३ माघ २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश सरकारले मनायो पहिलोपटक सहिद दिवस

सहिद दिवसका अवसरमा बुधबार हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल। तस्बिरः अशोकसुजन श्रेष्ठ/नागरिक

मकवानपुर – प्रदेश ३ को सरकारले बुधबार पहिलोपटक सहिद दिवस मनाएको छ। प्रदेश राजधानी हेटौंडास्थित सहिद स्मारकमा विशेष कार्यक्रम गरेर सरकारले दिवस मनाएको हो।

स्मारकस्थित सहिदहरूको प्रतिमामा माल्यार्पण गर्नुअघि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सलामी अर्पण गरेका थिए। सभाअघि प्रभातफेरी गरिएको थियो। पूर्व–पश्चिम राजमार्गमाअन्तर्गत हेटौंडा–११, नवलपुरबाट सुरु प्रभातफेरी स्मारक पुगेर कोण सभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपाल निर्माण गर्न सहिदहरूले देखाएको बाटो हिँड्नुको विकल्प नभएको बताए। सहिद स्मारक विकास समितिका अध्यक्षसमेत रहेका मन्त्री पौडेलले सहिदकै योगदानले देशमा लोकतन्त्र, गणतन्त्र आएको स्मरण गराए।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले सहिदहरूले देखेका सपना पूरा गर्नु आफुहरूको दायित्व भएको बताए। सहिद स्मारकमा एउटै विशाल २५ टनको ढुंगामा १२ सहिदका मुखाकृति कुँदिएको स्तम्भ छ। जसमा तत्कालीन बेलायती सेनाविरुद्ध लडेर वीरगति प्राप्त गरेका भक्ति थापा, राणा शासनविरुद्धको लडाइँमा सहादत प्राप्त गरेका दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्री, किसान आन्दोलनमा सहिद बनेका भीमदत्त पन्त र पञ्चायतविरुद्धको संघर्षमा जीवन गुमाएका रत्नकुमार बान्तवा, क्याप्टेन यज्ञबहादुर थापा, दुर्गानन्द झा, वीरेन्द्र राजवंशी, मुनेश्वरी यादव र प्रभाकर पौडेलको आकृति कुँदिएका छन्। जुन स्तम्भ २४ वर्षअघि बनाइएको हो।

बगैंचा र नेपालको नक्सासहित १९ मिटर गोलाइ तथा ६५ फिट अग्लो विशाल सहिद स्तम्भ पनि छ। करिब १ करोड ५० लाख लागतमा निर्मित सहिद स्तम्भको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन्।

प्रकाशित: १७ माघ २०७५ ०३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App