७ वैशाख २०८१ शुक्रबार
राजनीति

काठमाडौं रेल ल्याउन बाटो खुल्यो

चीन म्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा अाेली चिनीयाँ समकक्षी ली खसाजङसँग बिहीबार बेइजिङस्थित ग्रेट हलमा। तस्बिर : रासस

काठमाडौं - नेपाल र चीनबीच विद्युतीय कार्गो रेललाई केरुङबाट काठमाडौंसम्म जोड्ने लगायतका १४ वटा सम्झौता, समझदारीपत्र (एमओयु) र लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बेइजिङमा बिहीबार नेपाल–चीन द्विपक्षीय बैठकपछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा ती सम्झौता, समझदारीपत्र तथा लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको हो। यो सम्झौतासँगै चिनियाँ रेललाई काठमाडौंसम्म ल्याउने बाटो खुला भएको छ।

‘द्विपक्षीय बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली खसाङको उपस्थितिमा दुई देशबीच १४ वटा सम्झौता, समझदारीपत्र र लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ,’ बेइजिङस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। दुई देशबीच ३ वटा सम्झौतापत्र, ७ वटा समझदारीपत्र र ४ वटा लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको हो।

यसअघि बुधबार नेपालको सरकारी निकाय तथा निजी क्षेत्र र चिनियाँ सरकारी निकाय तथा निजी क्षेत्रबीच बेइजिङमा ८ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको थियो। बिहीबार थप १४ वटा सम्झौता, समझदारीपत्र र लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको हो।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच कुल २२ वटा सम्झौता, समझदारीपत्र र लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ। २०७२ सालमा प्रधानमन्त्रीका रुपमा ओलीले चीन भ्रमण गर्दा पारवहन तथा यातायात सम्झौतासमेत गरी १० वटा सम्झौता तथा समझदारीपत्रमा नेपाल र चीनबीच हस्ताक्षर भएको थियो।

नेपाल–चीनबीच बिहीबार रेलवे परियोजनामा सहयोगसम्बन्धी समझदारीपत्र, ऊर्जा क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्र, उत्पादन क्षमताका लागि लगानी तथा सहयोगसम्बन्धी समझदारीपत्र, दुई देशका विदेश मन्त्रालयबीच सहयोग मजबुत बनाउने सम्बन्धी समझदारीपत्र, नेपाल–चीन सहयोग कार्यक्रम र परियोजना कार्यान्वयनमा सहयोग पु-याउन दुई देशका विदेश मन्त्रालयबीच संयन्त्र गठन गर्ने सम्बन्धी समझदारीपत्र, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।

यस्तै, तातोपानीस्थित मितेरी पुलको पुनर्निर्माणसम्बन्धी सम्झौतापत्र, रसुवा पुलको पुनर्निर्माण गर्ने सम्बन्धी सम्झौतापत्र, नेपाललाई मालसामान (कार्गो) ओसारपसार गर्न चीनको स्वशासित क्षेत्र तिब्बतको राजमार्ग प्रयोग गर्न दिइने सम्बन्धी प्रोटोकल, मानव संसाधन विकास सहयोगसम्बन्धी समझदारीपत्र, नुवाकोट दरबार पुनर्निर्माणसम्बन्धी लेटर अफ एक्सचेन्ज, रसुवा, सिन्धुपाल्चोक र दोलखाका सार्वजनिक विद्यालय सुदृढीकरण परियोजनासम्बन्धी लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको थियो।

रेलवे कनेक्टिभिटी सहयोगसम्बन्धी समझदारीपत्रअनुसार चीनले नेपाललाई केरुङबाट काठमाडौंसम्म विद्युतीय कार्गो रेल जोड्न मद्दत गर्नेछ। यसका लागि पहिला दुई देशले संयुक्त रूपमा केरुङ–काठमाडौं जोड्ने रेलसेवाको सम्भाव्यता अध्ययन गर्नेछन्। त्यसपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारी कार्य अघि बढाइनेछ। बिहीबार सम्पन्न नेपाल–चीन द्विपक्षीय वार्तामा सहभागी एक नेपाली सदस्यका अनुसार सम्भाव्यता अध्ययन कार्य २०७५ असोज मध्यसम्म सम्पन्न गर्ने र त्यसको डेढ वर्षभित्र डिपिआर तयार पारिनेछ। त्यसको पाँच वर्षमा केरुङ–काठमाडौं विद्युतीय कार्गो रेलमार्ग निर्माण गर्ने कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

ओलीले प्रधानमन्त्रीका रुपमा २०७२ सालमा चीन भ्रमण गर्दा अन्तरदेशीय रेलसेवा निर्माण गर्ने सम्बन्धी दुई देशबीच समझदारी भएको थियो। त्यतिबेलाको समझदारीअनुसार अहिले समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।

ऊर्जा क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रअनुसार चीनले ऊर्जा क्षमता वृद्धि गर्न नेपाललाई सघाउनेछ। यो समझदारीले ठूला जलविद्युत् परियोजनामा चिनियाँ सहयोग भित्रिनेछ । मितेरी पुल तथा रसुवा पुल पुनर्निर्माणसम्बन्धी सम्झौताअनुसार चीनले रसुवागढी र तातोपानीमा दुईवटा पुल निर्माण गर्नेछ। दुई पुल निर्माणमा लाग्ने सम्पूर्ण खर्च चीनले व्यहोर्नेछ।

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पु-याएपछि बन्द भएको तातोपानी नाका मितेरी पुल बनेपछि सन् २०१९ को मेदेखि सञ्चालनमा आउनेछ। तातोपानी नाका मालसामान ओसारपसारका लागि मात्र खुला गरिनेछ।

