८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

आज टुँडिखेलमा श्रद्धाञ्जली

काठमाडौं - ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितलाई श्रद्धाञ्जली दिन शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म टुँडिखेलमा शव राखिने भएको छ। पोस्टमार्टम गर्न बिहीबार समय लागेका कारण दिउँसो ३ बजे गर्ने भनिएको श्रद्धाञ्जली कार्यक्रम शुक्रबार बिहान सारिएको हो।

टुँडिखेलमा आयोजना गरिने श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, मन्त्रिपरिषद्का सदस्यहरू, उच्चपदस्थ सरकारी अधिकारी, दलका नेताकार्यकर्ता, सर्वसाधारणलगायत सरिक हुनेछन्। त्यसपछि अधिकारीको शव जन्मथलो पोखरा लगेर आफन्तलाई बुझाइनेछ। अधिकारीको अन्त्येष्टि पनि शुक्रबारै पोखरामा गरिनेछ। अन्य मृतकको भने काठमाडौंमै गर्ने तयारी छ। ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा अधिकारीसहित सातजनाको निधन भएको थियो।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको केन्द्रीय सदस्यसमेत रहेका अधिकारीको निधनमा फागुन २३ गते श्रद्धाञ्जलीसभा गर्ने भएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको सचिवालय बैठकले पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको हो। सचिवालय बैठकले अधिकारीसहितको निधनमा शोक प्रस्ताव पारित गरेको छ। त्यस्तै सचिवालयले देशैभरका पार्टी कार्यालयमा पार्टीको झन्डा झुकाउने र तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णयसमेत गरेको छ।

यसैबीच, नेपाली कांग्रेस संसदीय दलले हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारी, पर्यटनव्यवसायी एवं यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव दास भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, चालक प्रभाकर केसी र नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुःख व्यक्त गरेको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जारी गरेको शोक विज्ञप्तिमा सालिन र जुझारु नेता अधिकारी, पर्यटन व्यवसायी, सरकारका उच्चपदस्थ कर्मचारी, सुरक्षाकर्मी र चालको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको उल्लेख छ।

नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि वक्तव्य जारी गर्दै पार्टीका केन्द्रीय सदस्य एवं पर्यटनमन्त्री अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन हुँदा सिंगो पार्टी शोकमा परेको बताएका छन्। पार्टीको सांगठनिक एवं मुलुकको विकास निर्माणमा प्रतिबद्ध कुशल नेता अधिकारीको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको वक्तव्यमा उल्लेख छ। उनले दुर्घटनामा परी राष्ट्रसेवक एवं पर्यटन व्यवसायीको निधनले मुलुकलाई ठूलो क्षति भएको बताएका छन्।

त्यसैगरी नेकपा नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले पनि अलगअलग शोक वक्तव्य जारी गर्दै पार्टी केन्द्रीय सदस्य अधिकारीको निधनले पोखरेली जनताले मात्र नभई मुलुकले नै विकासप्रेमी नेता गुमाएको बताएका छन्। राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले पनि शोक वक्तव्य जारी गर्र्दै मुलुकले इमानदार जनप्रतिनिधि गुमाएको बताएका छन्।

प्रकाशित: १७ फाल्गुन २०७५ ०१:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App