१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस जिल्ला सभापतिको चेतावनी : निर्णय नसच्याए विशेष महाधिवेशन बोलाउँछौं

काठमाडौं – नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले विशेष महाधिवेशनको पहल थाल्ने चेतावनी दिएका छन्। 
महासमिति बैठकबाट पारित भएको विधानलाई परिमार्जनको नाममा केन्द्रीय समितिबाट उल्ट्याउने काम भएको भन्दै जिल्ला सभापतिहरूले निर्णय नसच्याए विशेष महाधिवेशनको चेतावनी दिएका हुन्। 

जिल्ला सभापतिहरूले मंगलबार विज्ञप्ति जारी गर्दै महासमिति बैठकबाट सर्वसम्मत पारित भएको विधान केन्द्रीय समितिले उल्ट्याउनु हास्यास्पद भएको उल्लेख गरेका छन्। केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि हुन तलैबाट निर्वाचि भएर आउनुपर्ने र समानुपातिकमा एकपटकभन्दा बढी अवसर दिन नहुने उनीहरूको माग थियो। उक्त मागमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रतिबद्धता जनाएका थिए। 

‘महासमिति बैठकबाट पास भइसकेको बिषयलाई केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकले उल्टाएको खबरले हामीलाई आश्चर्य चकित तुल्याएको छ। महासमिति भन्दा ठुलो केन्द्रीय कार्यसमिति हुन सक्दैन भन्ने कुरालाई पूर्णतः उपेक्षा गरी पार्टी सभापति जस्तो गरिमामय पदको विश्वसनीयतासमेत समाप्त गर्ने काममा केही नेताहरूमा देखा पर्नु दुर्भाग्यपूर्ण हो’, जिल्ला सभापतिहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

पछिल्लो समय सभापति देउवानिकट नेताहरूले जिल्ला सभापतिहरूको उक्त प्रस्ताव महासमितिमा औपचारिक रूपमा दर्ता नभएको दाबी गर्दै आएका छन्। तर जिल्ला सभापतिहरूले भने आफूहरूले प्रस्ताव हस्ताक्षरसहित दर्ता गराएको दाबी गरेका छन्।

‘उक्त दुई बिषयलाई लिएर पार्टी केन्द्रीय कार्यालयको सचिवालयमा औपचारिक रूपमै दर्ता भएको (दर्ता नम्बर ९३) महासमिति सदस्यहरूको हस्ताक्षरलाई बेवास्ता गरी संशोधन प्रस्ताव नै नआएको जस्ता गलत प्रचारबाजीमा उत्रनु अझै हास्यास्पद छ’, जिल्ला सभापतिहरूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। जिल्ला सभापतिहरूले उक्त निर्णय तत्काल सच्यानसमेत माग गरेका छन्। विज्ञप्तिमा ५६ जिल्लाका जिल्ला सभापतिहरूको हस्ताक्षर छ।

प्रकाशित: २१ फाल्गुन २०७५ ०६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App