coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

अब माननीय ‘मनाङे’

पोखरा - गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको बोली फेरिएपछि डनको छवि बनाएका मनाङ (ख) बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेका लागि प्रदेशसभाको ढोका खुलेको छ।

गत पुस २२ गते सभामुख अधिकारीले प्रदेशसभा निर्वाचन ऐनको दफा १६ अनुसार सपथ गराउन नमिल्ने सार्वजनिक प्रतिक्रिया दिएका थिए। सभामुखले त्यतिबेला कार्यव्यवस्था परामर्श समितिका सदस्य, दलीय सुझाव, कानुनविद्, मुख्य न्यायाधिवक्ताको रायसुझावका आधारमा शपथ नखुवाउने भनेका थिए। त्यसको भोलिपल्टै मनाङे प्रदेशसभा आए। सभामुखसँग शपथ खुवाउन रोक्ने कानुनका विषयमा डेढ घन्टा दमदार बहस गरे र प्रशन्न हुँदै बाहिर निस्किए। मनाङे खुसीसाथ बाहिर आउँदा सभामुखले भने अघिल्लो दिनको प्रतिक्रिया नै फेरे र भने, ‘कानुनी छिद्र रहेका छन्, हामी छलफलमा नै छौं।’
त्यसको तीन हप्तापछि सभामुख अधिकारीले सोमबार मनाङेलाई सपथ गराई प्रदेशसभामा छिर्ने बाटो खोलिदिए।

मनाङेले गरेको कानुनी बहस, संघीय संसद्मा रेशम चौधरीको सपथ, सत्तारुढ दलका सांसदको जोडबलका कारण सभामुख शपथ खुवाउने निर्णयमा पुगेका हुन्। अर्कातर्फ मनाङेलाई शपथ गराउने वा नगराउने विषयमा रहेको कानुनी अस्पष्टता पनि मनाङेको लागि फाइदाजनक रह्यो।
शपथपछि सभामुखले भने, ‘कानुनअनुसार नै शपथ खुवाइएको हो, निर्वाचन प्रमाणपत्र लिएर आएका व्यक्तिलाई शपथ गराउनुपर्छ र मैले मेरो दायित्व पूरा गरेँ।’ शपथपश्चात बोल्दै मनाङेले निर्वाचनताका गरेका प्रतिबद्धता पूरा गर्ने र मंगलबारदेखि नै प्रदेशसभा बैठकमा उपस्थित हुने बताए। उनको शपथमा प्रदेशका कानुनमन्त्री हरि चुमान, सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, उपसभामुख सिर्जना शर्मा, नेकपाका प्रमुख सचेतक मायानाथ अधिकारी, सचेतक गायत्री गुरुङ उपस्थितथिए।

मनाङे गत साल मंसिर १० गते पहिलो चरणमा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र निर्वाचित भएका हुन्। उनले प्रदेशसभामा एक हजार ४१० मत ल्याएर विजयी भएका थिए। तत्कालीन एमालेबाट चुनाव लड्न खोजे पनि एमालेले उनको विवादास्पद छविका कारण टिकट दिएन। टिकट नदिए पनि एमालेकै सहयोगमा उनले चुनाव जितेर प्रदेशसभा सदस्य बन्न पुगेका थिए। डनको छवि बनाएका मनाङे प्रदेशसभा छिर्नुअगावै गत वैशाखमा ज्यानमार्ने उद्योगअन्तर्गत कारागार चलान भएका थिए। सर्वोच्चको आदेशमा पुसको पहिलो साता थुनामुक्त भएपछि प्रदेशसभा सचिवालयमा प्रतिनिधिमार्फत पुस ११ गते मनाङेले सपथग्रहणका लागि निवेदन दिएका थिए।
शपथपश्चात संक्षिप्त प्रतिक्रियामा मनाङेले सरकारलाई समर्थन गर्ने जनाएका छन्। ‘राम्रो कामगर्ने बेलासम्म सरकारलाई सहयोग गर्छु,’ उनले भने। गण्डकी प्रदेशमा नेकपा (तत्कालीनएमाले र माओवादी केन्द्र) को दुईतिहाइ बहुमतको सरकार छ। तर, पार्टी प्रवेश भने तत्कालै नगर्ने उनको भनाइ छ। मनाङेको शपथसँगै गण्डकी प्रदेशमा प्रदेशसभा सदस्यहरूको संख्या ५९ पुगेको छ। प्रदेशमा ६० जनाप्रदेशसभा सदस्य रहने भए पनि बाग्लुङ २ (ख) का राष्ट्रिय जनमोर्चाबाट निर्वाचित प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधनसँगै उक्त क्षेत्र रिक्त रहेको छ।

दीपक मनाङेलाई शपथ गराउँदै सभामुख नेत्रनाथ अधिकारी। तस्बिर ः उमेश पुन÷नागरिक

प्रकाशित: १५ माघ २०७५ ०१:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App