नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले पार्टी सभापतिसहितका वर्तमान पदाधिकारीले विश्राम लिई आगामी फागुन २१ गते हुने निर्वाचनको सम्पूर्ण जिम्मेवारी दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई दिनुपर्ने प्रस्ताव राखेका छन्।
पार्टी केन्द्रीय समितिको जारी बैठकमा मंगलबार आफ्नो धारणा राख्दै डा. रिजालले पार्टीको नेतृत्वपंक्तिप्रति जनताको विश्वास गुमेको संकेत गर्दै अब नयाँ ढंगले अघि बढ्नुको विकल्प नरहेको बताए।
‘चार महिनाका लागि पार्टीको सम्पूर्ण जिम्मेवारी दुई महामन्त्रीलाई दिऔँ। टिकट वितरणदेखि चुनाव जिताउनेसम्मको काम उहाँहरूले गर्नुहुन्छ,’ रिजालले भने, ‘चुनाव जिताएर ल्याउनुभयो भने ठिक छ, राम्रो गर्नुभयो भनेर उहाँहरूलाई नै नेतृत्व दिएर तपाईं-हामी बिदा होऔँला। सक्नुभएन भने उहाँहरू बिदा हुनुहुन्छ, अनि फेरि तपाईं ‘बुढाहरू’ आउनुहोला नि !’
पार्टीमा विशेष महाधिवेशनको माग टार्न नसकिने तर्क गर्दै उनले तत्काल प्रक्रिया थाल्न नेतृत्वलाई आग्रह गरे। संस्थापन पक्षको केन्द्रीय समितिमा रहेको बहुमततर्फ संकेत गर्दै उनले व्यङ्ग्यात्मक शैलीमा भने, ‘तपाईंहरू वैशाखमा महाधिवेशनको मिति तोक्नुहोस्, हामी विरोध गरौँला। अनि हामी विशेष महाधिवेशन गर्न लागौँला नि !’
पार्टीभित्रको विवाद र गुटबन्दीले फागुनको निर्वाचन लड्ने अवस्था नरहेको बताउँदै रिजालले हरेक दिन ४५ सय नेता-कार्यकर्तालाई आपसमा लडाएर गाउँ तहसम्मको संगठन ध्वस्त पारिएको टिप्पणी गरे।
पछिल्लो तीन वर्ष आफूलाई किनारा लगाइएको र पार्टीको यो अवस्था आउनुमा को जिम्मेवार हो भनी उनले प्रश्न गरे। ‘पार्टीको यो अवस्थाको जिम्मेवारी लिन कोही तयार नभए म लिन्छु,’ उनले भने, ‘सभापतिबाहेक अरू कसैको दोष छैन भनेर पास गर्ने हो भने त्यसै गरौँ।’
पछिल्ला तीन वर्षमा पार्टी सत्ता स्वार्थ र कारोबारी धन्दामा लागेको आरोप लगाउँदै उनले गठबन्धनको चर्को विरोध पनि गर्ने र गठबन्धन बिना नचल्ने दोहोरो चरित्रले पार्टीलाई कमजोर बनाएको सुनाए।
‘जेन-जी आन्दोलनले दिएको सबक पार्टीले अझै सिकेको छैन,’ रिजालले भने, ‘२०७९ को निर्वाचनको म्यान्डेट हामीले गुमाइसक्यौँ। यदि म्यान्डेट गुमेको हो भने नयाँ म्यान्डेटका लागि तयार होऔँ, होइन भने किन दुईतिर उभिएका छौँ ?’
संविधान र लोकतन्त्र अत्यन्तै साँघुरो गल्लीमा आइपुगेको भन्दै उनले गम्भीर हुनुपर्ने बेला आएको बताए। ‘नेपालको लोकतन्त्र सानो गल्लीमा अडेको छ, संविधान धरापमा छ। त्यसलाई जोगाउने कि गठबन्धनको मोहमा लतारिने ? अब निर्णय गर्नुपर्छ,’ उनले भने।
पार्टीको मौलिकता फर्काउनुपर्नेमा जोड दिँदै रिजालले भने, ‘कांग्रेस जस्तो थियो, त्यस्तै बनाउनु परेको छ, नयाँ बनाउनु पर्दैन। अनुहारमा लागेको दाग पुछे पुग्छ, ऐना पुछेर हुँदैन।’
प्रकाशित: २५ कार्तिक २०८२ २०:११ मंगलबार





