१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

बिमस्टेक सैन्य अभ्यासको निर्णय सच्याउन रावलको माग, कांग्रेसले प्रमसँग जवाफ माग्ने

काठमाडौं– बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)का सदस्य राष्ट्रबीच भारतमा हुने भनिएको संयुक्त सैन्य अभ्यास विवादमा परेको छ। 

यो अभ्यासले चीन र पाकिस्तान जस्ता अन्य मित्र राष्ट्र चिढिने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरिरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेताहरुले असन्तुष्टि जनाएका छन्। झलनाथ खनालदेखि नारायणकाजी श्रेष्ठसम्मले सरकारको यो निर्णयमा पार्टीभित्र असन्तुष्टि जनाएका बेला अर्का नेता भीम रावलले भने सार्वजनिक मञ्चबाटै सैन्य अभ्यासको औचित्यमाथि प्रश्न उठाएका छन्। 

पूर्व गृह तथा रक्षामन्त्री समेत रहेका रावलले मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमार्फत बिम्स्टेक बैठकमा बहुराष्ट्रिय सैनिक अभ्यास गर्ने भनेर गरेको निर्णय सच्याउन सरकारसँग माग गरेका छन्। 

संविधानको मर्मविपरित र राष्ट्रियताको हितविपरित बहुराष्ट्रिय संयुक्त सैन्य अभ्यास गर्ने भनेर गरिएको सहमतिमा सरकारले गल्ती गरेको उनको दाबी छ।

बिम्स्टेक वैठक सम्पन्न गरेकोमा प्रधानमन्त्री, पराराष्ट्रमन्त्री, सम्बन्धित मन्त्रालयलाई धन्यवाद दिँदै रावलले भने, ‘तर केही निर्णयहरु गलत गरिएका छन्, त्यसैले मैले यसको बारेमा बोल्न बाध्य भएको हुँ, संविधानको हित विपरित र पार्टीको नीति विपरित कुनै सम्वाद, छलफल र बहस नगरिकन राष्ट्रियताको हितविपरित यसरी सरकारले निर्णय गर्नुले सरकारात्मक सन्देश दिँदैन्।’

उनले देश र जनताको हित विपरित भए गरिएका कुनैपनि सम्झौताको बिरोधमा बोल्न आफूलाई कतै कसैले रोक्न नसक्ने जिकिर गरे। सरकारले गरेका गलत कार्यमा आलोचना र राम्रा काममा साथ दिन उनले आग्रह गरे।

नेता रावले आफू राजनीतिक शास्त्र र कानूनको विद्यार्थी भएको बताउँदै सम्पन्न बिम्स्टेक बैठकमा सेनापतिको गोप्य बैठक र कुनै पनि छलफल नगरिकन बहुराष्ट्रिय संयुक्त सैन्य अभ्यास देशको हितविपरित रहेको उनले बताए। ‘हाम्रो स्वतन्त्र परराष्ट्र नीति छ, यसैको आधारमा हाम्रो मुलुक अघि बढ्नुपर्छ, सरकारले यस्तो राष्ट्रहितमा आघात पर्ने खालका काममा कुनै छलफल नगरिकन हठाहतमा किन निर्णय गर्यो ? सरकार र सम्बन्धित मन्त्रालयले यसको जवाफ दिनुपर्छ’, उनले माग गरे।

कांग्रेसले प्रधानमन्त्रीसँग जवाफ माग्ने

यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि बिमस्टेक राष्ट्रहरुले गर्ने भनिएको सैन्य अभ्यासबारे सरकारसँग जवाफ माग्ने भएको छ। कांग्रेस नेता मीनेन्द्र रिजालले सैन्य अभ्यास गर्ने विषय गम्भीर भएकाले किन गर्न लागियो भन्ने कारण माग गरिने जानकारी दिए। सैन्य अभ्यासबारे संसदमा प्रधानमन्त्रीसँग जवाफ मागिने र त्यसपछि बल्ल धारणा बनाउने उनको भनाई छ। 

आर्थिक र प्राविधिक सहयोगका लागि गठन भएको विमस्टेक राष्ट्रहरुले किन सैन्य अभ्यास गर्नुप¥यो भनेर रिजालले प्रश्नसमेत गरे। सैन्य अभ्यासका कारण देशभक्तिमाथि आघात पुग्यो भने आफूहरुले स्वीकार गर्न नसकिने चेतावनी पनि रिजालले दिएका छन्। 

भदौ २५ देखि ३१ गतेसम्म भारतको पुणेमा विमस्टेक राष्ट्रहरुले सैन्य अभ्यास गर्दैछन्। सैन्य अभ्यास कार्यक्रमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यान्मार र थाइल्याण्डका ३०/३० सैन्य अधिकारीले सहभागिता जनाउनेछन्।

‘सरकार असफलताको बाटोमा अग्रसर’

कांग्रेस नेता रिजालले अहिलेको सरकार असफलताको बाटोमा हिँडिरहेको जिकिर समेत गरेका छन्। ‘सरकार सफल हुने बाटोमा छैन्। चुनौतीका साथ भन्छु, अहिलेसम्म यो सरकारले के चाँही राम्रो काम गरेको छ, देखाओस्’, रिजालले भने। 

दुई तिहाईको सरकारलाई काम गर्नका लागि अनुकूल वातावरण भएपनि त्यसको सदुपयोग गर्न नसकेको रिजालको तर्क थियो। विकास निर्माण र समृद्धिको क्षेत्रमा सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको रिजालले आरोप लगाए।
सरकारले अदालत, संवैधानिक निकाय, प्रेस, चिकित्सा क्षेत्र लगायतमा अंकूश लगाउन खोजेको रिजालको तर्क छ।

प्रकाशित: १९ भाद्र २०७५ १२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App