४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकार नागरिक अधिकारमाथि हस्तक्षेप गर्दै : कांग्रेस

काठमाडौं - नेपाली कांग्रेसका शीर्ष नेताहरूले केपी ओली नेतृत्व सरकार नागरिक अधिकार कमजोर बनाउन लागिपरेको बताएका छन्। राज्यका सबै अंगलाई कमजोर बनाएर दुईतिहाइ बहुमत प्राप्त नेपाल कम्युनिस्ट पार्टी नेतृत्व सरकार संविधानको चिरहरण गर्न लागि परेको आरोप लगाएका हुन्।

पार्टी नेता विश्वेश्वरप्रसाद (बिपी)कोइरालाको १०५ औं जन्मजयन्तीको अवसरमा आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा नेता रामचन्द्र पौडेलले वर्तमान सरकार लोकतन्त्र र नागरिक अधिकारमाथि हस्तक्षेप गर्न सक्रिय रहेको दाबी गरे। अदालत, संवैधानिक निकाय, कर्मचारीतन्त्रमा सरकारले निरन्तर दबाब खडा गरिरहेको आरोप लगाउँदै पौडेलले भने, ‘सत्ता सञ्चालनमा अप्ठेरो परे नागरिक अधिकार खोज्न सरकार पछि पर्दैन।’

लेनीन र माओले स्थापीत गर्न नसकेको साम्यवाद नेपालका कम्युनिस्टले स्थापित गर्नेमा विश्वास नभए पनि उनीहरू विकृति भने ल्याउने पौडेलको बुझाइ छ। ‘यिनीहरूले साम्यवादमै पु-याउँछन् भन्ने त विश्वास छैन,’ पौडेलले भने, ‘त्यसका विकृति बोकेको नयाँ वर्ग खडा गर्न भने सक्छन्।’

सरकारका अलोकतान्त्रिक गतिविधिलाई कांग्रेसले मात्र रोक्नसक्ने जिकिर गर्दै पौडेलले भने, ‘त्यसका लागि कांग्रेसमा पनि सुधार हुनुपर्छ।’

स्थानीय, प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयपछि पनि पार्टीलाई सुधार गर्नेतर्फ ध्यान नपुगेको स्वीकार गर्दै पौडेलले भने, ‘यिनीहरूले गरिखाने छाँट त छैन। तर कम्युनिस्ट असफल हुँदा कांग्रेस सफल हुन्छ भन्ने छैन । अरु नै शक्ति सफल हुनसक्छन्, त्यसैले कांग्रेसलाई बलियो बनाउन लाग्नुपर्छ।’

कम्युनिस्टहरू संघीयताको पक्षपाती नभएको सुनाउँदै उपसभापति विमलेन्द्र निधिले ओली नेतृत्व सरकार संघीयतालाई कमजोर बनाउन लागिपरेको दाबी गरे। सरकार नागरिक अधिकार, प्रेस स्वतन्त्रता, न्यायपालिकासहित राज्यका अंगमा हस्तक्षेप गर्न सक्रिय रहेको सुनाउँदै उनले भने, ‘सरकार यंविधानलाई कमजोर बनाउन लागि परेको छ । यसले कुनै पनि क्षेत्रमा सकारात्मक संकेत दिनसकेको छैन।’

नेता प्रदीप गिरीले ओली नेतृत्व सरकारको रवैया अधिनायकवादी रहेको आरोप लगाउँदै कांग्रेसले त्यसविरुद्ध उभिनसक्ने सबै राजनीतिक दल र शक्तिलाई साथ लिएर अघि बढ्नुपर्ने तर्क गरे। ‘सरकारको रवैया अलोकतान्त्रिक छ,’ उनले भने, ‘व्यक्तिगत स्वतन्त्रता र स्वायत्तामाथि सरकार आक्रमण भइरहेको छ। त्यसका विपक्षमा भएकालाई साथ लिएर कांग्रेस अघि बढ्नुपर्छ।’

बिपीप्रति आ–आफ्नै दाबी
कांग्रेसका नेताहरूले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाले आत्मसाथ गरेको विचार र सिद्धान्तप्रतिको आ–आफ्नै बुझाइ र व्याख्या गरेका छन्। पार्टी नेता कोइरालाको १०५औं जन्मजयन्ती देशभरि विभिन्न कार्यक्रम गरेर मनाएका कांग्रेस नेता तथा कार्यकर्ताले संघीयता, लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता जस्ता विषयमा बिपीको विचारलाई आफ्नो अनुकूल व्याख्या गरेका हुन्।

संविधानसभाबाट नयाँ संविधान निर्माणको प्रक्रियामा सहभागी नेताहरूले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेर बिपीको विचार साकार बनाएको दाबी गरेका छन्। बिपी कोइरालाको विचारविपरीत कम्युनिस्टसँग मिलेको गुनासोसहितको असन्तुष्टिका आवाजहरू पनि कांग्रेसमा बढ्दै गएको छ।

नेता रामचन्द्र पौडेलले बिपी कोइरालाले २००३/०४ सालमा देखेको सपनालाई कांग्रेसले ०७२ सालमा पूरा गरेको दाबी गरे। बिपीकै सिद्धान्त र विचारअनुसार नै संविधानसभाबाट जारी संविधानमा प्रतिविम्बित भएको जिकिर गर्दै पौडेलले भने, ‘बिीपीको नाम टाँसेर केही साथीहरूले उहाँको विचार सिद्धान्तलाई अन्धाले हात्ती छामे जस्तो गरेर अपव्याख्या गरियो।’