नेपाललाई मालसामान (कार्गो) ओसारपसार गर्न चीनको स्वशासित क्षेत्र तिब्बतको राजमार्ग प्रयोग गर्न दिइने प्रोटोकलअनुसार नेपालले तिब्बतको राजमार्ग प्रयोग गर्न ८ वटा प्रवेश विन्दु पाउनेछ। खासगरी वर्षायाममा नेपालभित्रै खाद्यान्न ढुवानी गर्न तिब्बतको राजमार्ग आवश्यक पर्ने भएकाले यो प्रोटोकलमा हस्ताक्षर गरिएको हो। हस्ताक्षरसँगै अब नेपालले हिल्सा, रसुवागढी, रियु तिप्ताला पास (ताप्लेजुङ), टिंकर (दार्चुला), उराहीपास (बझाङ), पुलना हिल्सालगायतको नाकाबाट तिब्बत प्रवेश गर्न पाउनेछ।

नेपाल–चीन सहयोग कार्यक्रम र परियोजना कार्यान्वयनमा सहयोग पु¥याउन दुई देशका विदेश मन्त्रालयबीच संयन्त्र गठन गर्ने सम्बन्धी समझदारीपत्रअनुसार दुई देशबीच एक संयन्त्र गठन हुनेछ। यो संयत्रन्त्रले नेपाल र चीनबीच भएका सन्धि, सम्झौता, परियोजना कार्यान्वयनका लागि समन्वय गर्नेछ।

नेपाल–चीन सहयोग कार्यक्रम र परियोजना कार्यान्वयनमा सहयोग पु¥याउन दुई देशका विदेश मन्त्रालयबीच संयन्त्र गठन गर्ने सम्बन्धी समझदारीपत्र र दुई देशका विदेश मन्त्रालयबीच सहयोग मजबुत बनाउने सम्बन्धी समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीले हस्ताक्षर गरेका थिए। ऊर्जा क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र चीनका राष्ट्रिय ऊर्जा प्रशासनको प्रशासक नुयर बाइकेलीले हस्ताक्षर गरेका थिए।

रेलवे परियोजनामा सहयोगसम्बन्धी समझदारीपत्र र नेपाललाई मालसामान (कार्गो) ओसारपसार गर्न चीनको स्वशासित क्षेत्र तिब्बतको राजमार्ग प्रयोग गर्न दिइने सम्बन्धी प्रोटोकलमा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र चीनका यातायातमन्त्री ली सिआयोपेङले हस्ताक्षर गरेका थिए। मितेरी पुल पुनर्निर्माण गर्ने सम्बन्धी सम्झौतापत्र र रसुवामा पुल निर्माण गर्ने सम्बन्धी सम्झौतापत्रमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र चीनका उपविदेशमन्त्री कोङ सियानयुले हस्ताक्षर गरेका थिए। उत्पादन क्षमताका लागि लगानी र सहयोगसम्बन्धी समझदारीपत्र, मानव संसाधन विकास सहयोगसम्बन्धी समझदारीपत्र, आर्थिक र प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र र सम्पूर्ण लेटर अफ एक्सचेन्जमा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सचिव राजन खनालले हस्ताक्षर गरेका थिए। यी समझदारी तथा लेटर अफ एक्सचेन्जमा चीनका तर्फबाट चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअप्रेसनका अध्यक्ष वाङ सिआओटाओले हस्ताक्षर गरेका थिए।

बिहीबार बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’ मा दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–चीन द्विपक्षीय बैठक भएको थियो। बैठकमा दुई देशको सम्बन्धको समीक्षा गरिएको थियो। ‘बेल्ट एन्ड रोड इनिसिएटिम्स (बिआरआई) सम्बन्धमा भएको समझदारीपत्रअनुसार दुवै पक्ष कनेक्टिभिटी, वाणिज्य, पर्यटन र लगानीका क्षेत्रमा द्विपक्षीय सहयोग बढाउन सहमत भएका छन्,’ नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

रेलवे कनेक्टिभिटी सहयोगसम्बन्धी समझदारीपत्रमा सहमति जुटेकोमा दुवै पक्षले बैठकमा खुसी व्यक्त गरेका थिए। विगतमा नेपाल–चीनबीच भएका सन्धिसम्झौतालाई कार्यान्वयन गर्ने विषयमा दुवै पक्षले सहमति जनाउँदै पारवहन यातायात सम्झौताको प्रोटोकललाई छिटो अन्तिम रुप दिनेमा दुई पक्षले जोड दिएका थिए। बिहीबार बिहान प्रधानमन्त्री ओलीले बेइजिङमा आयोजित ‘नेपाल–चीन मैत्री दौड’ को उद्घाटन गरेका थिए। दौडमा दुई सय नेपाली र चिनियाँ विद्यार्थी सहभागी भएका थिए।

यस्ता छन् सम्झाैता-समझदारी

  •  रेलवे परियोजना सहयोग
  • ऊर्जा क्षेत्रमा सहयोग
  • उत्पादन क्षमता बढाउन लगानी
  • विदेश मन्त्रालयबीच सहयाेग
  •  विदेश मन्त्रालयबीच संयन्त्र गठन
  • आर्थिक र प्राविधिक सहयोग
  • मितेरी पुल पुनर्निर्माण
  • रसुवा पुल पुनर्निर्माण
  • नेपाललाई मालसामान (कार्गो) ओसारपसार गर्न चीनको स्वशासित क्षेत्र तिब्बतको राजमार्ग प्रयोगसम्बन्धी
  • मानव संसाधन विकास सहयोग
  • नुवाकोट दरबार पुनर्निर्माण
  • रसुवा, दाेलखा र  सिन्धुपाल्चोकका सार्वजनिक विद्यालय सुदृढीकरण परियोजना

प्रकाशित: ८ असार २०७५ ०१:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App