१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस निकट कर्मचारीमा भाँडभैलो

काठमाडौ - नेपाली कांग्रेस निकट कर्मचारी संगठनभित्रको आन्तरिक विवाद तीव्र बनेको छ। विवाद बढ्दै जाँदा शनिबार जुम्लामा बसेको बैठकमा नेपाल निजामती कर्मचारी युनियन (संघ)को चौथौ पूर्ण केन्द्रीय समितिको बैठक महासचिवसहित १३ पदाधिकारीले बहिस्कार गरेका छन्। ८५ सदस्यीय केन्द्रीय समितिमा अध्यक्ष गोपाल पोखरेल, वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी, उपाध्यक्ष उत्तम कटुवाल, सचिव नवराज पाण्डे, यज्ञ ओलीसहित ५५ जना बैठकमा सहभागी छन्। महासचिव सुभाष कोइराला, उपमहासचिव यज्ञराज अर्याल, सचिव जनक रावल, कोषाध्यक्ष धर्मेस गौतम, सचिव शंकर पाण्डे, अशोक रौनियारसहितका केन्द्रीय समितिका ३० जना सहभागी छैनन्।

‘जुम्लामा बोलाइएको भनिएको बैठक पूर्णरूपमा अवैधानिक छ। अध्यक्षको सल्लाहमा संगठनको महासचिवले बैठक बोलाउनुपर्ने व्यवस्था हुँदाहुँदै अध्यक्षले एकलौटी ढंगले बैठक बोलाउनुभयो,’ महासचिव कोइरालाले भने, ‘बैठक बोलाइएको जानकारी कार्यालय सचिवले गराए। यस्तो कहीँ हुन्छ ?’ जुम्ला बैठकमा बहुमत केन्द्रीय सदस्यको उपस्थिति रहेको दाबी गर्दै अध्यक्षनिकट सचिव नवराज पाण्डेले भने, ‘अनुपस्थित पदाधिकारी तथा सदस्य अधिकांश व्यक्तिगत र स्वास्थ्यका कारण मात्र अनुपस्थित हुनुभएको हो। उहाँको बैठक बहिस्कार गर्ने नीति होइन।’

जुम्ला बैठकलाई सफल बनाउन युनियन (संघ)बाट आधिकारिक टे«ड युनियनमा प्रतिनिधित्व गरेको आधिकारिक टे«ड युनियनका महासचिव सुवोध देवकोटा पनि लागेका छन्। यसअघि युनियन (संघ)का अध्यक्ष गोपाल पोखरेल र उनको सम्बन्ध निकै चिसिएको थियो। उनले भने, ‘मैले अध्यक्षलाई सफल बनाउनभन्दा यनियन (संघ)लाई सफल बनाउन जुम्ला पुगेको हुँ।’ बैठकमा युनियन (संघ)का कर्णाली प्रदेश अध्यक्ष नृपजंग शाहलगायत ४ वटा प्रदेशका प्रदेश अध्यक्षले पनि बैठक बहिस्कार गरेका छन्। जुम्ला बैठक विधानविपरीत भएकोले आप्mनै प्रदेशमा बोलाइएको बैठक बहिस्कार गर्नुपरेको शाहले जनाए। बहिस्कारवादीको अगुवाइ गत चितवनमा भएको युनियन (संघ)अध्यक्षका प्रत्यासी तथा युनियन (संघ)का पूर्वसचिव राजेन्द्र बुढाथोकीले गरेका छन्। उनी भन्छन्, ‘संगठको विधान अनुसार जुम्ला बैठक पूर्णरूपमा अवैधानिक हो। त्यसैले त्यो बैठकको पक्षमा छैन।’

बैठकमा उपाध्यक्षद्वय तेजकुमार केसी र प्रदीप श्रेष्ठ पनि उपस्थित छैनन्। केसीले भने बैठक बहिस्कार गर्ने आफ्नो सोच नहुँदा नहुँदै पनि स्वास्थ्यका कारण बैठकमा जान नसकिएको बताए। यता जुम्लामा बैठक सफल बनाउन गएकाहरू भने एक दिनका लागि रारा घुम्न गएका छन्। बैठक बहिस्कार गरेकाहरूले भने रारा घुम्न गएका कर्मचारी नेताको तस्बिर फेसबुकमा हेरेर बैठक असफल बनाउन काठमाडौबाटै चाल चलेका छन्। दुई वर्षअघि मात्र कांग्रेस निकट कर्मचारी संगठनमा मिलन भएको हो। दुई वर्षअघिसम्म कांग्रेस निकट दुईवटा कर्मचारी संगठन थिए। नेपाल निजामती कर्मचारी संघ र नेपाल निजामती कर्मचारी युनियन छुट्टाछुट्टै अस्तित्वमा थिए। कांग्रेसका नेताहरूको पहलमा निजामती कर्मचारी युनियन र निजामती कर्मचारी संठनलाई एकीकरण गरी निजामती कर्मचारी युनियन (संघ) बनाइएको थियो। करिब ४ वर्षसम्म कांग्रेस निकट कर्मचारी दुईवटा अलग अलग संगठनमा बसेका थिए। अहिले फेरि त्यही स्थिति दोहरिने संकेत देखिएको एक पदाधिकारीले जनाए। १३ महिना अघि चितवनमा कर्मचारी युनियन (संघ)को अधिवेशन भएको थियो। अधिवेशनपछि युनियन (संघ)ले अहिलेसम्म तीनपटक मात्र केन्द्रीय समितिको बैठक बोलाएको छ। पछिल्लो केन्द्रीय समितिको बैठकले गरेको निर्णय अझै माइन्युटिङ नगरिएको असन्तुष्ट नेताहरू बताउँछन्।

प्रकाशित: २९ वैशाख २०७६ ०२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App