खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आवधिक विकास योजना निर्माणको काम सुरु गरेको छ। गाउँपालिकाको योजनाबद्ध विकास र समृद्धिका लागि सो आवधिक योजनाको काम थालिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको समग्र योजनाबद्ध विकासका लागि निर्माण सुरु गरिएको आवधिक विकास योजना तर्जुमा गोष्ठी आइतबार प्रदेशसभा सदस्य रामकुमार राईले उद्धघाटन गरेका थिए। मंगलबारसम्म सञ्चालन हुने गोष्ठीले गाउँपालिकामा सञ्चालन गरिने अल्पकालीन र दीर्घकालीन योजनाको प्राथमिकीकरण गर्दै आवधिक योजना निर्माणको काम टुंग्याइने गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले जानकारी दिए।
आवधिक योजना निर्माणका लागि गत पुस २४ देखि २६ गतेसम्म पूर्वतयारी बैठक गरेको गाउँपालिकाले सडक, पुल, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायत विकासका सबै पक्षलाई प्राथमिकीकरण गरेर योजनाबद्ध विकासको खाका कोर्ने जनाएको छ। नगरपालिकाका अनुसार आवधिक योजनाका लागि बनाइएका पूर्वाधार विकास, सामाजिक विकास, कृषि विकासलगायत विषयगत समितिले तयार पारेका योजनालाई छलफल तथा सल्लाह र सुझावसहित अन्तिम टुंगो लगाइनेछ।
गोष्ठीको अवधिमा विकासको दीर्घकालीन सोचको निर्धारण, विषयगत रणनीति तथा कार्यक्रमसम्बन्धी छलफल, आगामी पाँच आवको समग्र राजस्व र व्ययको प्रक्षेपण, विकासका मुख्य पाँच प्राथमिकता निर्धारण, कार्ययोजना, आवधिक योजनाको कार्यान्वयन, वार्षिक योजना तर्जुमा खाका, अनुगमन सूचकसम्बन्धी अवधारणाका विषयमा छलफल गरिने अध्यक्ष राईले बताए। ‘गाउँपालिकाको समग्र वस्तुस्थिति, सबल पक्ष, दुर्बल पक्ष, अवसर र चुनौतीका विषयको पहिचान गरिन्छ,’ उनले भने, ‘तिनै सम्भावना र अवसरलाई समेटेर अल्पकालीन र दीर्घकालीन आवधिक योजना निर्माणको काम टुंग्याइनेछ।’
गाउँपालिकाले स्विस विकास सहयोग नियोग (एसडिसी) को प्राविधिक सहयोगमा आवधिक योजना निर्माणको काम थालेको हो। कार्यक्रममा प्रदेशसभा सदस्य राईले स्थानीय आवश्यकतालाई पहिचान गरेर विकासको प्राथमिकीकरण गर्न सुझाव दिए। जिल्लाका साकेला र वराहपोखरी गाउँपालिका तथा हलेसी तुवाचुङ नगरपालिकाले पनि गुरुयोजना निर्माणको काम गरिरहेका छन्। आवधिक योजना निर्माणका क्रममा कतिपय स्थानीय तह महŒवकांक्षी पनि देखिएका छन्।
प्रकाशित: ३१ वैशाख २०७६ ०३:०७ मंगलबार