१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

धर्मनिरपेक्षताको बिरुद्धमा राप्रपाको आन्दोलन जारी

काठमाडौं - कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्मनिरपेक्षताको खारेजी र हिन्दु राष्ट्रको माग राख्दै आन्दोलनलाई निरन्तरता दिएको छ। धर्मनिरपेक्षता खारेजीको मुख्य माग राखेर आन्दोलनमा उत्रिएका थापा नेतृत्वको राप्रपाले संविधानको खिलाफमा आन्दोलन नभएको भने प्रस्टीकरण दिएको छ।

संविधानका कतिपय प्रावधानहरुमा पार्टीको असहमति रहेको उल्लेख गर्दै असहमतिको बुदाँ लिएर आन्दोलनमा उत्रिएको अध्यक्ष थापाले बताए। ‘राप्रपाले गर्दै आएका हरेक संघर्ष र आन्दोलनका कार्यक्रम संविधान र कानून कै परिधि भित्र रहेर भएका छन् र अब पनि त्यसरी नै हुनेछ’ थापाले भने। काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममार्फैत धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रको विरोध गर्नु भनेको संविधानका विरोध नभएको उनको प्रस्टोक्ती छ।

संविधानले नै बिरोध गर्न पनि वैचारिक स्वतन्त्रता रहेको उल्लेख गर्दै थापालले मुलुकमा धर्मनिरपेक्षता बाहृय शक्तिको दबाब, प्रभाव र आर्थिक प्रलोभनको आधारमा ल्याएको गम्भिर आरोप लगाएका छन्। ‘२०६२÷०६३ को जनआन्दोलनपछि धर्मनिरपेक्षता राजनीतिक दलहरुको एजेण्डा थिएन्, जनआन्दोलन सकिएको तीन हप्ता नबित्दै धर्मनिरपेक्षता बनाईयो, यो अत्यन्तै विवादस्पद रुपमा ल्याईयो’ थापाको आरोप छ।

संविधान जारी गर्ने अन्तिम समय सम्म पनि धार्मिक स्वतन्त्रता राख्ने भन्नेबारे तत्कालिन् मुख्य दलहरुबीच भद्र सहमति भएको थापाले स्मरण गराए।

उनका अनुसार पश्चिमाहरुको दबाब र प्रभावका आधारमा संविधानमा धर्मनिरपेक्षता उल्लेख गरिएको हो। तर, संविधानमा धर्मनिरपेक्षता उल्लेख गरे पनि त्यसको स्पष्टीकरणमा भने विरोधाभाष रहेको थापाको भनाई छ। ‘संविधानमा भएको भएको विरोधाभाषलाई सच्याएर पूर्ण धार्मिक स्वतन्त्रता र सनातन हिन्दू राष्ट्र लेख्नुपर्छ’ थापाले आन्दोलनको मागवारे भने।

पछिल्लो समय धर्मनिरपेक्षताको नाममा सनातन धर्म र संस्कृति माथि आक्रमण भैरहेको आरोप लगाउँदै थापाले मुलुकमा पछिल्लो समय ठूलो संख्यामा धर्मपरिवर्तन भएको प्रति ध्यानाकर्षण गराएका छन। ‘जसका कारण हाम्रो सामाजिक एकता खलबलिएको छ, त्यसैले पनि धर्मनिरपेक्षता खारेजी अनिवार्य भैसकेको छ’ थापाले भने। राप्रपाको शुक्रवार धर्मनिरेपेक्षता लेखिएको कागज जलाउने कार्यक्रम छ।

प्रकाशित: ६ वैशाख २०७६ ०२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App