७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

सांसद बन्न वामदेवको मरिहत्ते किन?

काठमाडौं - गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित भएपछि नेकपाका नेता (तत्कालीन एमालेका उपाध्यक्ष) वामदेव गौतम उपनिर्वाचनमार्फत संसद्मा जान लागिपरेका छन्। ०७० को निर्वाचनमा जन्मथलो प्यूठानबाट उम्मेदवार बनेका उनी ठूलो मतान्तरले विजयी बनेका थिए। तर बर्दियामा तत्कालीन एमाले र माओवादी गठबन्धनको मत कांग्रेसको भन्दा धेरे हुँदा पनि उनले निर्वाचनमा सफलता प्राप्त गर्न सकेनन्। उनी कांग्रेसका उम्मेदवार सञ्जय गौतमसँग पराजित बनेका थिए। गौतमले यसअघि ०५६ र ०६४ मा पनि निर्वाचनमा हार व्योहोरेका थिए।

निर्वाचन हारेयता गौतमले पुनः सांसद बन्नका लागि झन्डै एक दर्जन प्रयास गरेका छन्। तर उनका प्रयास भने निरन्तर असफल हुँदै गइरहेका छन् । निर्वाचनमा पराजय भोगेपछि गौतमले सुरुमा बर्दिया २ कै माओवादी केन्द्रका सांसद सन्तकुमार थारूलाई राजीनामा गराएर संसद बन्ने प्रयास गरेका थिए।

त्यसका लागि उनले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई साथ लिएर बर्दिया २ मा सांसद बन्ने प्रयास गरेका थिए। सांसद थारू उनलाई पद छोड्न तयार नभएपछि त्यो प्रयास असफल भएको थियो। त्यसपछि उनले दाहालकै सहयोगमा पूर्वी रुकुममा कमला रोकालाई राजीनामा गराएर सांसद बन्न खोजेका थिए तर उनको त्यो प्रयास पनि असफल भयो।

गौतम निर्वाचनमा पराजित भएपछि दैलेखका सांसद रविन्द्रराज शर्माले ठट्टा गदै आफूले ठाउँ छाड्दिने भनेका थिए। वामदेवले भने उक्त कुरालाई साच्चिकै भनेर शर्माको ठाउँमा आफू सांसद बन्ने प्रस्ताव पार्टीमा ल्याएका थिए । पछि शर्माले ठट्टा मात्र गरेको भनेपछि वामदेवको सांसद बन्ने चाहनामा धक्का लाग्यो। दैलेखमा पनि धोका खाएपछि गौतमले डोल्पाका सांसद तथा हाल राज्यमन्त्रीसमेत रहेका धनबहादुर बूढालाई राजीनामा गराएर सांसद उठ्ने तयारी गरेका थिए । बूढा सुरुमा गौतमलाई सांसद पद छाड्न तयार भए पनि उनी मतदाताको विचार बुझ्न जिल्ला जाँदा पार्टी जिल्ला समितिले पार्टी केन्द्रको सहमतिबिना राजीनामा नदिन लिखितरूपमा सचेत गरायो । पार्टीको निर्णयविपरीत राजीनामा गरेमा निर्वाचनमा नसघाउने र पछिसमेत सहयोग नगर्ने पार्टी जिल्ला र मतदाताको चेतावनीपछि धनबहादुरले पनि राजीनामा दिन अस्वीकार गरेका छन्। धनबहादुर २०७० सालमा कमल थापा नेतृत्वको राप्रपाबाट एमालेमा प्रवेश गरेका थिए। उनलाई राजीनमा गराएर सांसद बन्नकै लागि गौतमको पहलमा उनले राज्यमन्त्रीको पद पाएका थिए। बुढालाई दुई वर्षपछि राष्ट्रियसभाबाट सांसद बनाएर विभागीय मन्त्री बनाउने आश्वासनसमेत दिएको स्रोत बताउँछ।