बिपी कोइरालाले कम्युनस्टिसँग मिल्नै हुन्न र राजासँग मिल्नुपर्छ भनेर उनको विचारलाई अपव्याख्या गरेको जिकिर गर्दै पौडेलले भने, ‘१२ बुँदे समझदारी नगरेको भए अहिलेसम्म मुलुकमा के हुन्थ्यो ? त्यसलाई गतल भयो भन्नु राजावादी सोच हो।’ संघीयता, लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता जस्ता विषय बिपी कोइरालाकै आदर्श र सिद्धान्तको अनुशरण गरेको पौडेलले जिकिर गरे।

बीपी कोइराला अग्रगामी नेता भएको सुनाउँदै उपसभापति विमलेन्द्र निधिले भने, ‘संघीयता, लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेसीता, मिश्रीत निर्वाचन प्रणाली बीपी कै विचार र सिद्धान्त हो। कांग्रेसले उहाँ विचार छाड्यो भन्ने अफवा फैलाउन क्रिपया छाड्नुस्।’

कार्यक्रममा नेता प्रदिप गिरीले धेरैथरी मान्छेले बीपी कोइरालालाई नाम भजाएर कांग्रेसलाई बद्नाम गरेको बताए। आफ्नो बारेमा नभएर संधै अरुका विषयमा चिन्ता गर्ने नेताका रूपमा चित्रणगर्दै गिरीले भने, ‘बीपीले व्यक्त गरेको कुरा अठ्याउने होइन व्यक्त गरेको कुरा बुझेर अघि बढ्नुपर्छ।’ कानुनको शासन र नागरिक स्वतन्त्रताको पक्षमा बीपी दृढ रहेको सुनाउँदै उनले भने, ‘उहाँको श्रमको उपयोग र विकासको मोडललाई हामीले सम्झनुपर्छ।’

कांग्रेस नेताहरूले नै बिपी कोइरालाको नाममा स्थापना गरेको संस्थाले आयोजना गरेको कार्यक्रममा २०४६ पछि कम्युनिस्टहरुसँग कांग्रेसले गरेको सहकार्य, नयाँ दिल्लीमा भएको १२ बुँदे समझदारी बिपी कोइरालाको मेलमिलाप नीतिविपरीत भएको दाबी गरेका छन्।

पार्टी नेता कार्यकर्ताको ध्यान सामान्य जनताको पक्षपोषणमा होइन सत्ता र स्वार्थमा केन्द्रीत भयो। पार्टीमा योगदान गरेका इमान्दारले होइन पैसावाल हावी भएको मात्र होइन स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा टिकट किनबेच भएको गुनासो नेता कुलबहादुर गुरुङ, तारानाथ रानाभाटसहितका नेताहरूले गरेका छन्।

बिपीका नाममा दोहन
कांग्रेस संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको नाम विभिन्न व्यक्तिले आपूm अनुकूल दर्जन बढी संस्था स्थापना गरेका छन्। तर तिनै बिपीले स्थापना गरेको पार्टी कांग्रेस भने त्यस विषयमा अनविज्ञ छ । विभिन्न व्यक्तिले संस्था स्थापना गरेर आपूm अनुकूल प्रयोग गरे पनि कांग्रेसले आफ्ना संस्थापक नेताको नाम दुरुपयोग भइरहँदा त्यसलाई रोक्ने प्रयाससम्म गरेको छैन।

पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले बिपी कोइरालाको नाममा के कति संस्था संस्थापना भएको छ भन्ने केन्द्रीय कार्यालयमा कुनै रेकर्ड नभएको सुनाए। ‘केही पहिला पार्टीको अनुमतिबिना बिपीको नाममा संस्था नखोल्न भनिएको हो,’ उनले भने, ‘कोही अनुमति लिन आएको पनि छैन क कसले संस्था खोले कुनै रेकर्ड पनि छैन।’

कांग्रेसले केन्द्रीय कार्यालयका साथै जिल्ला कार्यालयको नाम बिपी स्मृति भवन नाम राखेको छ । बिपी संग्राहलय, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अतिरिक्त बिपी विचार राष्ट्रिय समाज, बिपी चिन्तन प्रतिष्ठान, जननायक बिपी कोइराला मेमोरियल ट्रस्ट, बिपी स्मृति अस्पतालसहित उनको नाम जोडेर विभिन्न संस्था काठमाडौंमा मात्र होइन देशभरि दर्ता छन्।

ती संस्थाले सरकारी अन्य सुविधासमेत लिएर आफ्नो स्वार्थअनुसार त्यसलाई प्रयोग गर्ने गरेका छन्। पार्टीका पुराना नेता रामचन्द्र पोखरेलले आ–आफ्नो इच्छाअनुसार बीपी कोइरालाको नाम संस्था स्थापना भइरहेको बताए। पार्टीका शीर्ष नेताको नाम दुरुपयोग नहोस् भनेर कन्ट्रोल गर्ने संयन्त्र बनाउनुपर्ने सुनाउँदै पोखरेल भन्छन्, ‘अहिलेसम्म कति यस्ता संस्था खुले र त्यसलाई एकीकृत गर्ने पहल हुनसकेको छैन।’

प्रकाशित: २५ भाद्र २०७५ ०१:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App