१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अन्तर्घातको उजुरी परेका कँडेल र राठोरलाई के होला?

काठमाडौं– नेपाली कांग्रेसको अनुशासन समितिबाट रमेश रिजालले राजीनामा दिनुअघि निर्वाचनमा अन्तर्घात गरेको भन्दै दुई केन्द्रीय सदस्यमाथि कारवाहीको उजुरी परेको थियो। ती केन्द्रीय सदस्य हुन्, देवेन्द्रराज कँडेल र किशोरसिंह राठोर। 

यी दुवै केन्द्रीय सदस्य अहिले अनुशासन समितिका सदस्य छन्। कँडेल प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै नवलपरासीको बर्दघाट–सुस्ता पश्चिम क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिले कारबाहीको माग गर्दै पार्टी जिल्ला समितिलाई सिफारिस गरेको थियो। 

क्षेत्रीय सभापति मुकुलकुमार आचार्य गत वर्ष भएको निर्वाचन पश्चात लगत्तै कारवाहीका लागि सिफारिस गरिएको बताए। चैत्र मसामन्तसम्म समितिले उजुरी माग गरेको छ। तर यसअघि नै सिफारिस गरेकाले अब आफूहरुले उजुरी नगर्ने बताए। ‘निर्वाचनपछिको बसेको क्षेत्रीय समितिको बैठकले सिफारिस गरिसकेको छ। पटकपटक गर्ने कुरा हुँदैन’, उनले नागरिकसँग भने, ‘नयाँ समिति बनेको छ। अब हेरौं यसले के गर्छ।’

राठोरलाई निर्वाचनमा बर्दिया क्षेत्र नम्बर २ का प्रतिनिधिसधा उम्मेदरवार गोपाल दहितलाई अन्तर्घात गरेर हराउन लागेको भन्दै कारवाहीका लागि निवेदन दिइएको थियो। अनुशासन समितिमा अनुशासनको कारवाहीका लागि दहितले उजुरी दिएका थिए। तर दहितले भने यसबारेमा बोल्न चाहेनन्। ‘पार्टीभित्र आफ्नै अनुशासन छ’,उनले भने, ‘पार्टीका कुरा म सञ्चारमाध्यममा बोल्दिनँ।’

अनुशासन समिति कांग्रेसको अनुशासन समिति हो। त्यसकारण यसमा बस्ने सदस्यहरु निष्पक्ष हुनुपर्छ भन्ने कांग्रेसमा निकै बहस थियो। यी दुई नेता अनुशासन समितिमै रहेका कारण उनीहरुलाई कारवाही हुन्छ हुँदैन भन्नेमा कार्यकर्ताहरुले नै प्रश्न उठाएका छन्। अनुशासन समितिमा रहेका उनीहरुले प्रभाव जमाएर उनीहरु माथि छानविन नहुने हो कि भन्ने सन्शय पनि छ। 

तर अनुशासन समितिका संयोजक भीष्मराज आङ्देम्बेले भने उजुरी परेका सबैमाथि छानविन हुने बताएका छन्। ‘उजुरी परेका सबैमाथि छानविन हुन्छ। दोषी ठहरिए कारवाही पनि हुन्छ’, उनले भने, ‘उहाँहरु (कँडेल र राठोर)माथि आएको उजुरीको पनि छानविन हुन्छ। त्यो छानविन हुँदा उहाँहरु बस्नुहुन्न। जिल्लाको आउँदा पनि आफ्नो जिल्लाको हुँदा छानविनमा त्यो जिल्लाको सदस्य बस्दैनन्।’

यसअघि रमेश रिजालको संयोजकत्वमा रहेको अनुशासन समितिमा ७७ वटै जिल्लाबाट ५ सय बढी उजुरी परेको आङ्देम्बेले बताए। ‘यसअघि आएका उजुरीलाई निरन्तरता दिन्छौं। अझै थप उजुरीका लागि चैतसम्मको समय दिएका छौं’, उनले भने, ‘धेरै जसो उजुरी चुनावमा अन्तर्घात गरेका छन्।’

यसअघि निर्वाचन सकिएपछि समितिमा कारवाहीका लागि उजुरीको चाँङ लागेको थियो। समितिमा परेका उजुरीलाई लिएर केहीलाई कारवाही गर्न त केहीलाई जोगाउन दबाब दिन थालेपछि तत्कालीन संयोजक रिजालले राजीनामा दिएका थिए। उनको राजीनामा पछि लामो रस्साकस्सीबाट अङ्देम्बेको संयोजकत्वमा समिति बनेको थियो।

यो समितिको पहिलो बैठकबाट नै कामका लागि आक्रमक देखिएको छ। समितिले पुराना उजुरी हेरेर स्पष्टिकरण सोध्ने तयारी गरिरहेको छ। समितिले पार्टी हितविपरीत सामाजिक सञ्जालमा नलेख्न पनि आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरेको छ। यसो गरेर पार्टीको बदनाम गरे अनुशासनको कारवाही हुने समितिको चेतावनी छ।

प्रकाशित: १४ चैत्र २०७५ १३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App