१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारलार्इ कांग्रेस प्रवक्ताकाे प्रश्नः बामदेव गाैतम कहाँबाट चुनाव लड्ने हुन ?

नेपालगन्जमा शनिबार प्रेस युनियन बाँकेले गरेको पत्रकार भेटघाटमा बोल्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा । तस्बिर: अर्जुन/नागरिक

नेपालगन्ज – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारको जनमत खस्किसकेको दाबी गरेका छन्। नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा उनले जनमत खस्किसकेको सरकारलाई समयमै सच्चिन सुझाव दिए। ‘म आग्रह गर्न चाहन्छु, सरकार समयमै सच्चिन तर्फ लागोस्, नत्र सरकारले जनमतलाई बुझ्ने कुनै विधी अपनाओस्,’ उनले भने।

सरकारको जनमत खस्किएको कुराको पुष्टी प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता बामदेव गौतमलाई चुनाव लडाएपछि हुने शर्माले ठोकुवा गरे। नेता गौतम जुनसुकै जिल्लाबाट उम्मेदवार बनेपनि कांग्रेसले आफ्नो उम्मेदवार खडा गर्ने र सोही चुनावबाट सरकारको जनमत खस्किएको पुष्टी हुने जिकिर गरे।

‘अहिलेको सरकारलाई आफ्नो जनमत कति खस्किएको छ भन्ने कुराको प्रमाण त्यो गणीतबाट पनि पुष्टी गराउने अवसर हामी विपक्षीलाई पनि मिल्छ,’ उनले भने, ‘बरु बामदेव गौतम जी कहाँबाट चुनाव लड्ने हो, चाडै क्लियर गरिदिएको भए हामी कांग्रेसलाई पनि तयारी गर्नलाई सजिलै हुन्थ्यो, हामी विजय हासिल गरेर यो सरकारलाई तिमीसँग जनमत खस्किदै गएको छ, सच्चिन तिर लाग भनेर सन्देश पनि दिन चाहन्छौं।’ 

नेकपाको नेतृत्वमा सरकार बनेको ६ महिनामै देशमा शान्ति सुरक्षाको स्थिती खस्किएको प्रवक्ता शर्माले बताए। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना लगायत देशभर दिनहुँजसो बलात्कार, हत्या हिंसाका घटना दोहोरिरहँदा सरकारले अपराधीलाई कानुनी दायरामा ल्याउन नसकेको बताए। 

‘निर्मला पन्तको  न्यायका लागि आमा बुवाले काठमाडौं गएर न्याय खोज्नुपर्याे, त्यहाँको प्रदेश सरकारको छाया देखिएन, निर्दोष मान्छेलाई दोषी भनेर सार्वजनिक गरिन्छ,’ शर्माले थपे, ‘निर्दोषलाई दोषी किन भनियो भनेर प्रर्दशन गर्दा अर्का बालकको हत्या भएको छ, देशभर भएका बलात्कार र हत्या हिंसाका घटनाले के देखाउँछ भने शान्ति सुरक्षाको अवस्था गम्भीर छ, त्यसैले यो बेलामा हामी सम्माननिय प्रधानमन्त्री ज्युलाई यी सबै विषयमा गम्भीर भएर छलफल गर्नुस् भनेर आग्रह गरिरहेका छौं। निर्मलाको न्यायका निम्ति १९ ठाउँमा जनभेला हुँदै गर्दा प्रधानमन्त्री ओलीले आफ्ना कार्यकर्तालाई ‘अरिंगालझै’ जाईलाग्न दिएको अभिव्यक्ति कानुन विपरित रहेको शर्माले टिप्पणी गरे। 

‘सरकारको जनमत खस्किएको कुराको पुष्टी प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता बामदेव गौतमलाई चुनाव लडाएपछि हुनेछ।’

उनले थपे, ‘गहिरोसँग विश्लेषण गर्ने हो भने प्रधानमन्त्रीले अरिंगालझै जाइलाग भनेको अहिले जारी भएको मुलुकी संहिताभन्दा विपरितको अभिव्यक्ति हो, किनभने कहिपनि समाजमा द्धेस फैलाउने अभिव्यक्ति राख्न पाइदैन, आक्रोश फैलाउने अभिब्यक्ति राख्न पाइदैन, हिंसा भड्किने अभिब्यक्ति राख्न पाइदैन।’ मुलुकको नेतृत्व गर्ने प्रधानमन्त्रीको यस्तो शैलीले मुलुकमा समाधान नदिने शर्माले जोड दिए। अर्को प्रसंगमा प्रवक्ता शर्माले संविधान संशोधनको विषयलाई सत्ताको बार्गेनिङ चिप्स बनाइएको बताए। 

