१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अन्सारीलाई योग्य देखाउन नेकपाको चलखेल

काठमाडौं – मुस्लिम आयोग अध्यक्षका लागि संवैधानिक परिषद्बाट सिफारिस भएका समिम मियाँ अन्सारीको योग्यताको विषयमा प्रश्न उठेपछि सत्तारुढ दल नेकपाले उनलाई योग्य बनाउन चलखेल सुरु गरेको छ। संसदीय सुनुवाइ समितिले यस विषयमा अनुसन्धान गरिरहेको छ। निर्वाचन आयोगले अन्सारी नेकपाको समानुपातिक सूचीमा रहेको र पार्टीको केन्द्रीय सदस्य भएको जानकारी समितिलाई पठाएको छ।

अन्सारीले भने मंगलबार समितिसमक्ष आफूले पार्टीलाई बन्द सूचीबाट नाम हटाउन अनुरोध गरेको निवेदन र त्यसैअनुसार पार्टीले बन्द सूचीबाट हटाएको भनी लेखिदिएको बेहोरासहितको पत्र बुझाएका छन्। उनले २०७५ साल माघ ४ गतेको मितिमा समानुपातिकको बन्द सूचीबाट नाम हटाइदिन भन्दै नेकपाका अध्यक्षलाई लेखेको पत्र समितिमा बुझाएका हुन्। यो पत्र सोमबारसम्म कहीं कतै देखिएको थिएन।

यसै पत्रलाई आधार बनाउँदै फागुन १० गते सम्पन्न नेकपा केन्द्रीय सचिवालयको बैठकले अन्सारीको नाम बन्द सूचीबाट हटाउने निर्णय गरेको पत्र पनि तयार पारेको छ। महासचिव विष्णुप्रसाद पौडेलले हस्ताक्षर गरेको पत्रमा समानुपातिकतर्फ बन्द सूचीमा रहेका मुस्लिम कलस्टरका समिम मियाँ अन्सारीको नाम प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा ३० (१) बमोजिम उक्त बन्द सूचीबाट हटाउने निर्णय गरियो र निर्वाचन आयोगलाई पनि नाम बन्द सूचीबाट हटाउन अनुरोध गर्ने निर्णय गरियो भन्ने उल्लेख छ। तर फागुनको १० गते निर्वाचन आयोगले संसदीय सुनुवाइ समितिमा पठाएको पत्रमा अन्सारी नेकपा केन्द्रीय कार्यसमितिको सदस्य भएको र नेकपाको समानुपातिकतर्फको बन्द सूचीमा उनको नाम रहेको उल्लेख छ। अन्सारीको नाम समानुपातिक बन्द सूचीमा हटाउन आग्रह गर्दै नेकपाले फागुन १३ (सोमबार) मा निर्वाचन आयोगलाई लेखेको पत्र पनि बाहिर ल्याइएको छ।

अन्सारीले भारतको पटनाबाट स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र पेस गरे पनि प्रमाणपत्र तह र एसएलसीको प्रमाणपत्रको विषय गुपचुप राखिएको छ। संवैधानिक परिषद्को सिफारिससम्बन्धी पत्र आएपछि संसदीय सुनुवाइ समितिले उजुरी माग गरी १० दिनको सूचना प्रकाशित गरेको थियो। विभिन्न आयोगका लागि संवैधानिक परिषद्मा सिफारिस भएका पाँच प्रस्तावित अध्यक्षमध्ये अन्सारीमाथि नागरिकता र शैक्षिक योग्यताका साथै नेकपाको सक्रिय कार्यकर्ता भएको भन्दै उजुरी परेको थियो।

उजुरी परेपछि सुनुवाइ समितिले छानबिन थालेको छ। वित्त आयोग अध्यक्षमा प्रस्तावित बालानन्द पौडेल र समावेशी आयोगमा प्रस्तावित शान्तराज सुवेदीमाथि फागुन ७ गते सुनुवाइ गरेपछि समितिको बैठक बसेको छैन। दुईपटक कोरम नपुगेर बैठक स्थगित भएको छ। जिल्ला प्रशासन कार्यालयबाट समितिमा प्राप्त विवरणअनुसार अन्सारीले २०५५ पुस २२ गते नागरिकता लिएका छन् तर त्यति बेलाको अभिलेखमा उनको जन्ममिति नपाइएको समितिका सदस्य योगेश भट्टराईले जानकारी दिए। अन्सारीले २०६६ भदौ ९ गते नागरिकताको प्रतिलिपि लिएका छन्। प्रतिलिपिमा उनको जन्ममिति २०३० भदौ २४ गते उल्लेख छ। पछिल्लो अभिलेखमा जन्ममिति २०३७ साल असोज २४ गते उल्लेख छ। अब समितिले के गर्छ भन्ने विषयमा समितिका सदस्यले केही बोल्न चाहेका छैनन्। स्रोतका अनुसार उनको नाम अनुमोदन गर्ने तयारी समितिको छ।

अन्सारी आयोग अध्यक्ष हुन योग्य नभएको चर्चा व्यापक भएपछि संवैधानिक परिषद्को आइतबार बैठक बसी सिफारिस फिर्ता लिने तयारी गरिएको थियो। आफ्नो विषयमा प्रश्न उठ्न थालेपछि अन्सारीले नेकपाका शीर्ष नेतासँग भेटघाट तीव्र बनाएका थिए। यसैक्रममा संवैधानिक परिषद्को बैठक स्थगित भएको थियो। सिफारिस गरेको व्यक्ति सुनुवाइ समितिबाट अयोग्य ठहर हुँदा परिषद्को समेत बदनामी हुने र अन्सारी सधैंका लागि अयोग्य हुने भएकाले सहज बाटोका सिफारिस फिर्ता लिने तयारी गरिएको थियो। मुस्लिम आयोग ऐनअनुसार राजनीतिक दलमा आबद्ध भएको व्यक्ति अध्यक्ष हुन अयोग्य हुन्छ।

सुनुवाइ समितिमा फेरि कोरम पुगेन

संवैधानिक परिषद्बाट संवैधानिक आयोगको अध्यक्षमा सिफारिस भएकामध्ये दुईजनाका बारेमा सुनुवाइ गर्न बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक दोस्रो पटक पनि कोरम नपुगेर स्थगित भएको छ। गत आइतबार बोलाइएको बैठक सत्तापक्षका सांसद अनुपस्थित भएका कारण स्थगित भएको थियो। दोस्रो बैठक पनि सत्तापक्ष कै सांसद अनुपस्थित भएकाले स्थगित भयो।

मंगलबार दिउँसो २ बजे बोलाइएको बैठकमा नेकपाका सुरेन्द्र पाण्डे, सुमनराज प्याकुरेल, शिवकुमार मण्डल अनुपस्थित थिए भने संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ पनि अनुपस्थित थिए। पाण्डे चीन भ्रमणमा छन्, मण्डल विराटनगरमा र प्याकुरेल महोत्तरीमा रहेको जानकारी समितिमा आएको थियो। श्रेष्ठले बिरामी भएको खबर पठाएका थिए। कांग्रेस सांसदले भने संवैधानिक परिषद्ले पाँच संवैधानिक आयोगमा अध्यक्ष सिफारिस गरेयता नै बैठक बहिष्कार गर्दै आएका छन्। १५ सदस्यीय समितिमा कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, जितेन्द्रनारायण देव, भीमसेनदास प्रधान र पुष्पा भुषाल छन्।

प्रकाशित: १५ फाल्गुन २०७५ ००:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App