१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गृहमन्त्रीलाई प्रश्नः निर्मलाका हत्यारा बालुवाटार र सिंहदरवारमा छन्, कहिले कारवाही हुन्छ?

फाइल तस्बिर

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त हत्या प्रकरण लगायतका गम्भीर खालका अपराध अनुसन्धान प्रक्रियामा रहेको बताएका छन्। प्रहरीले ९६ प्रतिशत घटनामा सफलता पाएको भन्ने मन्त्री थापाको जवाफमा सांसद मिनेन्द्र रिजालले कटाक्ष गर्दै प्रश्न गरेका थिए, ‘चार प्रतिशत असफता पनि सफलता हो कि?’ मन्त्री थापा र सांसद बीच भएको प्रश्नोत्तरको सम्पादित अंशः

बालकृष्ण खाडः कुनै पनि घटनामा कानूनी कार्वाहीको साटो इन्काउन्टर बढी गर्न थालिएको छ। इन्काउन्टरको आदेश कसले दिन्छ?

जवाफः अपराधीको खोजी गर्दै जाँदा अपराधीबाट प्रहार गर्ने अवस्थामा प्रहरीले प्रहार गर्न सक्छ। यसका लागि माथिबाट आदेश दिन पर्दैन।

निर्मला कुमारी जिसीः निर्मला पन्तको अपराधीलाई मुद्दा किन चलाइएन। देशभरी हत्या बलात्कार कहिले रोकिन्छ?

जवाफः यो जघन्य अपराध थियो। यो बारेमा अहिले अनुसन्धानको कार्य अगाडि बढेको छ। अपराधीलाई कार्वाहीको विषयमा अनुसन्धानमा लापरवाहीमा लागेका प्रहरीलाई कार्वाही गरेको छ। अपराधसंग सम्बन्धित व्यक्तिलाई राज्यले छुट दिँदैन। उनीहरुलाई कानूनको दायरामा सरकारले ल्याउँछ।

डिला संग्रौलाः निर्मला हत्याका प्रमाण सरकारले किन नष्ट गर्यो? हत्यारा वालुवाटार र सिंहदरवारमा छन्। उनीहरुलाई कहिले कार्वाही हुन्छ?

जवाफः महिला हिंसासंग सम्बन्धित ९६ प्रतिशत अपराधीलाई सरकारले कानुनको कठघरामा ल्याएको छ। बाँकीलाई सरकारले कानुनको कठघरामा ल्याउन प्रयासशील छ। केही समय लाग्छ। सरकारले छिटो भन्दा छिटो कानुनको कठघरमा ल्याउँछ। अपराधी जहाँसुकै भए पनि कानुनको कठघरामा ल्याउने जानकारी गराउँछु।

गगन कुमार थापाः निर्मला पन्तका हत्यारा पाँच दिनभित्र पक्राउ हुन्छन् भनेर उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले भन्नुभएको थियो। यसबारे यहाँको धारणा के छ?

जवाफः रक्षा मन्त्रीले के भन्नुभयो भन्ने मलाई जानकारी छैन। कतिपय शंकास्पद व्यक्ति सरकारले अनुसन्धानको घेराभित्र ल्याएकाले उहाँले त्यसो भन्नुभएको होला। केही अपराधी कानुनको घेराभित्र आएका छन्। मलाई लाग्छ उहाँले सरकारले गरेको कामका आधारमा त्यसो भन्नुभएको होला।

राजेन्द्रप्रसाद लिङ्देनः निर्मला पन्त हत्याको अपराधी पत्ता लागि सकेको छ भन्ने जवाफ गृहमन्त्रीबाट आएको थियो। अहिलेसम्म अपराधी पत्ता लागेको छैन। यस्तो कच्चा सूचना राज्यको तर्फबाट किन आयो?

जवाफः सदनलाई जानकारी दिँदा मन्त्रालयलाई प्राप्त सूचनाको आधारमा त्यो सूचना दिएको थिएँ। दुई जना व्यक्तिलाई पक्राउ गरिएको थियो। छानविनमा प्रमाणित नभएका कारण मुक्त गरियो। कतिपय सूचना तलबाट आउँदै अधुरो थियो।

सुजाता परियारः निर्मला पन्तको बलात्कार पछि हत्या भएको लामो समय भयो। अनुसन्धान कहिले सकिन्छ?

जवाफः सदनलाई जे भएको छ त्यहि जानकारी गराएको छुँ। निर्मला प्रकरणको छानविन भै रहेको छ। अपराधिलाई कानुनको कठघरामा ल्याउन सरकार प्रतिवद्ध छ। अहिले पनि त्यहीँ भन्छु। हामी त्यसमा प्रतिवद्ध छौं। गर्दै जाँदा त्यसले लामो समय लिन सक्छ। हाम्रो प्रतिबद्धता यो छ कि छिटो भन्दा छिटो अपराधी कानुनको कठघरामा आउँछन्।

रामवहादुर विष्टः नवराज विष्टका अपराधिलाई पत्ता लगाइ कार्वाही कहिले हुन्छ?

जवाफः यो विषयमा गृह मन्त्रालय लिखित रुपमा जानकारी सदनमा पठाएको छ। यो घटना २०७५ जेठ १ गते मंगलसेनमा घटेको हो। पालेवन सामुदायिक वनमा मृतकको शव भएको खवर आएपछि प्रहरी खटिएको हो। उक्त शव नवराज विष्टको हो भन्ने थाहा भएको। घर परीवार आउँदा रात परेकाले अर्को दिन सनाखत गरिएको हो। २ वैशाखमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ। त्यसैदिन बागेश्वरी होटलको संचालक श्रीमती कमला बोगटी पक्राउ गरिएको छ। मृतकको परीक्षण गर्दा मृत्युको कारण खुलेको छैन। उक्त घटनाको अहिलेसम्म अनुसन्धान जारी छ। अपराधी कानुनको कठघरामा आउने छन्।

राजेन्द्रकुमार केसीः मंगलसेन घटनाका शंकास्पद व्यक्तीलाई यातना दिइयो, त्यसको पीडितलाई क्षतिपूर्ति दिइन्छ कि दिइँदैन?

जवाफः छानविन गर्दा प्रहरीले कठोर यातना दिएर अंगभंग गरेको रिपोर्ट आएको छैन। यातना दिने राज्यको कानुन पनि छैन। त्यस्तो भयो भने सम्वन्धित निकाय दोषीको भागिदार हुन्छ। पीडितलाई सरकारले उपचार गर्ने गरेको छ।

घनश्याम खतिवडाः मोरको खानेपानी टंकीमा विष हाल्ने अपराधी पत्ता लागेको छैन। यसमा के भएको छ?

इलाका प्रहरी कार्यालय लेटान्गले अनुसन्धान गरेको छ। घटनाको विषयमा अनुसन्धान भै रहेको छ। घटनाका शंकास्पद व्यक्तिको पहिचान गरी सोधपुछको काम भएको छ। हालसम्म घटनामा संलग्न व्यक्ति पत्ता लाग्न सकेको छैन। यसका अपराधी पनि छिटो भन्दा छिटो कानुनको कठघरामा ल्याउन सरकार प्रतिवद्ध छ।

प्रकाशित: २३ माघ २०७५ ०८:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App