१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

तरुण दलको केन्द्रीय समितिमा चार जना!

काठमाडौं–नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल दुई वर्षदेखि चार पदाधिकारीमा समिति हुँदा पनि समिति विस्तारमा पार्टीले चासो दिएको छैन।

पार्टीको हरेक आन्दोलनको अग्र मोर्चामा हुने तरुण दल पार्टीको बेवास्थाका कारण दुई वर्षसम्म चार पदाधिकारीमै सीमित छ। १ मंसिर २०७३ मा पोखरामा भएको महाधिवेशनबाट छानिएका चार पदाधिकारीबाहेक तरुण दलको संगठन विस्तार हुन सकेको छैन।

महाधिवेशनको उद्घाटन भए पनि एक हप्तासम्म निर्वाचनमार्फत नेतृत्व चयन गर्न नसकेपछि नेताहरूले गुटगत भागबन्डा मिलाएर तरुण दलको नयाँ नेतृत्व ल्याएका थिए। सभापति शेरबहादुर देउवा समूहबाट अध्यक्ष जीतजंग बस्नेत, वरिष्ठ नेता रामचन्द्र पौडेलबाट महासचिव भूपेन्द्रजंग शाही, नेता कृष्णप्रसाद सिटौला समूहबाट उपाध्यक्ष उत्तम चपागाईं र संस्थापन समूह अन्तर्गत नेता बालकृष्ण खाँड नजिक मानिएका विद्वान गुरुङलाई कोषाध्यक्ष बनाइएको थियो।

यो समितिको कार्यकाल सकिन एक वर्ष मात्रै बाँकी छँदा पदाधिकारीमा दुई सचिवसहित ९१ जनाका सदस्य विस्तार गर्नुपर्नेछ। तर पार्टीले अहिलेसम्म त्यसतर्फ ध्यान नदिएको महासचिव शाहीले दुखेसो गरे। तर पार्टीले तरुण दललाई कांग्रेसको सबैभन्दा क्रियाशील र विवादरहित भ्रातृ संगठनको रूपमा हेर्दै आएको छ।

यो दुई वर्षे अवधिमा संगठनले पूर्णता नपाए पनि तरुण दलले ठूला कार्यक्रमको पनि आयोजना गर्दै आएको छ। संगठन विस्तार नहुँदा आफूहरूलाई काम गर्न अप्ठ्यारो भएको महासचिव शाहीले बताए। ‘संगठन नै पूर्ण नभए पनि हामीले धेरै कार्यक्रम गरेको छ। पार्टी जस्तो गुटगत रूपमा पनि हामीले विवाद गरेको छैन’, उनले नागरिकसँग भने, ‘यदि पार्टीले हामीलाई पूर्ण बनाउने भए अधिनायकवादी सरकारविरुद्ध  देशभरका एक लाख कार्यकर्ता काठमाडौंमा उतारेर परेट खेल्ने थ्यौं। संगठन विस्तार भए एक घर एक तरुणको अभियान पनि चलाउने थ्यौं।’

आफूलाई पनि तरुण दलमा नेतृत्व फरक गुटको भएकाले विरोध गरेन भनेर आफ्नो गुटबाट दबाब आएको शाही बताउँछन्। ‘तरुण दलमा हामी एक छौं। त्यहाँ विरोध गरेन भनेर हाम्रै केही साथीहरूले पनि मेरो आलोचना गरिहनु भएको छ’, उनले भने, ‘हामी पनि दुई वर्षसम्म मुटुमाथि ढुंगा राखेर हास्यौं।’

तरुण दलले आफूहरूलाई पार्टीले छायामा राखेको आरोप लगाउँदै आएको छ। महाधिवेशन सकिने बितिकै पोखराबाट काठमाडौं पुगेको एकहप्तामा समितिलाई पूर्णता दिने सबै नेताले आश्वासन दिएका थिए। तर दुई वर्षमा पनि समितिले पूर्णता पाउन सकेन। यसबीचमा चार पदाधिकारीले समिति विस्तारका लागि शीर्ष नेताहरूलाई पटकपटक भेटेका छन्। त्यो क्रममा नेताहरूले पटकपटक भाका राखे पनि नेताहरूले यतातर्फ ध्यान नदिएको दुखेसो तरुण दलको छ।

‘अहिलेसम्म समितिलाई पूर्णता दिने विषयमा छलफल भएको छैन। हामीले पटकपटक जानकारी गराइसकेका छौं। यसको जिम्मेवारी सभापतिले लिनुपर्छ’, महासचिव शाहीले भने, ‘अब पनि संगठनलाई पूर्णता नदिए मचाहिँ राजीनामा दिने मनस्थितिमा पुगिसकेँ।’

तरुण दलको महाधिवेशनताका यसको समन्वयनको जिम्मेवारी पार्टी नेता बालकृष्ण खाँडले पाएका थिए। तर अहिले उनी तरुण दलको विषयमा बेखबर जस्तै देखिन्छन्। उनी तरुण दलका बारेमा बोल्नै चाहँदैनन्। पार्टी पनि तत्काल तरुण दलको केन्द्रीय समितिलाई विस्तार गर्ने पक्षमा देखिँदैन। ‘समितिलाई पूर्णता दिने भनेको तर कुरै मिलेको छैन’,पार्टी सहमहामन्त्री डा.प्रकाशरण महतले भने, ‘अब सल्लाह गरेर चाँडै गर्छौ।’

 

 

 

प्रकाशित: ४ चैत्र २०७५ ११:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App