१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विमानस्थल विवाद अदालतमा : प्राधिकरणले डोजर लगायो नियम भवनमा

भवन भत्काएको बारे बताउँदै नेपाल वायुसेवा निगम क्षेत्रीय प्रवन्धक मुक्तराम पाण्डे (बिचमा)र निगम कर्मचारी । तस्विर : नागरिक

बाँके– नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्जले राझा स्थित इन्जिनियरिङ भवन डोजर लगाएर भत्काएपछि बिवाद उत्पन्न भएको छ। 

गत मंगलबार राती १० बजे प्राधिकरणले नेपाल वायुसेवा निगम नेपालगन्जको इन्जिनियरिङ भवन भत्काएको थियो। कानुन प्रक्रिया चलिरहेकै बेला नेपालगन्जस्थित नागरिक उड्डयन प्राधिकरण प्रमुख प्रताव वावु तिवारीको निर्देशनमा भवन भत्काएपछि विवाद थप बढेको छ। आफनो भवन, भवनमा रहेको सम्पत्ति र कर्मचारी सुरक्षामा खतरा भएको भन्दै निगम अदालत पुगेको छ। प्राधिकरण प्रमुख तिवारीको कार्यशैलीले विमान स्थलमा निगमको विमान र अन्य सामानको सुरक्षामा चुनौति देखिएको मंगबलार नेपाल वायुसेवा निगमको नेपालगन्ज स्थित क्षेत्रीय कार्यालय प्रवन्धक मुक्तिराम पाण्डेले आरोप लगाए। 

३ कट्टा ३ धुर क्षेत्रफलमा रहेको दुइ भवन ३५ वर्ष अघि वायुसेवा निगमले निर्माण गरेको थियो। हाल उक्त भवनमा इन्जिनियरिङ कार्यालय र महत्वपुर्ण अभिलेख, हेविइक्विपमेन्ट मेसिन रहेको निगमले बतायो।  

भवन खाली गराउनको लागि प्राधिकरण र निगमबिच विवाद भैरहेको बेला मंगलबार राति भवन भत्काइपछि विवाद अदालत सम्म पुगेको हो। अन्तिम टुङ्गो नलागेसम्म  उच्च अदालत नियमावली २०७३ अनुसार असार २५ गते उच्च अदालत तुलसीपुर नेपालले निगमले प्रयोग गरिरहेको भौतिक संरचना तत्कालका लागी नभत्काउनु भनेर आदेश जारी गरेको छ। 

बुधबार पत्रकार सम्मेलन गर्दै क्षेत्रीय प्रवन्धक पाण्डले कानुन प्रक्रिया चलिरहेको बेला दादागिरी शैलीमा भवन भत्काएको आरोप लगाए। ‘नेपालको दुर्गम जिल्लालाई सेवा प्रदान गरिरहेको निगमलाई अप्ठयारो पार्न भवन भत्काइयो। खण्डर जस्तो बनाएर तोडेर राखिएको छ। इतिहासमा पहिलो पटक एउटा सरकारी निकायले अर्को सरकारी निकायको भवन भत्काएको हो। यो नेपालगन्ज प्रमुख प्रताव बाबु तिवारीको अराजकशैली हो’, क्षेत्रीय प्रवन्धक पाण्डले भने, ‘यहाँ कुरा नमिले केन्द्रबाट त्यसको समस्या समाधान गर्न सकिन्छ। हाम्रो मन्त्रालय एउटै हो। दुबै निकायले काम गर्ने भनेको जनताको सुविधाका लागि हो। अचानक राति भवन भत्काउन जरुरी किन प-यो। इन्जिनियरिङ जस्तो महत्वपूर्ण विभाग भएको भवन भत्काउँदा पर्ने असरको बारेमा केहि विचार पु-याइएन।’

राझास्थित प्राधिकरण हाताभित्र रहेको निगमको भवन आफनो भएको भन्दै नेपालगन्ज प्रमुख तिवारीले भवन खाली गराउनको लागि पत्राचार गरेका थिए। तिवारीले निगमलाई पठाएको पत्रमा टर्मिनल भवन बनाउने भनिएको जमिनमा कुनै आधार विना निगमले प्रयोग गरेको भवनमा  यात्री प्रतिक्षालय, चमेना गृह निर्माण गर्ने कार्यका लागि पटक पटक खाली गराउन पत्राचार गरेपनि अटेर गरेको उल्लेख गरिएको छ। उक्त जमिनमा प्रतिक्षालय, चमेना गृह निर्माणको लागि टेन्डर समेत आह्वान भैसकेको तिवारीले निगमलाई जानकारी गराएका छन्। असार १८ गते भवन भत्काउन आवश्यक सहयोग गर्न जिल्ला प्रशासन, जिल्ला प्रहरी र आफनो प्रतिनिधि पठाउनको लागि निगमलाई प्राधिकरणले पत्र पठाएको थियो। तर त्यसको विरुद्धमा निगमले तत्कालको लागि भवन भत्काउन कार्य रोक्न प्रशासन र अदालतलाई अपिल गरेको थियो। अदालतको निर्णय आउनु पूर्व हतारमा तिवारीले भवन भत्काएको नेपाल वायुसेवा निगम नेपालगन्ज क्षेत्रीय कार्यालय वरिष्ठ अधिकृत किरणमान श्रेष्ठ बताउँछन्। 

निगममा अनुसार भवन रहेको जग्गा एैलानी भएको हो। ३५ वर्ष देखी निगमले प्रयोग गर्दै आएकोले निगमले लालपुर्जा पाउने प्रक्रिया अगाडि बढेको छ। श्रेष्ठले भने, ‘हामीसँग लालपुर्जा छैन्। पहिले प्राधिकरणसँग पनि थिएन। अहिले निकालेको भए थाहा भएन। तर मुख्य कुरा निगमको नेपालगन्ज कार्यालयले कसरी दुर्गम क्षेत्रको जनतालाई सेवा दिइरहेको छ। इन्जिनियरिङ भवनले विमानस्थललाई सहयोग गरेको छ भन्ने कुरा बुझनु प-यो। भवन भत्काउँदा हामीलाई सेवा दिन अप्ठयारो भैरहेको छ। तर हामी जसरी भएपनि सेवा रोक्दैनौं। जनतालाई समस्यामा पार्दैनौं।’ श्रेष्ठले अगाडि भने, ‘ग्राउन्ड पावर बिना जहाज उड्न सक्दैनन्। त्यो राखिएको टहरा होस या भवन त्यसलाई भत्काउनु  गैरजिम्मेवारी काम हो। जहाज उड्न नसक्ने अवस्था आउन सक्छ। माथि समन्वय प्रक्रिया भैरहेको बेला हतारमा राति किन डोजर चलाइयो। राती डोजर लाउँदा अन्य दुर्घटना हुन सक्थ्यो। त्यसको जिम्मेवारी कसले लिने।’ 

 

प्रकाशित: २८ असार २०७५ १५:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App