१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सुनसहित वडाध्यक्ष पक्राउ

सुनसहित पक्राउ परेका लहान नगरपालिका–१९ का वडाध्यक्ष (बायाँबाट दोस्रो, सेतो गम्छा लगाएका) लगायत। तस्बिर : नागरिक

सिरहा - सशस्त्र प्रहरीको टोलीले पूर्व–पश्चिम राजमार्गको गोलबजार नगरपालिका–९ घुर्मी पुलबाट ठूलो परिमाणको सुनसहित वडाअध्यलाई पक्राउ गरेको छ। एक किलो सात सय ५७ ग्राम सुनसहित लहान नगरपालिका–१९ का वडाध्यक्ष हकिम मियाँसँगै अरू पाँच जना पक्राउ परेका हुन्। कतारबाट लुकाईछिपाई ल्याइएको सुन लिएर बिआर३२पिए ४६४४ नम्बरको स्कार्पियो जिप लहानतर्फ आउँदै गरेको सूचना प्राप्त भएपछि घुर्मी खोलामा आइपुग्दा सशस्त्र प्रहरीको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीको बटालियन नम्बर ७ कार्यालय सिरहामा शनिबार उनीहरूलाई सार्वजनिक गरिएको हो। सार्वजनिक गरिनेमा लहान–१९ का मोहम्मद रहमान, मोहम्मद अफरोज मियाँ, मोहम्मद अमिरुल, मोहम्मद कैयुम राईन, मोहम्मद रियाज राइन छन्। बटालियन कमान्डर सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सोम गुरुङका अनुसार कतारबाट आयात भएर आएको उक्त परिमाणको सुनसहित ६ जनालाई शनिबार बिहान ३ बजेतिर पक्राउ गरिएको हो। पक्राउ गरिएका उनीहरुका साथमा रहेको सुन परीक्षण र वजन नेपाल सुनचाँदी व्यवसाय संघ सिरहामार्फत यकिन गरिएको छ। सुनचाँदी व्यवसायी संघले सुनको बजार मूल्य ९१ लख ९२ हजार चार सय ६४ रुपैयाँ मूल्यांकन गरेको एसपी गुरुङले बताए। सुनसहित पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि पूर्व क्षेत्रीय राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइने उनको भनाइ छ।

बरामद भएको सुन गल्फ ज्वेलरी दोहा कतारबाट खरिद गरिएको बिलमा उल्लेख छ। तर बिलमा सुन खरिदकर्ताको नाम पक्राउ परेका कसैसँग मिल्दैन। बरामद सुनको परिमाण नेपाल सरकारले निर्धारण गरेको मापदण्डसँग समेत मेल खाँदैन। परिमाण पनि बढी रहेको जनाइएको छ।

उम्काउने प्रयास असफल
पक्राउ पर्नेहरूलाई सार्वजनिक गर्ने क्रममा वडाध्यक्षसहित तीनजनालाई उम्काउने प्रयास असफल भएको छ। ठूलो परिमाणको सुनसहित वडाध्यक्षसमेत पक्राउ परेको सूचना पुष्टिका लागि शनिबार बिहान सशस्त्र प्रहरीका एसपी गुरुङलाई फोन गर्दा उनले वडा अध्यक्ष हो÷होइन यकिन गर्न बाँकी रहेको भन्दै पक्राउ परेका ६ जना रहेको जानकारी दिँदै केहीबेरमा सार्वजनिक गर्ने बताए। पछि एसपी कार्यालयबाट बिहान ११ बजे पत्रकार सम्मेलनमार्फत घटना सार्वजनिक गर्ने जानकारी आयो। निर्धारित समयमा एसपी कार्यालय पुगेका सञ्चारकर्मीहरूलाई करिब एक घण्टा कुर्न लगाइयो। पछि सशस्त्र प्रहरीको पथलैया गणका डिआइजी प्रवीणकुमार श्रेष्ठ कार्यालयबाट बाहिर आए। उनले घटनामा केही व्यक्ति निर्दोष देखिएको बताउँदै एसपी गुरुङलाई घटना जानकारी गराइदिन भन्दै निस्के। भित्र एसपी गुरुङले पत्रकारसमक्ष तीनजनासहित बरामद सुन सार्वजनिक गरेपछि आवाज उठ्यो, ‘६ जना पक्राउ परेकोमा तीन जना मात्र सार्वजनिक ?’ उनले तत्काल जवाफ फर्काए, ‘होइन होइन, तीनजना मात्र पक्राउ परेका हुन्। सार्वजनिक गरिएका तीनजनाले भने जिपमा ६ जना रहेको जवाफ फर्काएका थिए। उनीहरूले झूटो बोलिरहेको भन्दै एसपी गुरुङ भने चुप लागे।

पत्रकार सम्मेलन सकिएको आधा घण्टा नबित्दै एसपी कार्यालयबाट फोन गर्दै भनियो, ‘फर्किनुपर्‍यो, तीनजनाको नाम मात्रै सार्वजनिक भएछ, तीनजना त छुटेछन्।’ पत्रकारहरूले फर्कन नसक्ने बताएपछि पक्राउ परेका वडाध्यक्षसहित ६ जना र बरामद सुनको तस्बिर मेलमार्फत पठाएका थिए।

प्रकाशित: २९ पुस २०७५ ०२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App