१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘चीनसँग सहयोग, सहकार्य र संयुक्त लगानीको ढाँचामा समझदारी गर्छाैं’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तरी छिमेकी चीनसँग सहयोग, सहकार्य र संयुक्त लगानीको ढाँचामा समझदारी गर्ने बताएका छन्।  

सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा चीन भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण नयाँ सम्झौता भन्दापनि अघिल्लो पटक भएका सम्झौता कार्यान्वयनमा केन्द्रीत रहेको सुनाए।

‘अघिल्लो पटकको भ्रमणमा केही दुरगामी (रेल, पारवहन, ट्रान्समिटर) सन्धि सम्झौताहरु भएका थिए, मेरो अहिलेको भ्रमण ति सम्झौता कार्यान्वयनमा केन्द्रीत छ। हाम्रा आवश्यकता बताउँछौं, उहाँहरुले हामीलाई के कस्तो सहयोग गर्न सक्नुहुन्छ त्यसमा छलफल गर्छाैं’, उनले भने– ‘चीनसँग सहयोग, सहकार्य, र संयुक्त लगानीको ढाँचामा छलफल, समझदारी र सम्झौता गर्छौं।’

चीन पूरानो, समस्यारहित तथा सहयोगी भावना भएको मित्र हो भन्दै ओलीले नेपालले चीनका सकारात्मक कदममा साथ दिने बताए। ‘चीनको वन रोड वन बेल्ड अभियानमा नेपालले हस्ताक्षर गरिसकेको छ, त्यसबाट पोर्ट, बन्दरगाह, सडक हवाई मार्ग विस्तार गर्न सकिन्छ। अक्टिकल फाइबर ओछ्याउने काम भइसकेको छ, त्यसलाई प्रभावकारी विषयमा छलफल हुन्छ’, उनले भने– ‘विभिन्न करिडोर तथा नाका खोल्ने विषयमा समझदारी हुने सम्भावना छ, यी यावत प्रसंगहरुमा चीनका राष्टपतिसँग शिष्टाचार भेट हुनेछ र त्यसबेला नेपालका दृष्टिकोण राख्नेछु, सम्बन्ध सुदृढ गर्ने विषय राख्नेछु।’

उनले चीनका प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डल स्तरमा द्धिपक्षीय भेटवार्ता हुने जानकारी गराउँदै व्यापार घाटा नियन्त्रण, रेलमार्ग निर्माण, जलविद्युत आयोजनाहरुमा चिनियाँ सहयोग कसरी जुटाउने, सहकार्य कसरी गर्नेमा छलफल हुने बताए। ‘भ्रमणका अवसरमा रेल्वे, उर्जा र पुनर्निर्माणको सहयोगको सम्बन्धमा समझदारीमा हस्ताक्षर हुनेछ’, उनले भने– ‘चिनियाँ लगानी कसरी भित्र्याउने, पर्यटन क्षेत्र विस्तारलाई ध्यानमा राखेर पर्यटन प्रवर्द्धन गतिविधीमा पनि सहभागी हुनेछु, सम्बोधन गर्नेछु।’

बेइजिङको भ्रमणपछि आफू तिब्बतको राजधानी ल्हासमा भ्रमण गर्ने जानकारी गराउँदै अाेलीले त्यहाँको प्रशासनसँग सीमावर्ती क्षेत्रहरुका सम्बन्धमा कुरा राख्ने बताए।‘मेरो भ्रमणको अवसरमा द्धिपक्षीय छलफल, समझदारी र सम्झौताहरु देशको बृहतर हितमा, राष्ट्रिय स्वाभिमानलाई केन्द्रविन्दुमा राखेर, नेपालको आवश्यकता र प्राथमिकतामा रहेर गरिनेछ’, उनले स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले चीनको संवेदनशीलतालाई पनि नेपालले ख्याल गर्ने बताए। ‘एक चीन नीतिमा प्रतिबद्ध छौं, दृढ छौं। चीनविरुद्धका कुनै पनि गतिविधी नेपालबाट गर्न दिँदैनौं। अरु चासोहरु जो जायज छन, सुन्नेछौं गम्भीर भएर ध्यान दिनेछौं’, उनले प्रतिबद्धता जनाए।

प्रधानमन्त्री अाेली असार ५ देखि १० गतेसम्म चीन भ्रमणमा जाँदैछन्।

प्रकाशित: ४ असार २०७५ ११:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App