१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दुई तिहाइ बहुमतकाे सरकार ‘ट्रायल’ मै फेल : उपसभापति निधी

कांग्रेस उपसभापति विमलेन्द्र निधी (बीचमा)। तस्बिर : नगेन्द्र/नागरिक

सुर्खेत - नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले दुई तिहाइ बहुमत प्राप्त कम्युनिष्ट सरकार असफल बनेको बताएका छन्। वर्तमान सरकार परिवर्तनको रक्षा र जनताका आधारभूत आवश्यकता पूरा गर्नमा पूर्णरुपमा असफल भएको निधीकाे ठहर छ।

‘कम्युनिष्टको दुई तिहाइ बहुमत प्राप्त सरकार ‘ट्रायल’ मै राजनीति र विकासमा पूर्णरुपमा फेल भइसकेको छ’ आइतबार नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको कार्यक्रममा उपसभापति निधीले भने, ‘अव चालक फेर्नुको विकल्प छैन्।’ नेता निधिले वर्तमान सरकार संघीयता विरोधी भएको आरोप पनि लगाए। उनले संघदेखि प्रदेशसम्म कम्युनिष्टको सरकार रहेपनि संघीयता कार्यान्वयनमा पनि वर्तमान नेतृत्व असफल भएको बताए। ‘सिंहदरवारबाट गाउँमा अधिकार पुर्‍याउनुको सट्टा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय र सिंहदरवारमै अधिकार केन्द्रीत गर्दै लगेका छन्’ उनले भने, ‘यो संघीयता विरोधी काम हो।’

उनले संघीय सरकारले बनाउनुपर्ने कानुन नबनाएको र प्रदेश सरकारलाई समेत अधिकार नदिएको भन्दै यसले संघीयता कार्यान्वयन नहुने बताए। नेता निधीले आफ्नै सरकारविरुद्ध बोल्न प्रदेश सरकारहरुलाई अप्ठ्यारो रहेको बताए। ‘संघले प्रदेशलाई अधिकार नदिँदा काम गर्न नसकेको गुनासो गर्ने गरेका छन्, गुनासो गरेर अधिकार पाइने होइन्’ निधिले भने, ‘त्यसविरुद्ध आवाज उठाउनुपर्छ, संघ सरकार र मन्त्रीहरुसँग कडा रुपमा प्रस्तुत हुनुपर्छ।’

नेता निधीले पार्टीभित्रका गुटको अन्त्य भइसकेकाले उत्साहका साथ जनताको माझमा जान कार्यकर्ताहरुलाई निर्देशन दिए। उनले संविधान विरोधी र लोकतन्त्र विरोधीहरुको भण्डाफोर गर्न पनि कार्यकर्ताहरुलाई निर्देशन दिए।

 

प्रकाशित: २९ पुस २०७५ १३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App