१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकार भेनेजुएलाको पक्षमा, कांग्रेस अमेरिकाकोः के भन्छन् परराष्ट्र जानकार ?

काठमाडौं– भेनेजुएलाको विषयलाई लिएर सरकार र प्रतिपक्षी विपरित धुव्रमा उभिएका छन्। सरकारले जारी गरेको विज्ञप्तिलाई प्रतिपक्ष नेपाली कांग्रेसले अपरिपक्वको संज्ञा दिएको छ।

भेनेजुएलामा भएको पछिल्लो घटनाक्रमका विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पहिलोपटक विज्ञप्ति निकालेका थिए। प्रधानमन्त्री केपी शर्मा ओली डाभोसमा विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी भएकै बेला अध्यक्ष दाहालले भेनेजुएलामा अमेरिकाको ठाडो हस्तक्षेप भएको बताएका थिए। उनले विज्ञप्तिमार्फत अमेरिकन हस्तक्षेपको विरोध गरेका थिए।
सात समुन्द्र पारी खासगरी नेपालसँग खासै सम्बन्ध नभएको भेनेजुएलाको विषयमा नेकपाका अध्यक्ष दाहालले निकालेको विज्ञप्तिपछि सरकारलाई दाबाब परेको थियो। अध्यक्ष दाहालले ११ माघमा विज्ञप्ति जारी गरेका थिए। उक्त विज्ञप्तिपछि अमेरिकाले सरकारको आधिकारिक धारणा खोजेको थियो।

डाभोसबाट फर्किने क्रममा १२ माघमा प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालको विज्ञप्तिको विषयमा बुझेर मात्र प्रतिक्रिया दिने बताएका थिए। उनले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भनेका थिए, ‘विज्ञप्तिको विषयमा सुनेको छुँ। बुझेर मात्र प्रतिक्रिया दिन्छु।’

१५ माघमा सरकारले अध्यक्ष दाहालको विज्ञप्तिलाई घुमाउरो तरिकाले समर्थन गर्ने खालको धारणा सार्वजनिक गरेपछि अमेरिका र नेपालको दुरी बढ्न थालेको हो। यसको संकेत अमेरिकी राजदूत -यान्डी बेरीले सरकारले १८ माघमा अन्तर्राष्ट्रिय समुदायका लागि आयोजना गरेको कुटनीतिक ब्रिफिङमा सहभागी नभएर दिएका थिए।

अमेरिकी राजदूत बेरीले सरकारले बोलाएको कुटनीतिक ब्रिफिङमा डेपुटी चिफ अफ मिसन माइकल गोन्जालेसलाई पठाएका थिए। होटल अन्नपूर्णमा आयोजित ब्रिफिङ्मा भारत, चीन, रूस, इजरायल लगायत सबैजसो देशका नेपालस्थित राजदूत सहभागी थियो।

यो बीचमा अध्यक्ष दाहालले १८ माघमै विज्ञप्तिमा आफ्नो अडान यथावत भएको प्रतिक्रिया दिएका थिए। १८ माघमा पार्टी अध्यक्ष दाहालको सचिवालयले जारी गरेको विज्ञप्तिमा पार्टी अध्यक्ष दाहाल र नेपाल सरकारवाट जारी विज्ञप्ति आधिकारिक भएको जनाइएको छ। पार्टी अध्यक्ष दाहालको पछिल्लो विज्ञप्तिपछि सरकारले निकालेको दुई अर्थ लगाउन मिल्ने खालको विज्ञप्तिको औचित्य समेत सकिएको थियो।

सरकार र नेकपा भेनेजुएलाको विषयमा अमेरिकन धुव्र छाडेर रुस र चीनको धुव्रमा गएकै अवस्थामा प्रमुख प्रतिपक्षले भने अमेरिकाको पक्षमा आफ्नो धारणा दिएको हो। आइतवार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकार र नेकपाका अध्यक्ष पुष्पकमल दाहालका तर्फबाट भेनेजुएलाबारे सार्वजनिक धारणालाई असंवेदनशील, अपरिपक्व र राष्ट्रिय स्वार्थप्रति उदासिन भनेको छ।  

‘नेपालको कुनै उल्लेखनीय सम्बन्ध नरहेको देश भेनेजुयलाको राजनीतिक घटना क्रममा सत्तारुढ कम्युनिष्ट पार्टीका अध्यक्ष र सरकार स्वयंले दिएको विज्ञप्ति अपरिपक्व मात्र होइन, नेपालको राष्ट्रिय स्वार्थ विपरित छ’, बैठकपछि प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो असंवेदनशील, अपरिपक्व र राष्ट्रिय स्वार्थप्रति उदाशिन कार्यप्रति कांग्रेस आपत्ति प्रकट गर्दछ।’

कांग्रेसले नेपालको विकासका लागि झण्डै ६५ वर्षभन्दा समयदेखि लगातार आर्थिक सहयोग पु-याउँदै आएको एक पुरानो र भरपर्दो मित्र भन्दै अमेरिकाको प्रशंसा समेत गरेको छ। ‘आगामी दिनमा पनि नेपालको आर्थिक विकास, त्यसका लागि आवश्यक आर्थिक र कुटनीतिक सहयोगको क्षेत्रमा अमेरिकाको सकारात्मक भूमिका महत्वपूर्ण रहनेछ’, विज्ञप्तिमा अपेक्षा गरिएको छ।

भेनेजुएला प्रकरणमा पूर्व राजदूत शम्भुराम सिम्खडा वाथरुममा खोलिने लुगा वाथरुम बाहिरै खोलेका कारण समस्या आएको बताउँछन्। उनले भने, ‘जाडोमा वाथरुम बाहिरै लुगा खोलेपछि विरामी पर्न सकिन्छ। यसको उपयुक्त उपचार समयमै खोज्नु बुद्धिमानी हुन्छ।’ उनले परराष्ट्र र कुटनीतिमा सत्ता र प्रतिपक्षी एकै ठाउँमा हुनुपर्ने भन्दै पक्ष विपक्षले देशलाई नै नोक्सानी पुग्नेमा सचेत गराए।  

प्रकाशित: २० माघ २०७५ १४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App