१५ चैत्र २०८० बिहीबार
राजनीति

निर्मला प्रकरणमा अपराध कबुल गर्नेहरुको डिएनए नमिल्दा आश्चर्यमा परे : प्रम ओली

काठमाडौं– ‘निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने मानिसहरु खुलेआम हिडिरहँदा पनि सरकार के हेरेर बसेको छ? के हामी बालबालिकाको सुरक्षाको जिम्मा सरकारले लिन सक्दैन? दैनिक १५ सयदेखि २ हजार युवा विदेशिनबाट रोक्न तपाईसँग के कस्ता योजनाहरु छन्? सरकारको यति धेरै लगानी हुँदाहुँदै पनि किन सामुदायिक विद्यालयको गुणस्तर खस्कँदै गइरहेको छ? सरकारले किन नेपाली भाषालाई वेवास्ता गर्दै अंग्रेजीलाई धेरै प्राथमिकता दिएको? नेपालको धेरै स्थानमा शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि पाठ्यपुस्तक पुग्न सकेका छैनन्, यस्तो अवस्थामा कसरी डिजिटलाइज्ड नेपालको परिकल्पना गर्ने? उस्तै किसिमको शिक्षा हासिल गर्दा पनि किन पारिश्रमिकमा विभेद हुने गरेको?’ मंगलवार प्रज्ञा प्रतिष्ठानमा स्कुले बालबालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग यस्ता प्रश्न सोध्ने अवसर पाए। यो अवसर जुराइदिएको थियो नेपाल स्काउटले। उपत्यकाका १४ विद्यालयका विद्यार्थीले स्काउटको पहलमा प्रधानमन्त्रीसँग साक्षात्कार गर्न पाए। कार्यक्रमको नाम दिइएको थियो– ‘बालबालिकासँग प्रधानमन्त्री’। कार्यक्रममा बालबालिको प्रश्न सुन्न र जवाफ दिन प्रधानमन्त्री ओली पत्नी राधिकासहित उपस्थित थिए। 

प्रधानमन्त्री ओलीले अनुसन्धानका क्रममा विभिन्न किसिमका दबाबले काम गर्न अप्ठेरो भइरहेको, प्रहरीले सुरुदेखि नै गल्ती गरिरहेको भन्दै अपराधीलाई कुनै हालतमा नछोडिने आश्वासन दिए। यतिमात्रै होइन उनले निर्मलाको मुद्दामा अपराध कबुल गर्ने मान्छेहरुको डिएनए रिपोर्ट नमिल्दा आफू आश्चर्यमा परेको समेत बताए।

भविष्यका कर्णधार विद्यार्थीसँग प्रत्यक्ष साक्षात्कार गर्नुपुर्व प्रधानमन्त्री ओलीले सायदै सोचेका होलान यति अप्ठेरो प्रश्नको सामना गर्नुपर्छ भनेर। जुन कुरा प्रधानमन्त्रीका जवाफवाट प्रष्ट थाहा हुन्थ्यो। रश्मी थापाले निर्मला पन्त प्रकरणको छानविन र आफूजस्तै बालबालिकाको सुरक्षाबारे प्रश्न गर्दा प्रधानमन्त्रीको जवाफ त्यति चित्तबुझ्दो आएन। उल्टै प्रधानमन्त्रीले अनुसन्धानका क्रममा विभिन्न किसिमका दबाब आइरहेकाले काम गर्न अप्ठेरो भइरहेको, प्रहरीले सुरुदेखि नै गल्ती गरिरहेको, अपराधीलाई कुनै हालतमा पनि नछोडिने जस्ता जवाफ दिएर पन्छिए। साथै ओलीले निर्मलाको केसमा अपराध कबुल गर्ने मान्छेहरुको डिएनए रिपोर्ट नमिल्दा आफू आश्चर्यमा परेको बताए। 

कक्षा आठमा पढ्ने प्रनिश घिमिरेले दैनिक सयौंको संख्यामा नेपाली युवाहरु विदेशिनबाट रोक्न तपाईसँग के कस्ता योजना छन भनी प्रश्न गरिरहँदा प्रधानमन्त्री ओलीले तत्काल यो रोक्न कठिन भएको जवाफ दिए। आफूसँग केही दीर्घकालिन योजनाहरु रहे पनि नेपालको आर्थिक अवस्था कमजोर रहुन्जेल नेपाली युवा विदेशिनबाट रोक्न नसकिने प्रधानमन्त्रीको जवाफको सार थियो। कृषिलाई प्राथमिकता दिने, विदेशबाट सीप सिकेर आएका युवालाई स्वरोजगार कार्यक्रममा सहयोग गर्ने, प्राविधिक शिक्षा, सीपमुलक कार्यक्रममा सरकारको प्राथमिकता रहने प्रधानमन्त्री ओलीका दीर्घकालिन योजना थिए। 

सामुदायिक विद्यालयको खस्किँदो गुणस्तर र सरकारले किन अङ्गे्रजी भाषालाई बढी महत्व दिइरहेको भन्ने जिज्ञासा अनिश कोइरालाले राखेका थिए। जवाफमा प्रधानमन्त्री ओलीले सामुदायिक विद्यालयको गुणस्तर खस्किएको स्वीकार गर्दै यसलाई सुधार्दै लैजाने प्रतिबद्धता जनाए। अंग्रेजी भाषाका सम्बन्धमा प्रधानमन्त्री ओलीले घुमाउरो पारामा जवाफ फर्काउँदै नेपाली भाषामा पोक्त हुनका साथै अन्तर्राष्ट्रिय भाषाको समेत ज्ञान हुनुपर्नेमा जोड दिए।

यसरी देशको वर्तमान अवस्थाका जल्दाबल्दा मुद्दामा स्कुले विद्यार्थीले प्रश्न गरी प्रधानमन्त्री ओलीलाई खबरदारी गरेका छन्। प्रधानमन्त्री ओलीले पनि विद्यार्थीमाझ गरेका प्रतिबद्धता चाँडै कार्यान्वयनतिर जोड दिएमात्रै स्कुले विद्यार्थी अर्थात भविष्यका कर्णधारसँगको साक्षात्कार उपलब्धिपूर्ण मानिने छ। 

प्रकाशित: १७ पुस २०७५ १२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App