१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सत्तापक्षका सांसद भन्छन्–अब सरकारको हिसाब–किताब माग्ने बेला आयो

सुर्खेत– कर्णाली प्रदेशसभाको वर्षे अधिवेशनको पहिलो दिन प्रतिपक्षी मात्रै होइन्, सत्तापक्षले पनि सरकारको चर्को आलोचना गरेका छन्। सत्ता पक्षका नेता यामलाल कँडेलले सरकारले गरिरहेका काम र गतिविधिले सिंगो पार्टीलाई असर पर्ने बताए। उनले मन्त्रीपिच्छे फरक–फरक नीति तथा कार्यक्रम घोषणा गरेर सरकार आलोचित बनेको बताए।

‘अब सरकारको हिसाब–किताब माग्ने बेला आइसकेको छ’ नेता कँडेलले सरकारतर्फ इंगित गर्दै भने, ‘तपाईहरुका कारणले सिंगो पार्टीलाई अप्ठ्यारो परिरहेको छ।’ उनले प्रदेशको समृद्धि र विकासका लागि प्रतिपक्षी दलहरुलेसमेत साथ दिन्छौं भनिरहेको बेला सरकारले त्यसलाई आत्मसाथ गर्न नसकेको बताए।

उनले प्रदेश सरकारका गलत क्रियाकलापले प्रदेशको संरचनामाथि नै जनताले प्रश्न गर्न थालेको बताए। ‘यसप्रति तपाईहरु गम्भीर बन्नुहोस्’ कँडेलले भने, ‘जनताको विश्वास आर्जन गर्ने गरेर प्रस्तुत हुनुहोस्।’ उनले जेठ महिनाको राप र ताप संसदमा प्रवेश गरिसकेको बताउँदै बेलैमा सच्चिन सरकारलाई आग्रह गरे। उनले विज्ञ समूहका नाममा संसदलाई सरकारले उपेक्षा गरेको भन्दै त्यसको असर नीति तथा कार्यक्रम र बजेट पारित गर्दा देखिने चेतावनी दिए। ‘संसदहरुलाई सहभागी नगराई बाहिरै बजेट बनिरहेको सुन्नमा आएको छ’ उनले भने, ‘यदी त्यसो हो भने संसदबाट पारित हुन गाह्रो पर्ला।’

नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारले केही काम गर्न नसकेको आरोप लगाए। ‘जेठको मध्य हुँदासम्म जम्मा १२ प्रतिशत मात्रै बजेट खर्च भएको छ’ उनले भने, ‘बजेट बचाएर कर्णालीलाई कसरी समृद्ध बनाउन सकिन्छ।’ उनले संसदलाई सरकारले गुमराहमा राख्ने काम गरेको आरोप लगाए। ‘संसदबाट पारित भएका कार्यक्रम मन्त्रिपरिषद्ले उल्ट्याएर कार्यान्वयनमा लगेको हामीले पाएका छौं’ उनले भने, ‘संसदको गरिमा राख्न नसक्ने सरकारले अरुको कहाँ पो सुन्छ र!’

वर्षे अधिवेशनलाई बजेट अधिवेशनका रुपमा लिइन्छ। प्रदेश सरकारले १५ गतेसम्म वार्षिक नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। संसदको अर्को बैठक जेठ १३ गते बस्नेछ।

प्रकाशित: १० जेष्ठ २०७६ १३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App