‘हिजोका दिनमा नेपाली कांग्रेसले संविधान संशोधनको प्रस्ताव ल्याउँदा राष्ट्रघात भयो भन्ने मित्रहरूले पछि संविधान संशोधन जरुरी ठहर गर्नुभयो, त्यसलाई सत्ताको बार्गेनिङ चिप्स बनाउन तिर लाग्नुभयो, मधेस केन्द्रित दललाई सत्तामा ल्याउनुभयो, संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनु भएन,’ उनले भने, ‘मधेसी, थारु, जनजाति, दलितले उठाएको कुरालाई समाविष्ट गरेर संविधानप्रति अपनत्व बढाएर संविधान बलियो बनाउनुपर्ने कर्तब्य त सरकारको हो, तर सरकारले अपनत्व बढाउँदैन।’

सरकारमा बसेर संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने संसारमा अरु कुनैपनि देश नभएको उनले बताए। ‘मन्त्रीमण्डलमा बसेकै मन्त्रीहरूले, प्रदेशको मुख्यमन्त्रीले देशको संविधान बमोजिमको निर्वाचन लड्ने, संविधान बमोजिम सरकारमा पुग्ने, कालो गाडी चढ्ने, रातो झण्डा फहराउने, अनि संविधान दिवसलाई कालो दिन भनेर मनाउने ?’ शर्माले भने ‘यो गर्दै गर्दा मैले कुनै अमुख दलको आलोचना गर्दिन्, तर यसको चेनअफ कमाण्ड कस्ले राख्ने हो ? कमजोर प्रधानमन्त्रीबाट हुने हो कि बलियो प्रधानमन्त्रीबाट हुने हो, दुई तिहाईको गणितले बलियो हुने हो कि काम गराइको संयोजनको क्षमताले बलियो बन्ने हो। त्यसकारण त्यो सन्र्दभमा पनि सरकार चुकेको अवस्था छ।’

संविधानमार्फत सबैभन्दा पहिला शान्ति, सुरक्षा र त्यसपछि मात्र समृद्धि खोजिने बताउँदै उनले जनतालाई पहिलो कुरा शान्ति सुरक्षा चाहिने स्पष्ट पारे। ‘६–७ महिनामा धेरै समृद्धि भइहाल्छ भनेर सरकारको आलोचना गरिहाल्नुपर्ने म भन्दिन, सरकार भर्खर बनेको छ, समृद्धिको कुनै काम भएन भनेर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आलोचना गरेको छैन।’ तत्कालिन कांग्रेस सभापति स्वर्गिय सुशील कोइरालाको नेतृत्वमा बनेको संविधानलाई वर्तमान सभापति शेरबहादुर देउवाले कार्यान्वयन स्वरुप विभिन्न चरणको निर्वाचन गराएको स्मरण गर्दै प्रवक्ता शर्माले भने, ‘प्रदेशको नामाकरण हुन सकेको छैन, मुख्यमन्त्रीहरूले अधिकार खोसियो भनेर पोखरामा गुनासो गरिरहँदा प्रधानमन्त्रीले बालुवाटारमा आफ्नो बंशको भेला गर्नु के यही हो त संविधान कार्यान्वयन ?’

संविधान कार्यान्वयन गर्ने, संविधानको पालना गर्ने विषयमा सरकारबाट कमजोरी भएको शर्माले जिकिर गरे। ‘संविधानको पालना गर्ने सम्बन्धमा पनि अहिलेको सरकारबाट कमजोरी भएको छ, संविधानको धारा ९१ को उपधारा २ ले भिन्न भिन्नै दलको सभामुख र उपसभामुख हुनुपर्छ भन्ने मान्यता राखेको छ, नेपाली कांग्रेसलाई उपसभामुख पद चाहिएको होइन, कांग्रेसलाई चाहिँदा संविधानको धारा कार्यान्वयन हुनुपर्छ भन्ने नचाहिँदा कार्यान्वयन हुनु हँदैन भन्ने होइन।’ संविधानको पालना गर्न र लोकतान्त्रिक चरित्र प्रस्तुत गर्नमा सरकार चुकेको बताए। यसका लागि सरकारले आफुलाई बदल्नुपर्ने सुझाव दिए। 

समाचार लेखेकै कारण पत्रकारमाथि स्पष्टीकरण र हतकड्डी लगाउनुले सरकार लोकतान्त्रिक चरित्र प्रस्तुत गर्न चुकेको प्रष्ट्याए। आम नागरिकलाई शान्तिपूर्ण पिरोध गर्न पाउने अधिकारबाट कुण्ठित गर्ने, पत्रकारमाथी हस्तक्षेप गर्ने कार्य नेपाली कांग्रेसलाई सह्य नहुने उनको भनाई छ। अर्को प्रसंगमा प्रवक्ता शर्माले संसदको रोष्टम नघेर्दैमा, तोडफोड नगर्दैमा, बन्द हड्ताल नगर्दैमा कांग्रेसलाई कमजोर प्रतिपक्षी भन्न नमिल्ने तर्क गरे। नेपाली कांग्रेस पार्टी आफुलाई रुपान्तरण गर्ने प्रयत्न पनि गरिरहेको उनले बताए। ‘विस्तारै मेडिसिनले काम गर्न लागेको छ, रुपान्तरण भन्ने कुरा क्रमशः हुने हो,’ शर्माले थपे।

प्रकाशित: ६ आश्विन २०७५ १०:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App