१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कार्यकर्ताको प्रश्न– एकता कहिले टुंगिन्छ

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरण प्रक्रिया चाँडो टुंग्याउन पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालमाथि दबाब परेको छ। तत्कालीन एमाले र माओवादी केन्द्रबीच केन्द्रमा एकीकरण भएको एक वर्ष पुग्न लाग्दा पनि तत्लो तहमा अझै एकता भइसकेको छैन। पार्टी कार्यालयसमेत दुईवटा सञ्चालनमा छन्। शीर्षनेताहरू पटकपटक छलफलमा बसे पनि प्रक्रिया टुंगिएको छैन।

पार्टीका केन्द्रीय सदस्यहरूको कार्यविभाजन, जिल्ला कमिटी गठन, भ्रातृ संगठन तथा मजदुर संगठनहरूको एकता प्रक्रिया टुंग्याउन अध्यक्षद्वय ओली र दाहाल, सचिवालय सदस्य रामबहादुर थापा, महासचिव विष्णु पौडेल, वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य वामदेव गौतम र ईश्वर पोखरेलबीच छलफल भए पनि वरिष्ठता र संगठनमा लामो समय काम गरेका नेता–कार्यकर्ताको व्यवस्थापनमा कुरा मिल्न सकेको छैन। नेकपा स्थापना दिवस वैशाख ९ (अप्रिल २२) मा सबै प्रक्रिया टुंग्याउने भनिए पनि नेताहरूबीच सहमति भएको छैन।

एकता प्रक्रिया टुंग्याउन शीर्ष तहका नेताहरूबीच छलफल भए पनि वरिष्ठता र संगठनमा लामो समय काम गरेका नेता–कार्यकर्ताको व्यवस्थापनमा कुरा मिल्न सकेको छैन।

दुई दिनदेखि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच छलफल भइरहे पनि निष्कर्ष निस्केको छैन। विधि, प्रक्रिया, वरिष्ठताजस्ता विषयलाई टाढा राखेर एकीकरण टुंग्याउनुको कुनै अर्थ नभएको भन्दै नेपालले स्थापित विधि र मापदण्डअनुसार चल्नुपर्ने अडान कायमै राखेको स्रोतले बतायो। बिहीबार नेकपा अध्यक्ष दाहाल सिन्धुपाल्चोक हुँदा पनि अर्का अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच एकीकरणकै विषयमा कुरा भयो। तर त्यसले मूर्तरूप लिन सकेन। यही विषयमा नेताहरूबीच शनिबार छलफल हुने भनिएको थियो। तर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली पूर्वनिर्धारित कार्यक्रमअनुसार बुटवल र नवलपरासी गएकाले छलफल हुन सकेन। दुई दिनयता ओली र दाहालबीच भने भेट भएको छैन। सुकुटेबाट फर्केपछि दाहाल शुक्रबार चितवनको कार्यक्रममा सहभागी भए। दाहाल शनिबार काठमाडौं फर्किंदा ओली बुटवल गइसकेका थिए।

एकीकरण प्रक्रिया चाँडो टुंग्याउन शीर्ष नेताहरूलाई कार्यकर्ताले दबाब दिइरहेका छन्। कार्यकर्ताले नेताहरूसँग प्रत्येक भेट र फोन एकता प्रक्रिया कहिले टुंगिन्छ भनेर सोध्ने गरेका छन्। ‘एकीकरण प्रक्रिया ढिला भएको महसुस भएकाले दुवै अध्यक्षलाई छिट्टै टुंग्याउनुपर्छ भन्ने लागेको छ तर कहिले टुंग्याउन सकिन्छ भन्नेबारे भने केही बताउन सकिँदैन,’ दाहाल स्रोतले भन्यो।

ओली र दाहालले दुई साताअघि वामदेव गौतमसँग पनि करिब दुई घन्टा छलफल गरेका थिए । गौतमले निश्चित विधि, प्रक्रिया र मापदण्डबाट जिल्ला नेतृत्व र केन्द्रीय सदस्यको कार्यविभाजन गर्दा विवाद नहुने सुझाव दिएपछि अध्यक्षद्वयले वरिष्ठ नेता नेपालसँग छलफल थालेका थिए। ‘अध्यक्षद्वय ओली र दाहालले कम विवाद हुनेगरी एकता प्रक्रिया टुंग्याउन प्रयास गरिरहेका छन्। पार्टीका शीर्ष तहका नेताहरूसँग छलफल चलिरहेको छ। वैशाख ९ गते नै सबै प्रक्रिया टुंगिन्छ भन्नेबारे चाहिँ केही भन्न सक्दैनौं,,’ दाहालनिकट स्रोतले भन्यो।

केही प्रदेश कमिटीको एकता टुंगो लागिसके पनि गण्डकी प्रदेश र प्रदेश ५ मा अझै निष्कर्ष निकाल्न सकिएको छैन। जिल्ला नेतृत्वको निर्णय नहुँदा कमिटी चलायमान हुन सकेका छैनन् । ७७ मध्ये पूर्वएमालेले करिब ४५ र पूर्वमाओवादी केन्द्रले ३२ जिल्लाको नेतृत्व लिने सहमति भए पनि नेतृत्व टुंगो लागिसकेको छैन । ४० भन्दा बढी जिल्लामा साबिक दुवै पार्टीको संयुक्त कार्यदलले स्थानीय तहको एकीकरण टुंगो लगाइसके पनि केन्द्रमा विवाद नमिलेका कारण सार्वजनिक हुन सकेको छैन । ९ गते एकीकरण प्रक्रियालाई टुंग्याउन सचिवालय बैठकसमेत राख्नुपर्छ। तर शनिबारसम्म सचिवालय बैठकको समेत टुंगो लागेको छैन। महासचिव पौडेल चीन भ्रमणबाट फर्केपछि सचिवालय बैठक बस्ने भनिए पनि अहिलेसम्म बस्न सकेको छैन। कुरा मिल्यो र सहमति भयो भने सचिवालय बैठक तुरुन्तै बस्न सक्ने एक नेताले बताए।

स्थायी कमिटी सदस्य घनश्याम भुसाल एकीकरण प्रक्रियाले गति नलिँदा सरकारको कामसमेत प्रभावित भएको बताउँछन्। ‘पहिला एकीकरण प्रक्रिया टुंगिनुपर्छ भन्ने हाम्रो मान्यता हो। समयको जिम्मेवारी बहन गर्न सक्ने संगठन तयार गरेर जानुपर्छ। एकीकरण प्रक्रिया टुंग्याउन धेरै समय घर्किसकेको छ। समयमै एकीकरण नहुँदा पार्टी अध्यक्षमाथि नै प्रश्न उठ्न थालेको छ,’ भुसालले भने। उनका अनुसार एकीकरण प्रक्रिया समयमै नसकिँदा सरकार पार्टी सँगसँगै जाने अवस्था बनेको छैन। ‘समयमै एकीकरण नहँुदा पार्टीले मात्र घाटा बेहोरेको छैन, मुलुक र मुलकको प्रजातान्त्रिक व्यवस्थाले पनि घाटा बेहोरेको छ,’ उनले भने।

प्रकाशित: ८ वैशाख २०७६ ००:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App