७ वैशाख २०८१ शुक्रबार
राजनीति

पूर्ववर्ती सरकारका निर्णय उल्टाउने प्रयास गरे कम्युनिष्ट आफै उल्टिन्छ : खाँड

कांग्रेसद्वारा बुटवलमा आयोजित खबरदारी सभा। तस्बिर : रेखा/नागरिक

बुटवल - नेपाली कांग्रेसले रुपन्देहीलाइ नै स्थायी राजधानी कायम गर्न माग गर्दे विहिबार बुटवलमा बृहत जनप्रदर्शन तथा खबरदारी सभा गरेकाे छ। सभालाइ सम्बोधन गर्दै पार्टीका केन्द्रीय तथा विभिन्न जिल्लाका नेताहरुले बुटवलबाट राजधानी अन्यत्र सार्ने षडयन्त्र भए त्यसको सशक्त प्रतिरोध गर्ने चेतावनी दिए। समाजिक, आर्थिक, भौगोलिक तथा पर्यटकीय दृष्टिकोणले रुपन्देही प्रदेशको स्थायी राजधानीका लागि उपयुक्त रहेको र यसले समग्र प्रदेशको विकासमा महत्वपुर्ण योगदान पुग्ने दाबी नेताहरुको थियो।

खबरदारी सभालाई सम्बोधन गर्दै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले लुम्बिनीको अन्तर्राष्ट्रिय पहिचान र प्रभावलाई स्थापित गर्दै त्यसकै आधारशीलामा  टेकेर  समृद्ध  प्रदेश बनाउन रुपन्देहीलाइ स्थायी राजधानी बनाउनुपर्ने बताए। उनले प्रदेशका बाह्रवटै जिल्लाको सामाजिक, आर्थिक, सांस्कृतिक तथा भौगोलिक महत्वलाइ लुम्बिनीसँग जोडेर समुन्नत प्रदेश निर्माण गर्न सकिने बताए। ‘मुख्य मन्त्री र मन्त्रीका झण्डा हल्लाउन बुटवलमा स्थायी राजधानी मागेको होइन’, उनले भने, ‘लुम्बिनीको जुन खालको अन्तर्राष्ट्रिय ग्रयाभिटी छ, विश्वलाइ आकर्षित गर्न सक्ने शक्ति छ त्यही आधारशीलामा टेकेर प्रदेश र सिंगो राष्ट्रले समृद्धि हासिल गर्न सक्छ भन्ने कुरा बुझनु जरुरी छ’। उनले पूर्ववर्ती सरकारका सबै निर्णयहरु उल्टाउने प्रयास गरीए कम्युनिष्ट सरकार आफै उल्टिने चेतावनी  दिए। आफ्ना लागि कराेडौं रकम खर्चेर विदेशमा औषधोपचार गर्ने प्रधानमन्त्री ओलीले खान नपाउने गरीब दु:खी नेपालीलाई ६५ वर्षमा बृद्ध भत्ता दिन नमानेको भन्दै यो सरकार सर्वहाराको  हुनै नसक्ने दाबी गरे।

केन्द्रीय सदस्य चन्द्र भण्डारीले नामाकरण पहिलो कर्म भएको भन्दै एकवर्षसम्म नाम र स्थायी राजधानी तोक्न नसक्दा संघीयता प्रति जनताको विश्वास गुम्न सक्ने खतरा बढेकाे बताए। समग्र प्रदेशको विकासमा लुम्बिनीले महत्वपूर्ण भुमिका खेल्ने कुरालाइ नविर्सन प्रदेशबासीलाई आग्रह गर्दै नेता भण्डारीले दिर्घकालिन सोँच र योजना अनुरुप रुपन्देहीलाई नै स्थायी राजधानी तोक्नु पर्ने बताए। दुई तिहाइको केन्द्र र प्रदेश सरकारले जनताको अवस्था के छ भन्ने सम्बन्धमा ध्यानै नदिइ  मन्त्री, सांसद र नेताहरुकै भत्ता र सेवा सुविधा बढाएर बिलासी जीवन उपभोग गर्न उद्दत रहेको उनले आरोप लगाए। संसदीय समितिले भ्रष्टाचारी ठहर गरेकालाई कारबाही गर्न नमान्ने सरकार आफै भ्रष्ट भएको भन्दै उनले सरकारको रबैया यस्तै रहे जनताले सडकबाटै फाल्ने चेतावनी दिए।

कार्यक्रममा केन्द्रिय सदस्य देवेन्द्रराज कँडेल, रुपन्देही सभापती अब्दुल रज्जाक, पल्पाका सभापती बिरबहादुर राना, अर्घाखाँचीका सभापती बिष्णु मुस्कान, गुल्मीका सभापती भुवन श्रेष्ठ, प्रदेशको संसदीय दलका नेता बलदेव शर्मा पोखरेल ,कपिलबस्तुका सभासद बिरेन्द्र कनौडीया, रमा अर्याल, रामकृष्ण खाँण, हरी लम्साल, खेलराज पाण्डे लगायतले बोल्दै बुटवलबाट राजधानी सार्ने षडयन्त्र भए सदन र सडकबाटै त्यसको प्रतिकार गर्ने बताए।

 

कांग्रेसद्वारा बुटवलमा आयोजित खबरदारी सभा। तस्बिर : रेखा/नागरिक
कांग्रेसद्वारा बुटवलमा आयोजित खबरदारी सभा। तस्बिर : रेखा/नागरिक
कांग्रेसद्वारा बुटवलमा आयोजित खबरदारी सभा। तस्बिर : रेखा/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App