१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कर्मचारीलाई मदिरा सेवनमा प्रतिबन्ध ! बिक्री गर्नेलाई कारवाही

खोटाङ– कार्यालय समयमा मादक पदार्थ सेवन गरेर बस्ने कर्मचारीलाई कसरी ठेगान लगाउन सकिएला? उत्तर सहज छैन। तर, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा भने बिहान वा कार्यालय समयमा मादक पदार्थ सेवन गरेर सेवा प्रभावित पार्ने कर्मचारी तथा शिक्षकलाई कारबाही गर्ने निर्णय गरिएको छ। कतिपय कर्मचारीले बिहान र कार्यालय समयमा समेत मादक पदार्थ सेवन गर्ने गरेको पाइकाले वडा कार्यालय खार्मीले कारबाही गर्ने निर्णय गरेको हो। वडाभित्र रहेका सरकारी कार्यालयको दैनिक कामकाज तथा सेवा चुस्तदुरुस्त पार्नका लागि मादक पदार्थ सेवनमा कडाई गरिएको वडाध्यक्ष रामचन्द्र राईले बताए। 

कर्मचारी/शिक्षकलाई कार्यालयको काम प्रभावित हुनेगरी मादक पदार्थ सेवन नगर्न आग्रह गर्दै भदौ २६ गते सार्वजनिक सुचना जारी गरेको वडा कार्यालयले स्थानीय व्यवसायीलाई पनि मादक पदार्थ जथाभाबी बिक्री वितरण नगर्न आह्वान गरेको छ। सार्वजनिक सूचनामा मादक पदार्थको प्रयोग नियन्त्रणका लागि बिहान र कार्यालय समयमा मादक पदार्थ बेचबिखन नगर्न स्थानीय व्यवसायीलाई भनिएको छ। वडाको सूचनालाई अवज्ञा गर्दै बिहान र कार्यालय समयमा मादक पदार्थ बेचबिखन गर्ने स्थानीयलाई वडाको सेवा सुबिधाबाट समेत बञ्चित गराइने वडाअध्यक्ष राईले बताए। ‘सबैको निजी जीवन हुन्छ। कार्यालय समयभन्दा बाहिर जे खाओस्, लाओस् हामीलाई मतलव छैन, तर कार्यालय समयमा मातेर काम नगर्न पाइन्न’, वडाध्यक्ष राईले भने, ‘बिहान र कार्यालय समयमा कर्मचारी÷शिक्षकलाई मादक पदार्थ बिक्री वितरण गर्ने व्यापारीलाई समेत कारबाही गर्छौँ।’ 

मादक पदार्थको लत चटक्क छुटाउने सहज उपाय छैन्। लत लागेका व्यक्तीले जुनसुकैबेला मादक पदार्थ सेवन गर्नु आश्चर्य पनि होइन। एक जनाले मादक पदार्थ सेवन गर्दा अन्य स्टाफले हैरानी खेपेका घटना जताततै देखिन्छन्, भेटिन्छन् पनि। वडामा खटिएर आउने कतिपय कर्मचारी बिहानै मादक पदार्थ सेवन गरेर कार्यालय पुग्ने तथा कतिपय कर्मचारी कार्यालय समयमै पशलमा पुगेर जाँडरक्सी पिउने गरेकाले वडा कार्यालय आक्रमक बनेको हो। एक पटक होइन, दुई पटक होइन । पटक–पटक मादक पदार्थ सेवन गर्दै कार्यालयमा पुग्ने र सेवा प्रभाबित पार्नेक्रम दोहोरिरहेपछि सूचना जारी गर्नु परेको वडा सचिव चित्र सुबेदीले बताए। 

कतिपय कर्मचारीलाई सम्झाई–बुझाई गर्दा पनि नभएपछि नैतिक दवाव सिर्जना गर्न लागिपरेको वडा कार्यालयले जनाएको छ। कार्यान्वयन चुनौतीपूर्ण भए पनि सकारात्मक अभियानमा सहयोगका लागि स्थानीयलाई वडा कार्यालयले आग्रह गरेको छ।

प्रकाशित: ९ आश्विन २०७५ १०:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App