१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

देउवा–पौडेलको ६०/४० मा सिटौला कता?

काठमाडौं– नेपाली कांग्रेसमा ‘तेस्रो धार’को नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौलाले पार्टीमा भएको भागबन्डाप्रति आपत्ति जनाएका छन्। 

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई ‘बाइपास’ गर्न खोजेको सिटौलाको निष्कर्ष छ। 

कार्यसम्पादन समितिमा सभापति देउवा र वरिष्ठ नेता पौडेलले ६०/४० कोे भागबन्डा गरेका थिए। त्यसमा सिटौला कता रहने भन्ने निश्चित छैनन्। शुक्रबार सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बोलाएको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा समेत सिटौला बीचमै निक्लिएका थिए।

सिटौलाको असन्तुष्टिबीच पनि पनि देउवा र पौडेलबीच भागबन्डा भएको थियो। त्यसप्रति सिटौलाले असहमति जनाएपछि शनिबारको केन्द्रीय कार्यसमिति बैठक नै बस्न सकेन। यद्यपि सिटौला समूहले भने बैठक बोलाएर पनि सभापति देउवा उपस्थित नभएको बताएको छ। 

उक्त भागबन्डामा सिटौलालाई कसले समेट्ने भन्ने विवाद छ। वरिष्ठ नेता पौडेलले सभापति देउवालाई सिटौला पक्ष समेट्न आग्रह गरेका छन्। तर पछिल्लो समय गठित समितिहरूमा देउवा र पौडेलको भागबन्डा हुँदा पौडेलले सिटौलालाई समेट्दै आएका कारण यसपटक पनि यस्तै गर्नुपर्ने सभापति समूहको तर्क छ।

देउवाले कार्यसम्पादन समितिमा सहमतिका लागि सोमबार बोलाएको पूर्वपदाधिकारी र पदाधिकारीको बैठकमा समेत नेता सिटौला गएनन्। आफूलाई बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाएका कारण उनी बैठकमा सहभागी नभएका उनीनिकट स्रोत बताउँछ। 

‘पार्टी भागबन्डामा चल्दैन। यो नेतृत्वले पार्टीलाई निकास दिन सक्दैन भन्ने उहाँको निष्कर्ष छ’, सिटौलानिकट स्रोत भन्छ, ‘महासमितिले दिएको म्यान्डेटको पनि पालना नगर्ने, अनि समितिहरू बनाउँदा पनि भागबन्डामै चित्त बुझाउने र यस्तो बैठकले केही गर्न सक्दैन भनेर यसअघि बोलाएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा पनि उहाँ बीचमै निस्कनुभएको थियो।’

टाढिँदै पौडेल–सिटौला

गत असारमा भएको जिल्ला सभापति भेलाबाट वरिष्ठ नेता पौडेलसँग दूरी घटाउँदै आएका सिटौला पुनः टाढिन थालेका छन्।सभापतिको भेलापछि कतिपय मुद्दामा देउवाविरोधी खेमाका रूपमा धेरै बैठकमा पौडेल–सिटौला सँगै सहभागी भएका थिए। 

तर महासमिति बैठकपछि भने पौडेलसँग सिटौलाको दूरी बढ्दै गएको छ। यस अघिबाटै सिटौलाले पौडेललाई नेतृत्व मान्न नसकिने बताउँदै आएका छन्। महासमिति बैठकपछि पौडेल–सिटौला नजिकिँदै थिए। तर शुक्रबारको पदाधिकारी र पूर्वपदाधिकारी बैठकबाट भने सिटौला पौडेलसँग टाढिएका छन्। बैठकमा पौडेलले सिटौलालाई चिढ्याएका थिए। ‘महाधिवेशनमा भोटचाहिँ तपाईं (देउवा)लाई दिने अहिले भागचाहिँ मैले दिनुपर्ने? ४० प्रतिशतमा सिटौलालाई नमिसाउनुहोस्’, पौडेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सिटौलाजीलाई तपाईं नै मिलाउनुहोस्।’

१४औं महाधिवेशनमा सभापति देउवालाई समर्थन गरेका सिटौला नेपाल विद्यार्थी संघ, महिला संघ र ट्रेड युनियन कांग्रेसमा वरिष्ठ नेता पौडेलभन्दा बलिया छन्। 

पौडेलले यति भनेपछि सिटौला भने त्यसयता पौडेलसँग कुनै वार्ता र संवादमा छैनन्। उनी अब कुनै हालतमा पौडेललाई नेतृत्व नमान्ने अवस्थामा पुगेको स्रोतले बताएको छ। आफूले पौडेललाई देउवाभन्दा केही नेतृत्व क्षमता भएको रूपमा लिएको भए पनि पछिल्ला गतिविधिले देउवाभन्दा पौडेल अक्षम रहेको निष्कर्षमा सिटौलाले आफूनिकटलाई बताउने गरेका छन्। ‘रामचन्द्रजीले उहाँ(सिटौला)को विश्वास तोडेपछि निकै सशंकित बन्नुभएको छ’, स्रोतले भन्यो। 

पार्टी केन्द्रीय समितिमा सिटौला समूहका पाँच जना मात्रै छन्। सिटौलासहित गगन थापा, उमाकान्त चौधरी, प्रदीप पौडेल र शिवप्रसाद हुमागाईं तेस्रो धारका केन्द्रीय सदस्य हुन्। पौडेलबाहेक सबै सदस्य देउवाले केन्द्रीय समितिमा मनोनीत गरेका हुन्। तर भ्रातृ संगठनमा भने सिटौलाको पकड राम्रो छ। १४औं महाधिवेशनमा सभापति देउवालाई समर्थन गरेका सिटौला नेपाल विद्यार्थी संघ, महिला संघ र ट्रेड युनियन कांग्रेसमा वरिष्ठ नेता पौडेलभन्दा बलिया छन्। 

‘सिटौलाजीलाई हामी मिलाएर लान्छौं’

सिटौला रिसाए पनि संस्थापन समूहले भने आफूहरूले समेटर जाने जनाएको छ। सोमबार बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति देउवाले सिटौलालाई जसरी पनि फकाउने बताएको त्यहाँ सहभागी देउवा समूहका एक नेताले बताए। 

‘हामीले त सिटौलाजीलाई महाधिवेशनबाट सँगै लिएर हिँडेकै थियौं। तर उहाँ आफैं रामचन्द्रजीसँग टाँसिन पुग्नुभो’, ती नेताले नागरिक न्युजसँग भने, ‘उहाँलाई हाम्रै (संस्थापन समूह) कै भागबाट भए पनि मिलाएर लैजाने कुरा भएको छ। हामीले उहाँ (सिटौला) पुरानो साथी हुन्, समेटर लानुपर्छ भनेर सभापतिलाई भनिरहेका छौं। उहाँ शुक्रबारको बैठकमा पनि रामचन्द्रजीको कुराबाट रिसाउनुभएको हो, हामीसँग हैन।’

बैठकमा विभाग गठनबारे पनि सहमति नजिक पुगिएको सहभागी एक नेताले बताए। वरिष्ठ नेता पौडेले आजै(सोमबार) जिल्ला भ्रमणमा जाने भएकाले उनी आएपछि बैठक बसेर विभाग गठन गर्ने र कार्यकर्तालाई जिल्ला जिल्लामा खटाउने सहमति भएको नेता गोपालमान श्रेष्ठले बताए। 

प्रकाशित: २५ चैत्र २०७५ १२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App