८ वैशाख २०८१ शनिबार
राजनीति

मनकारी सांसद : सुविधामा पैसा थपेर समाजसेवा

पोखरा – गतसाल माघ ७ गते प्रदेशसभामा सपथग्रहण गरेपछि गोरखा २ (ख) का प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले घोषणा गरेका थिए कि, ‘प्रदेशसभा सदस्य भएबापत मैले पाउने सबै सुविधा जनताका लागि विकास र सामाजिक क्षेत्रमा खर्च गर्नेछु।’ सपथ लिएकै दिन उनले सार्वजनिक गरेको प्रतिबद्धताको ठिक १ वर्ष पुगेको छ।

प्रदेशसभा सदस्यको हैसियतमा उनले सपथ लिएको १ वर्षपछि मंगलबार उनले पत्रकार सम्मेलन नै गरेर प्रदेशसभा सचिवालयबाट प्राप्त सबै सुविधा जनताको लागि खर्चिएको बताए। दवाडीले प्रदेशसभा सचिवालयले अहिलेसम्म उनको खातामा जम्मा गरिदिएको बैकिङ विवरण नै सार्वजनिक समेत गरे। सपथग्रहण यता उनको खातामा प्रदेशसभा सचिवालयले ७ लाख ३० हजार ३ सय १५ रुपैयाँ जम्मा गरिदिएको छ।

सांसदको हैसियतमा १ वर्षमा उनले पाएको रकम यति  नै हो। तर, पछिल्लो १ वर्षमा उनले १२ लाख २१ हजार रुपैयाँ सामाजिक क्षेत्रमा खर्चिएका छन। प्रदेशसभा सदस्यको हैसियतमा प्राप्त ७ लाख ३० हजारमा ५ लाख रुपैयाँ थपेर आमा समूह, क्लव, विद्यालय, बिरामी, गम्भीर प्रकृतिका बिरामीको उपचारमा सहयोग, सामाजिक संघसंस्था, विद्यालयको भवन निर्माण लगायतका क्षेत्रमा सहयोग गरेको उनले जनाए। बैंकिङ विवरणदेखि लिएर हालसम्म सामाजिक क्षेत्रमा गरेको खर्च विवरण पनि उनले सार्वजनिक गरे।

७ लाखको सुविधा
१२ लाख सामाजिक क्षेत्रमा खर्च
आम्दानीको १० प्रतिशत सामाजिक क्षेत्रमा

गोरखामा एम्बुलेन्स खरिदमा उनले ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका थिए।  शिवशक्ति आमा समूहलाई १ लाख, आरुबोट सामुदायिक भवनलाई १ लाख,, स्मृति र मुलदेवी आधारभूत विद्यालयलाई ५०–५० हजार रुपैयाँ सहित दुई दर्जन बढि संघसंस्थालाई सहयोग गरेको उनले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। ‘म राजनीतिमा लागेकै समाजसेवाको लागि हो,’ दवाडीले भने, ‘मैले पाउने सबै सेवासुविधा जनता  र विकासको लागि खर्च गर्नेछु।’ राजनीति र समाजसेवा एकअर्काको परिपूरक भएको उनले बताए।

दवाडी भन्छन्, ‘अन्य राजनीति गर्ने सहयात्रीहरुलाई पनि सन्देश दिन मैले यो घोषणा गरेको हुँ। म जनप्रतिनिधी बनेकै जनताको सेवाको लागि हो। जनताले चुनेर पठाएपछि मैले पाउने सेवासुविधा उनीहरुको लागि नै खर्च गर्ने निर्णय गरेको हुँ।’ हरेक वडामा जनताको मागबमोजिमको काम गर्ने उनको चाहना छ।

‘मलाई सम्पत्ति धेरै भएर होईन, जनताले दिएको माया र साथलाई समर्थन गर्न चाहन्छु’ दवाडी भन्छन, ‘जनता मेरो पहिलो प्राथमिकता हुन्, मेरो कार्यकाल सबै जनताको भलाईमा नै बिताउनेछु।’ १८ वर्ष जापानमा व्यवसाय गरेका दवाडी १० वर्षदेखि सामाजिक क्षेत्रमा क्रियाशील रहेका छन्। हरेक वर्ष आम्दानीको १० प्रतिशत रकम सामाजिक क्षेत्रमा वितरण गर्ने गरेको उनले बताए।

प्रकाशित: ९ माघ २०७५ ०९:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App