४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बालअधिकार र खेलकूद विधेयक पारित

रूपन्देही - प्रदेश ५ प्रदेशसभाले बालबालिकाको अधिकार र खेलकूद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ।

प्रदेशसभाको आज बुटवलमा बसेको बैठकले सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रस्तुत गरेकाे प्रदेश ५ बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश ५ खेलकूद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो।

त्यसैगरी आजको बैठकमा प्रदेश मामिला तथा कानून समितिका सभापति दामाकुमारी शर्माले प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको समितिको प्रतिवेदनसहितको विधेयक र गाउँ सभा/नगरसभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको समितिको प्रतिवेदनसहितको विधेयक पेश गरे।

यसअघि प्रदेशसभा बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले समसामायिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। विशेष समयमै प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले भूमि व्यवस्थापन तथा भूमिहीन सुकुमवासी समस्या समाधानका लागि प्रदेशसभामा पटक पटक आवाज उठाए पनि सरकारले त्यस विषयमा कुनै जवाफ नदिएको गुनासो गरे

निर्वाचनमा भूमिहीन–सुकुमवासी तथा अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गराउँदै उनले तत्काल भूमि व्यवस्थापन आयोग गठन गर्न माग गरे

प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले गठन भएको एक वर्ष नाघि सक्दा पनि प्रदेश सरकारले जनताको जीवनस्तरमा सुधार ल्याउन नसकेको भन्दै जनताको जीवनस्तरमा सुधार ल्याउने खालका कार्यक्रम अगाडि बढाउन माग गरे । जग्गामा मोहीयानी हक लाग्ने प्रावधान हटिसके पनि भूमाफियाले भूमि सुधार कार्यालयका कर्मचारीको मिलेमतोमा दाङमा जग्गाधनीलाई थाहा नदिई मोही कायम गर्ने कार्य भइरहेकाले छानबिन गरी संलग्नलाई कारवाही गर्न माग गरे।

प्रदेशसभा सदस्य कूलप्रसाद पोखरेलले प्रदेशसभा सदस्यको भूमिकालाई नीति नियम बनाउनेमा मात्रै सीमित गर्न नहुने बताउनुभयो। उनले निर्वाचित क्षेत्रको विकास निर्माणमा स्थानीय तहले प्रदेशसभा सदस्यसँग समन्वय र सल्लाह लिँदा स्थानीय तहको भूमिकामा कुनै हस्तक्षेप नहुने धारणा राखे। प्रदेशसभाको अर्को बैठक यही वैशाख २२ गते बस्नेछ ।

प्रकाशित: १९ वैशाख २०७६ १५:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App