बुढालाई राजीनामा गराएर गौतमलाई सांसद बनाउने प्रस्ताव नेकपाको सचिवालयसम्म पुगको थियो। बैठकमा महासचिव विष्णु पौडेलले प्रस्ताव लगेका थिए भने दाहालले त्यसलाई समर्थन गरेपछि गौतम सचिवालय बैठकमा करिब एक घन्टा बोलेको स्रोत बताउँछ।

वामदेवले आफू सांसद बन्नका लागि नवलपुर २ का सांसद तिलक महतसमक्ष पनि अप्रत्यक्षरूपमा प्रस्ताव गरेका थिए । महतले पनि गौतमको प्रस्ताव अस्वीकार गरेका थिए। त्यसपछि गौतमको नजर आफ्नै जन्मथलो प्यूठानमा परेको थियो। त्यहाँबाट राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई राजीनामा गराएर गौतमले चुनाव लड्न चाहेका थिए। त्यो प्रस्तावलाई राष्ट्रिय जनमोर्चाले लिखित रूपमै अस्वीकृत गरिदियो।

वामदेव गौतमले ललितपुर १ का सांसद नवराज सिलवालाई पनि राजीनामा दिन दबाब दिएको स्रोत बताउँछ । तर सिलवाल पनि गौतमलाई पद छोड्न तयार भएनन्। अन्तिममा गौतमले बाँके ३ का सांसद नन्दलाल रोकायलाई राजीनामा दिन दबाब दिएका थिए। तर रोकायले भने पार्टी नेतृत्वले सामूहिक निर्णय नगरेसम्म आफूले पद नछाड्ने बताइसकेका छन्।

‘पाँच वर्षका लागि जनताको म्यान्डेड बोकेर आएकाले कुनै पनि हालतमा राजीनामा दिन्न,’ रोकायले भने, ‘पाँच वर्षका लागि मलाई नै जनताले जितेर पठाएका हुन्, त्यसैले मैले राजीनामा दिन्न भनिसकेको छु,’ उनले भने आफू प्रतिस्पर्धामा जितेर आएकाले अर्काे व्यक्तिका लागि राजीनामा दिनु जनताका लागि धोका र जवजको मान्यताविपरीत हुने रोकाको भनाइ छ। रोकालाई गत भदौ २९ गते वामदेवका लागि सिट खाली गरिदिन नेकपा (पूर्व एमाले) का उच्च नेताबाट दबाब आएको थियो । ‘मलाई केही नेताहरूले राजीनामा गरिदिनु प-यो भन्ने प्रस्ताव ल्याएका थिए तर मैले राजीनामा गर्दैन भनिसकेको छु,’ रोकायले भने।

बाँकेमा रोकायले पनि सांसद पद छाड्न तयार नभएपछि हाल गौतमको नजर बैतडी–१ मा पुगेको छ। कांग्रेससँग ११ हजार मतान्तरमा विजयी भएका बैतडीका सांसद दामोदर भण्डारीलाई राजीनामा गराएर सांसद बन्न गौतमले पहल गरिरहेको स्रोत बताउँछ। ‘मेरो निर्वाचन क्षेत्रमा कांग्रेससँगको मतान्तरण धेरै भएकाले छलफल भएको हुनसक्छ,’ सांसद भण्डारीले भने, ‘अध्यक्षसहित पार्टीले संस्थागत निणर्य नगरेसम्म पदबाट राजीनामा दिन्न । पार्टीले संस्थागत निर्णय ग-यो भने त्यसलाई मान्नुपर्ने हुन्छ।’

