१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘एसिया प्यासिफिक नेपालका लागि फाइदाजनक’

काठमाडौ – ‘के नेपाल इन्डो–प्यासिफिकको पाटो हो ?’ विषयक छलफलमा सहभागी वक्ताहरूले एसिया प्यासिफिक नेपालका लागि फाइदाजनक भएको बताएका छन्। दि रि इन्सिच्युटद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा ब्रुकिङ इन्डियाका विदेश नीतिसम्बन्धी रिसर्च फेलो कन्स्टान्टिनो जेभियरले नेपाल एसिया प्यासिफिकको पाटो भएको र यसबाट नेपाललाई फाइदा पुग्ने बताए। इन्डो–प्यासिफिक कुनै गठबन्धन नभएको उल्लेख गर्दै उनले यसको मुख्य लक्ष्य सुरक्षा रणनीति नभएर आर्थिक विकास र कनेक्टिभिटी भएको उनको भनाइ छ।

यसले नेपाललाई चीन र भारतमा मात्र निर्भर नभई अन्य मुलुकसँगको सम्बन्ध विस्तारमा भूमिका खेल्ने उनको भनाइ छ। उनले नेपालले दिल्ली र बेइजिङसँग समदूरिता कायम राख्नुपर्छ भन्नु भ्रम भएको बताए। इन्डो प्यासिफिक नेपालको दिगो विकास र आर्थिक विकासका लागि निकै महत्वपूर्ण हुने धारणा उनको थियो।

जेभियरले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ दुई पक्षीय मात्र भएको उल्लेख गर्दै इन्डो प्यासिफिक रणनीति बहुपक्षीय भएको स्पष्ट पारे। अधिकांश वक्ताले अमेरिकाका पछिल्ला पहल तथा गतिविधिहरूले यो रणनीतिक उद्देश्यबाट प्रेरित भएको प्रस्ट भएको दाबी गरे। पूर्वप्रधानसेनापति गौरवशमशेर राणाले इन्डो प्यासिफिक पूर्णतः रणनीति भएको भन्दै यो आर्थिक र कनेक्टिभिटीको कुरा मात्र नभएको बताए। सन् २०१२ मा आफू अस्ट्रेलिया एसिया प्यासिफिक कमान्डको बैठकमा सहभागी हुन जाँदा चीन र पाकिस्तानको समेत सहभागिता नरहेको जनाउँदै उनले त्यतिबेला एसिया प्यासिफिकलाई इन्डो प्यासिफिकमा जोड्ने योजना ल्याइएको बताए।

त्यतिबेला आफूले त्यसबारेमा रिपोर्ट बनाएर सम्बन्धित मन्त्रालय र प्रधानमन्त्री बाबुराम भट्टराईलाई दिए पनि त्यो अहिले कुन अवस्थामा छ भन्नेबारे जानकारी नभएको स्पष्ट पारे। राणाले इन्डो प्यासिफिक एक रणनीति भएकाले धेरै सचेतता अपनाउनुपर्नेमा जोड दिए। यसका लागि राजा महेन्द्रले भनेजस्तै गतिशील नेतृत्वको आवश्यकता रहेको उनको भनाइ थियो। राणाले अहिले अमेरिकाले ६० प्रतिशत सैनिकलाई मध्यपूर्वबाट इन्डो प्यासिफिकमा स्थानान्तरण गर्नु गम्भीर विषय भएको उललेख गरे।

इन्डो–प्यासिफिक रणनीति परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिकी विदेशमन्त्री माइक पम्पियोसँगको भेटपछि नेपालमा पनि बहस सुरु भएको छ। अमेरिकी विदेश मन्त्रालयका सहप्रवक्ताले दुई मन्त्रीबीचको भेटमा इन्डो–प्यासिफिकमा नेपालले केन्द्रीय भूमिका खेल्ने विषयमा छलफल भएको जनाएपछि यो विषयमा बहस सुरु भएको हो। इन्डो प्यासिफिक अमेरिकाले अघि सारेको रणनीति हो, जसलाई चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभलाई चुनौती दिन अघि सारिएको रणनीतिका रुपमा हेरिएको छ। जसमा अमेरिका, जापान, भारत र अस्ट्रेलियाको मुख्य भूमिका छ। मन्त्री ज्ञवालीले भने अमेरिकाबाट फर्किएपछि रणनीतिबारे नभई इन्डो प्यासिफिक क्षेत्रबारे चर्चा भएको बताएका थिए।

प्रकाशित: ६ फाल्गुन २०७५ ०२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App