१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ओलीलाई भीमसेन दासको चेतावनीः काठमाडौंको जनता जुरुक्क उठ्यो भने के हुन्छ हेक्का राख्नुस्

काठमाडौं– नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले गुठी विधेयक तत्काल फिर्ता लिन माग गरेका छन्। बिहीबारको संसद बैठकमा बोल्दै प्रधानले काठमाडौंका जनता सडकमा उत्रिए सरकारले थेग्न नसक्ने चेतावनी समेत दिए। ‘सरकारले हेक्का राखोस्, काठमाडौंका जनता उठेपछि कुनै शक्तिले रोक्न सक्दैन्। यसबारे हाम्रा प्रधानमन्त्री ओलीजी पनि जानकार हुनुहुन्छ’, उनले भने। 

गुठी विधेयक तत्काल फिर्ता भएर संशोधन नगरिए काठमाडौंमा आन्दोलन चर्किने र यसले सरकार मात्रै होइन वर्तमान व्यवस्थालाई कहाँ पुर्याउँछ भनेर भन्न नसकिने उनको चेतावनी छ। ‘अहिले केपी ओली सरकार ढल्ने चिन्ता होइन। काठमाडौंको जनता जुरुक्क उठ्यो भने सबै पार्टी मिलेर ल्याएको संविधानप्रति नै जनताले अनास्था गर्ला भन्ने चिन्ता हो।’ 

राजतन्त्र फाल्ने एजेण्डा आफूहरुको नभएको तर काठमाडौंको जनता जुरुक्क उठ्दा एक क्षणमै फालिएको स्मरण गर्दै प्रधानले भने, ‘पृथ्वीनारायण शाहले पनि यहाँको संस्कृति र सम्पदामाथि सम्मान गरेकाले उनी यहाँ शासन कायम गराउन सफल भए। तर, वर्तमान सरकारले विश्व सम्पदा सूची, राष्ट्रसंघमा सूचीकृति संस्कृति र सम्पदा मास्नेगरी विधेयक ल्याएको छ। काठमाडौंमा आन्दोलनको हुरी चल्दैछ, बादल गर्जिदैछ। आन्दोलनले संविधान विफल नहोस्। यो विधेयक तुरुन्तै फिर्ता होस्। सरोकारवाला, संस्कृतिविद, पुरातत्वविदसँग छलफल गरेर संशोधन गरियोस। भएन भने आन्दोलन चर्किन्छ, कहाँ पुर्याउँछ भन्न सकिन्न्।’ 

प्रधानले राणा शासन, पञ्चायत र २०६२/०६३ काे जनआन्दाेलनमा पनि काठमाडाैंकै जनताले निर्णायक भूमिका खेलेकाे पनि स्मरण गराए।

प्रकाशित: ३० जेष्ठ २०७६ ०६:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App