नेकपाका केन्द्रीय तहका एक नेताका अनुसार गौतमले आफू निर्वाचनमा पराजित भएपछि झलनाथ खनाललाई राष्ट्रपति बनाएर इलामबाट आफू निर्वाचन लड्न खोजेका थिए। त्यसबा लागि खनाललाई राष्ट्रपति बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए । तर खनालले बामदेवलाई इलामबाट चुनाव जिरेर आउन मुस्किल भएको बताएपछि वामदेवले खनालाई राष्ट्रपतिमा सिफारिस गर्दा मौन बसेको आरेप लाग्ने गरेको छ । उनको प्रयास यत्तिमै टुंगिएन। गौतमले नेता माधवकुमार नेपाललाई पनि राष्ट्रपतिमा उठ्न आग्रह गरेका थिए । नेपाल राष्ट्रपति भएमा काठमाडाैं २ बाट निर्वाचन लड्ने गौतमको चाहना थियो।

नेता गौतमले पहिलो चरणका प्रयास असफल भएपछि पार्टीले राष्ट्रिय सभामार्फत आफूलाई सांसद बनाउने अपेक्षा गरेका थिए। राष्ट्रियसभामा ल्याउन पार्टी अध्यक्ष केपी शर्मा ओलीले वास्ता नगरेपछि गौतम निराश बनेका थिए। उनले त्यतिबेला पार्टीले आफ्नो मूल्यांकनको कदर नगरेको भन्दै भेट्न आउने नेता कार्यकर्तासँगसमेत गुनासो गरेका थिए । नेता गौतमले आफू निर्वाचनमा हारेपछि श्रीमती तुलसा थापालाई समानुपातिक निर्वाचन प्रणालीमार्फत सभासद बनाएका छन्।

कुनै बेला गौतमसँग निकट रहेका एक नेता भन्छन्, नेता गौतम सत्ता र शक्तिभन्दा बाहिर बस्नै सक्दैनन्। महाकाली सन्धी हुनुभन्दा पहिले गौतम केही समय तत्कालीन एमालेको उपमहासचिव भएर काम गरे। पछि पार्टीभित्र तीव्र गुटबन्दी गरेको भन्दै पार्टीले उनलाई उपमहासचिवबाट हटायो । त्यसपछि उनी महाकाली सन्धी राष्ट्रघाती भएको भन्दै पार्टी फुटाएका थिए।

तत्कालीन एमालेका एक नेता भन्छन्, ‘गौतम उपमहासचिव पदमै रहेका भए पार्टी फुटाउँदैनथे, बरु महाकाली सन्धिको समर्थक बन्थे। पार्टी फुटाएपछि गौतमले तत्कालीन एमालेका नेता माधव नेपाल, केपी ओलीलगायतका नेतालाई राष्ट्रघाती भन्दै सार्वजनिकरूपमै गालीगलौजमा उत्रिएका थिए। उनले एमालेबाट पार्टी फूटाएपछि एमालेका ५२ अपराध भन्दै पर्चाबाजीसमेत गरेका थिए। तर ०५६ को निर्वाचनमा शून्य सिट ल्याएपछि गौतमले आफैले दुत्कारेको पार्टी र नेतासँग पार्टी एकीकरण गरेर एमालेमा फर्किए।’ निर्वाचनमार्फत आफ्नो शक्ति फुस्किएपछि पुनः शक्ति प्राप्तिका लागि नैतिकताको समेत वेवास्ता गरेर वामदेव पार्टीमा फर्किएको अहिले पनि एमाले वृत्तमा चर्चा हुने गर्छ।

बर्दिया लगायतका जिल्लामा उनले ५६ सालमा वितरण गरेका पर्चाको अहिले पनि चर्चा हुने र उनी ०६४ र ०७४ मा बर्दियाबाट पराजित हुनुको एउटा कारण त्यो पनि भएको एमाले नेताहरू बताउँछन्। गौतमले निर्वाचनका बेला पनि प्रचार प्रसारमा बर्दियाका स्थानीय नेता कार्यकर्ताभन्दा पनि किसान महासंघका नेताहरू बर्दिया लगेर गएको एमाले बर्दियाका एक नेताले जानकारी दिए।

प्रकाशित: ८ आश्विन २०७५ ०१:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App