१५ चैत्र २०८० बिहीबार
राजनीति

‘पत्रकारिता सरकारको प्रतिपक्षी हुनु हुँदैन’

तुखबर डटकमको हेटौंडामा आयोजित दोस्रो वार्षिकोत्सवमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायत।    तस्बिर : अशोकसुजन/नागरिक

मकवानपुर – राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सबै नेपाली मिलेर नेपाललाई समृद्ध बनाउन सकिने बताएका छन्। ‘तुखबर डटकम’ को दोस्रो वार्षिकोत्सव मंगलबार हेटौंडामा उद्घाटन गरेपछि उनले समृद्धि राष्ट्रियता एकताबाट मात्र सम्भव रहेको बताएका हुन्।

गणतन्त्रमा धनी र गरिबको खाडल पुर्नुपर्नेमा जोड दिँदै उनले यसका लागि तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुनुपर्ने बताए। ‘सबैको उद्देश्य समृद्धि र शान्ति हो, त्यसैले सबै पक्षले स्वार्थ त्यागेर हातेमालो गर्नुपर्छ,’ उनले भने।

नयाँ परिवेशमा पत्रकारिता क्षेत्रले पनि समीक्षा गर्नुपर्ने भन्दै अध्यक्ष तिमल्सिनाले पत्रकारिता क्षेत्र थप जिम्मेवार र सचेत हुनुपर्ने तर्क गरे। ‘पत्रकारिता क्षेत्र भनेको सरकारको प्रतिपक्षी हुनु हुँदैन,’ उनले भने, ‘देशमा लोकतन्त्र, संघीयता र गणतन्त्र आएको छ, त्यसैले सही सूचना सम्प्रेषण गर्नुपर्छ।’

कार्यक्रममा प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले बजेट छरेर समृद्धि असम्भव रहेको भन्दै एकीकृत विकासका लागि सबै पक्षले सरकारलाई झक्झक्याउनुपर्नेमा जोड दिए।

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल, राष्ट्रिय सभाका सदस्यहरु रामनारायण बिडारी, रामचन्द्र राई, प्रदेश सांसद कुमारी मोक्तान, अनन्त पौडेललगायतले आर्थिक समृद्धि, विकास र सुशासनका लागि सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए। उनीहरूले बदलिएको परिवेशमा मिडिया र पत्रकारले देश र जनताका लागि सत्य, तथ्य समाचार सम्प्रेषणमा जोड दिनुपर्ने बताए।

प्रदेशसभामा प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश राजधानी विवादले तीन महिनादेखि प्रदेशसभा ठप्प रहेको भन्दै यस्तो अवस्थामा दुईतिहाइको सरकारले विकास र समृद्धिको कुरा गर्नु औचित्यहीन रहेको बताए। ‘प्रदेशसभामा नेकपाका दुईतिहाइ सांसद छन्,’ उनले भने, ‘सत्ता पक्षकै दुईतिहाइ हुँदा पनि राजधानी र नाम टुंगो लगाउन नसक्ने सरकारले विकास र समृद्धिको कुरा भुरालाई मात्र सुनाए हुन्छ।’

यसैबीच, तुखबर डटकमले चार पत्रकारलाई सम्मान गरेको छ। जागरण–तुखबर अग्रज पत्रकारिता पुरस्कारबाट रिपोटर्स क्लबका सभापति ऋषि धमलालाई नगद १५ हजार १ सय रुपैयाँबाट पुरस्कृत गरिएको छ। त्यस्तै, जागरण तुखबर समकालीन पत्रकारिता पुरस्कारबाट पत्रकार शिवकुमार काशी, तुखबर अनलाइन पत्रकारिता पुरस्कारबाट रवीन्द्र घिमिरे, तुखबर रेडियो प्राविधिक पुरस्कारबाट दर्शन क्षेत्री पुरस्कृत भएका छन्। उनीहरुलाई जनही ६ हजार एक रुपैयाँ प्रदान गरिएयो।

प्रकाशित: ६ चैत्र २०७५ ०२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App