति विकास क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव गोविन्द टण्डनले पनि सरकारले ल्याएको गुठी विधेयकले संस्कृतिमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाए। गुठियारहरूको सम्पत्तिको सम्मान गर्दै सरकारले उचित निर्णय गर्नुपर्ने सुझाब टण्डनले दिएका छन्। ‘गुठी भनेका हाम्रा पुर्वजहरुले गुठियारहरुलाई ल है संरक्षण गर भनेर दिएको सम्पत्ति हो,’ टण्डनले भने।

प्रकाशित: १ असार २०७६ ०२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App