२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

‘बन्दुकबाट सत्तामा पुगेका ओली–प्रचण्डले विप्लवलाई विध्वसंकारी भन्न सुहाउँदैन’

बुटवल– नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य ‘किरण’ले दुई तिहाइको सरकार फाँसीबादतर्फ उन्मुख भएको बताएका छन्। शुक्रवार बुटवलमा आयोजित बैचारिक सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव बैद्यले सत्ता र शक्तिको दुरुपयोग बढ्दै गएको र यही क्रम रहिरहे देश फाँसीबादमा जाने दावी गरे। ‘फाँसीबाद सिंग हालेर आउँदैन, जुर्राे हालेर आउँदैन। सत्ता र शक्तिको दुरुपयोगबाटै जन्मिन्छ। अहिलेको सरकार दुई तिहाइको दम्भमा लोकतन्त्रका बिरुद्ध सत्ता र शक्तिको दुरुपयोग गरिरहेको छ’, नेता वैद्यले भने। सरसल्लाह र छलफलबाट अगाडि बढ्ने पद्धती नै लोकतन्त्र भए पनि सरकारले प्रतिपक्ष र अन्य दलसंगको छलफल र सरसल्लाह बिनै तानाशाही ढंगबाटै अगाडि बढिरहेको उनको टिप्पणी थियो। 

दुइ तिहाइको दम्भमा आफ्नै पार्टीभित्र समेत छलफल र सरसल्लाह नगरी प्रम ओली एकलौटी अगाडि बढेको उनले आरोप लगाए। ओली सरकार कम्युनिस्ट नै नभएको दावी गर्दै उनले नक्कली कम्युनिस्टहरुले जनताका लागि नभई आफ्ना नेता कार्यकर्ता पोस्न राज्यको ढुकुटी खर्चेको आरोप पनि लगाए। ‘विकास गर्ने हो भने न विप्लव जन्मिन्छन न सीके राउन, न त कैलाली घटना हुन्छन। तर सरकारको ध्यान विकासमा हैन नेता कार्यकर्ता पोस्नमा छ’, नेता बैद्यले भने। 

बिखण्डनकारी सीके राउतसंग नरम भएर सुटुक्क वार्ता गर्ने सरकारले विप्लव नेतृत्वको राजनीतिक शक्ति र कैलाली घटनाका रेशम चौधरी सहितका ११ जनाप्रति देखाएको रबैया आपत्तिजनक र गम्भीर रहेको उनले बताए। नेपाली जनता र अन्य राजनीतिक दलहरुले पनि सरकारको यस्ता गलत प्रवृत्तिबिरुद्ध आवाज उठाउनुपर्ने बताए।

नेता वैद्यले विप्लव नेकपासंग तत्काल बार्ता गर्नुपर्नेमा जोड दिए। २०२८ को झापा बिद्रोहको बन्दुकबाटै माथि उठेका प्रधानमन्त्री ओली र दश बर्षे जनयुद्धको बन्दुकबाट सत्तामा पुगेका सगोत्री प्रचण्डले विप्लव नेकपालाई विध्वसंकारी भन्न नसुहाउने बैद्यको भनाइ थियो। 

नेता बैद्यले विप्लव नेकपाको पनि राजनीतिक कार्यदिशा स्पष्ट नभएको बताए। संघर्ष के र कस्कालागि भन्ने बैचारिक स्पष्टता ल्याउन उनले विप्लवलाई आग्रह गरे।  विदेशी लगानी भित्र्याउने नाममा सरकारले स्वदेशी लगानीकर्ताहरुलाइ वेवास्ता गरेको वैद्यको गुनासो छ। स्वदेशी लगानी तथा साधन श्रोतको सदुपयोग नगरी आयातमुखी अर्थतन्त्रलाई नै सरकारले बढावा दिइरहेको उनले बताए। 

प्रकाशित: १५ चैत्र २०७५ १४:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App