१६ चैत्र २०८० शुक्रबार
राजनीति

संसद बैठक आजदेखि, यस्ता छन् एजेन्डा

काठमाडौं- आज (बैशाख १६) बाट संसदको बजेट अधिवेशन शुरु हुँदैछ। बजेट अधिवेशन अर्थात बर्खे अधिवेशन।

संसद दिउँसो ४ बजेबाट सुरु हुने समयतालिका छ।  गत चैत १० गते हिउँदे अधिवेशनको अन्त्य भएको थियो। झण्डै १ महिनापछि संसद सुरु हुन लागेको हो। सरकारको सिफरिसमा गत बैशाख ८ गते राष्ट्रपती विद्यादेवी भण्डारीले संसदको बजेट अधिवेशन आह्वान गरेकी थिइन्।

संसद सचिवालयका अनुसार आज राष्ट्रियसभा तथा प्रतिनिधिसभा दुवैमा सभामुखले राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने छन्। सभामुखले प्रतिनिधिसभा नियावली २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्ययक्षता गर्ने सदस्यहरुको मनोयन गर्नेछन्। त्यस्तै, शहिदहरुप्रति श्रद्धान्जली अर्पण गर्ने संसदको कार्यसूची रहेको छ।

दिवाकर गोल्छा, रुद्रमणी शर्मा भण्डारी र रामकृष्ण ताम्राकारको मृत्युमा शोक प्रकट गर्दै संसद अघि बढ्नेछ। गोल्छा, २०६४ सालको संविधानसभामा नेपाली कांग्रेसका समानुपातीक तर्फबाट सभासद निर्वाचित भएका थिए। शर्मा, २०४८ सालमा नेपाली काँग्रेसका तर्फबाट गुल्मी जिल्ला क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित सदस्य थिए। ताम्राकार, २०४८ र ५६ सालमा रुपन्देही जिल्ला क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा सदस्य भएका थिए। ताम्राकारले स्वास्थ्य, उद्योग, बाणिज्य तथा आपुर्ती लगायतका मन्त्रालय सम्हालिसकेका थिए।

बर्खे अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत हुने, प्रि–बजेट छलफल हुने, बार्षिक बजेट पारित हुने र बिभिन्न विधेयकमाथि छलफल हुनेछ।

बजेट पारित गर्नेमात्र हैन, कानुन निर्माण गर्नुपर्ने भएकाले यो अधिवेशनलाई महत्वका साथ हेरिएको छ। यसै अधिवेशनमा सविधान कार्यान्वयन सम्बन्धी बिभिन्न विधेयकमाथि छलफल गर्ने, सचिवालयमा दर्ता भएका सार्वजानिक महत्वका प्रस्तावमाथि छलफल गरिनेछ। संसदमा दर्ता भएका विधेयकहरुमाथि छलफल गरिनेछ। संसदीय अभ्यासमा आवश्यक परेमा समितिहरु समेत गठन गरिनेछ। नीति तथा कार्यक्रममाथि छलफल गर्ने र प्रधानमन्त्रीले जवाफ दिनुका साथै पारित गरिनेछ।

नीति तथा कार्यक्रम कस्तो आउने हो ? भन्ने विषय धेरैको चासो हो।

गत वर्षको नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा निकै चर्चित बनेको छ।

बजेट ल्याउनु भन्दा अघि नीति तथा कार्यक्रम प्रस्तुत गरिने प्रचलन छ। नीति तथा कार्यक्रमका लागि पनि समय छुट्याइसकिएको छ। बैसाख २० गते राष्ट्रपती विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संघीय संसद सचिवालयको भनाई छ। २२, २३ र २४ गते नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गरिने योजना छ।

नीति तथ कार्यक्रम सकिने बित्तिकै बजेटमाथि छलफल गरिनेछ। जेठ ९ गतेदेखी संसदमा प्रि–बजेटमाथि छलफल चल्नेछ।  संविधान अनुसार जेठ १५ गते भित्र संसदमा बजेट पेश गरिसक्नुपर्छ। अधिवेशनका क्रममा बजेटमाथि एक हप्ता लामो शैद्धान्तिक छलफल गर्ने र अर्थमन्त्रीद्वारा जवाफ दिने कार्यक्रम रहेको छ।

योजना अनुसार आगामी जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतीवडले दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ को बजेट पेश गर्नेछन्। खतीवडाले प्रस्तुत गर्ने यो दास्रो बजेट हुनेछ।

यो अधिवेशनले बजेटको निर्माण गर्नुका साथै कानुन निर्माणमा भूमिका खेल्नेछ। प्रतिनिधिसभामा मात्रै अहिले २० वटा बिधेयक दर्ता भएर बसेका छन्। शिक्षा, भुमी, सुचनाप्रविधी, शान्ती सुरक्षा, लोकसेवा आयोग, राहदानी लगायतका विषयमा पेश भएका विधेयकहरु छलफलका क्रममा छन्।

हिउँदे अधिवेशन पनि कानुन निर्माणमा बढी केन्द्रित भएको थियो। आजबाट सुरु भएको बजेट अधिवेशनले पनि सुरुवाती दिनमा बजेटमाथि छलफल गरेपनि पछिल्ला दिनमा कानुन निर्माण मै केन्द्रित हुनेछ।

२०७५ साल पुस ११ गते सुरु भइ २०७५ साल चैत १० गते अन्त्य भएको यस अघिको अधिवेशनले ६ वटा विधेयक संसदको दुवै सदनबाट परित गरेको थियो। सभाको बैठक ६१ घण्टा ५ मिनेट बसेको थियो। ८९ दिन चालु भएको यो अधिवेशनमा प्रतिनिधिसभातर्फ २३ वटा सरकारी विधेयक दर्ता भएको थियो। त्यसमध्य ८ वटा बिधेयकहरु सभामा प्रस्तुत हुन बाँकी छ। ७ वटा बिधेयक सम्बन्धित समितीहरुमा बिचाराधिन रहेको छ।

२७ दिनमा ३५ वटा वैठक बसेको राष्ट्रिय सभाको तेस्रो अधिवशेनले १८ वटा विधेयक पारित गरेको थियो। जसमध्य ६ वटा बिधेयकहरु राष्ट्रियसभामा उत्पती भइ पारित गरिएको थियो। १२ वटा बिधेयकहरु प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त भइ सभाबाट पारित गरिएको थियो।

तेस्रो अधिवेशनको दुबै सभाले रविन्द्र प्रसाद अधिकारी, चक्रप्रसाद बाँस्तोला, पद्मरत्न तुलाधर, मोतीदेवी थारु, कमलादेवी शर्मा, भरतमोहन अधिकारी, गणेश पण्डित, जीतबहादुर पुरीको निधन भएकोमा शोक प्रस्ताबहरु पारित गरेको थियो।

 

प्रकाशित: १६ वैशाख २०७६ ०७:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App