१६ चैत्र २०८० शुक्रबार
राजनीति

अझै तथ्य खुल्न सकेन, सयजना भन्दा बढीसँग सोधपुछ

उल्टाखाम (कञ्चनपुर) - निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको नयाँ टोलीले अनुसन्धान थालेको दुई साता भएको छ। प्रहरीले निर्मलाको बलात्कार र हत्या कुन ठाउँमा भयो र हत्यामा कतिजना संलग्न थिए भन्नेबारे कुनै तथ्य फेला पार्न सकेको छैन। कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले आफूले अनुसन्धान क्रममा सयजना भन्दा बढीसँग सोधपुछ गरेको बताएका छन्।

‘शंकास्पद कतिपयलाई कागज गराएर छाडेका छौं, कतिलाई सामान्य सोधपुछ गरेर छाडेका छौं,’ उनले भने, ‘शंकास्पद सबैमाथि सबै कोणाबट अनुसन्धान गरिरहेका छौं।’ अहिलेसम्म कुनै ठोस तथ्य खुल्न नसकेको उनले बताए । निर्मलाको शव साउन ११ गते भेटिएको थियो। घटना भएको एक महिनाभन्दा बढी भइसकेको छ। यस अवधिमा धेरै प्रमाण नष्ट भइसकेकाले अनुसन्धानमा जटिलता उत्पन्न भएको उनको भनाइ छ। ‘हामीले वास्तविक घटनास्थल नै हेर्न पाएनौं, कतिजनाले कुल्चे होलान्, कति पानी बग्यो, एक महिना ढिलो हुँदा अनुसन्धान गर्न गाह्रो भएको छ,’ उनले भने। सोधपुछमा रोशनी बम दिदी बहिनीबाट पनि अहिलेसम्म कुनै कुरा खुलेको छैन।

कञ्चनपुरका पूर्वएसपी डिल्ली बिष्टका छोरालगायत शंकास्पद मानिएका सबैसँंग सोधपुछ गरिए पनि कुनै तथ्य खुल्न नसकेको उनी बताउँछन्। ‘एक महिना ढिलो हुँदा धेरै प्रमाण फेला पर्ने कुरा भएन, कसैबाट कुनै सूचना पनि नपाएकाले घटनाबारे तथ्य खुल्न सकेको छैन,’ कडायतले भने। बलात्कार र हत्या घरभित्र भएको हो वा शव भेटिएको ठाउँमा वा त्यसभन्दा अन्य ठाउँमा भनेर पनि खुल्न नसकेको उनी बताउँछन्। अहिलेसम्मको अनुसन्धानले बलात्कार एकजनाबाट मात्र भएको पाइएको उनको भनाइ छ। ‘सामूहिक बलात्कार भए पनि ‘सेक्सुअल इन्टरकोर्स’ मा एकजना मात्र भएको देखिन्छ,’ उनले भने,‘कसैले घाँटी च्यापेको, कसैले हात समातेको पनि हुनसक्छ तर त्यो खुल्न सकेको छैन्।’ तर उनले ढिलै भए पनि दोषी पत्ता लाग्ने विश्वास व्यक्त गरे। ‘ढिलो भए पनि दोषी पत्ता लागेरै छाड्छ,’ उनले भने।

जिल्ला प्रहरी कार्यालयबाहेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एसएसपी ठाकुरप्रसाद ज्ञवालीको टोलीले पनि घटनाको अनुसन्धान गरिरहेको छ। उच्चस्तरीय छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीको टोलीले पनि घटनाबारे अनुसन्धान गरिरहेको छ। मैनालीले छानबिनका क्रममा पाएका जानकारी र सूचना प्रहरीलाई उपलब्ध गराइएको बताए। छानबिन करिब सकिएको र समितिलाई दिएको म्यादभित्रै सरकारलाई प्रतिवेदन बुझाउने उनले बताए। छानबिन क्रममा विभिन्न व्यक्ति र निर्मलाका आफन्तसँग सोधपुछ गरी विभिन्न जानकारी संकलन गरेको उनको भनाइ छ। ‘समय लागे पनि दोषी पत्ता लाग्छ,’ उनले भने। सिबिआइ र जिल्ला प्रहरी टोलीले अनुसन्धान गरिरहेकाले दोषी पत्ता लाग्ने उनको विश्वास छ।

स्थानीय भने प्रहरीले अझै पनि दोषी बचाउन खोजेको हो कि भनेर सशंकित छन्। ‘सुरुदेखि नै प्रहरीले प्रमाण नष्ट गरेर घटना ढाकछोप गरेको छ,’ स्थानीय मोतीकुमार नेपाल भन्छन्, ‘प्रहरीको नयाँ टोलीले पनि अहिलेसम्म कुनै नयाँ कुरा बाहिर ल्याएको छैन, दोषीलाई बचाउने प्रयास अझै भइरहेको शंका छ।’

ऊखुबारीमा शव खोज्न जाँदा तीनवटा फरकफरक खुट्टाको पाइला भेटिएको तर प्रहरी टोलीले त्यसबारे अनुसन्धान नगरेको उनी बताउँछन्। ‘मैले ती पाइलाबारे जानकारी प्रहरीलाई दिन खोज्दा तपाईंले अनुसन्धान गर्न सिकाउनु पर्दैन भनेर उल्टै थर्काए,’ उनले भने। निर्मलालाई खोज्ने क्रममा शव भएको स्थाननजिकै तीनवटा फरक खुट्टाका पाइला भेटिएकाले घटनामा कम्तीमा तीनजना संलग्ना हुनसक्ने उनी बताउँछन्। राति १२ बजेदेखि ३ बजेको बीचमा कुनै घरमा निर्मलाको हत्या गरेर शव उखुबारीमा ल्याएर फालेको हुनसक्ने उनको अनुमान छ। उखुबारीको घँुडासम्म पानी भएको ठाउँमा घोप्टो अवस्थामा निर्मलाको शव भेटिएको थियो।

प्रमाण मेटाउन सुझबुझ तरिकाले त्यहाँ लगेर शव फालिएको निर्मलाका मामा केशव भण्डारी बताउँछन्। ‘घोप्टो अवस्थामा भान्जीको शव फालिएको थियो, प्रहरीले उत्तानो फर्काएर एक खुट्टाको पैतलामा लत्रिएको सुरुवालसमेत निकालेर पखाल्न लगाई प्रमाण नष्ट ग-यो,’ उनले भने। मानसिक सन्तुलन गुमेका दिलीप बिष्टलाई दोषी बनाएर वास्तविक अपराधी बचाउन खोज्ने प्रयास अहिले पनि भइरहेको उनको भनाइ छ।

नागरिक समाजको एक टोलीले बिहीबार प्रमुख जिल्ला अपधिकारी र एसपीलाई भेटेर अनुसन्धान फितलो बनाएर दोषीलाई उम्काउने खेल नगर्न ध्यानाकर्षण गराएको समाजकी शारदा चन्दले बताइन्। साउन १० गते रोशनी बमको घर गएकी निर्मलाको साउन ११ गते उ,खुबारीमा शव फेला परेको थियो। उनलाई बलात्कारपछि घाँटी च्यापेर हत्या गरिएको पोष्टमार्ट रिपोर्टमा उल्लेख छ।

प्रकाशित: २२ भाद्र २०७५ ००:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App