१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संसदमा देउवाको सम्बोधनः सरकारले झुटा कुरा गर्‍यो, खबरदारी गर्छाैं

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार झुटा प्रचारमा रमाएको आरोप लगाएका छन्। 

सोमबारबाट सुरु भएको संघीय संसदको चौथो अधिवेशनलाई सम्बोधन गर्दै देउवाले विगतका सरकारले सुरु गरेका योजना आफैले गरेको भनी झुटा कुरा गरेको आरोप लगाए। ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम आफैले गरेको भनी प्रचार गरिएको छ’, उनले भने, ‘विरामीलाई ५ हजार भत्ता दिने मेरै नेतृत्वको सरकारको निर्णय खारेज गरिदियो। चिकित्सा शिक्षा विधेयक जबरजस्ती पास गराएर सरकारले गैरजिम्मेवारको पराकाष्ठा नाघ्यो। दिनानुदिन भ्रष्टाचार बढेको छ। यसरी आर्थिक विकास हुँदैन, म प्रधानमन्त्रीलाई आग्रह गर्दछु।’

देउवाले शान्ति सुरक्षा कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न सरकार असफल भएको टिप्पणी गरे। ‘तराईका हावाहुरी पीडितले अहिलेसम्म राहत पाएका छैनन्। भुमाफिया सार्वजनिक हुँदा पनि सरकारले ढाकछोप गर्न खोजेको उनको आरोप छ। 

ललिता निवास जग्गा प्रकरणमा दोषीलाई अख्तियारले निष्पक्ष छानविन कारवाही गर्ने विश्वास उनले लिए। 

देउवाले सरकारलाई नागरिकको पक्षमा काम गराउन रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै खबरदारी गरिरहने स्पष्ट पारे। 

आमनागरिकका लागि सरकारले गरेका काममा भने साथसहयोग रहने उनले प्रतिबद्धता जनाए। 

प्रधानमन्त्रीले महत्वपूर्ण निकाय आफूमातहत राखेर शक्ति आर्जनमा लागेको आरोप लगाउँदै देउवाले आफ्नै मन्त्रीमाथि ओलीले अविश्वास गरेको देखिएको बताए। उनले संवैधानिक मूल्यमान्यता विपरित संवैधानिक परिषदमा पेलेर जान नखोज्न चेतावनी पनि दिए। 

विकासका लागि सहमति र सहकार्यको आवश्यकता रहेको बताउँदै देउवाले समृद्धि र विकासका लागि लोकतान्त्रिक व्यवस्थाको विकल्प नभएको स्पष्ट पारे। सरकारले १४ महिनामा जनताको पक्षमा काम गर्न नसकेको उनको आरोप छ। ‘चौतर्फी निराशा छ। हामी खबरदारी गरिरहने छौं’, उनले भने। 

प्रकाशित: १६ वैशाख २०७६ १०:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App