१६ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

रविन्द्रसँग रविले भने- ‘म यिनीहरूसँग लड्ने नै हो’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता रविन्द्र मिश्रले कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्।

मंगलबार भएको भेटपछि नेता मिश्रले सामाजिक सञ्जालमार्फत लामिछाने उच्च आत्मविश्वास र दृढताका साथ आफूविरुद्ध लागेका शक्तिहरूसँग लड्न तयार रहेको सुनाए।

लामिछानेलाई उद्धृत गर्दै मिश्रले लेखेका छन्, ‘म यिनीहरूसँग लड्ने नै हो, दाइ। म त यहाँ आनन्दमा छु। पीडामा त यिनीहरू छन् नि !’

करिब डेढ घण्टा लामो भेटवार्तामा लामिछाने निकै ऊर्जावान् र सकारात्मक देखिएको मिश्रले उल्लेख गरेका छन्।

बाल्यकालदेखिको व्यक्तिगत सम्बन्धबारे चर्चा गर्दै मिश्रले राजनीतिक रूपमा कहिलेकाहीँ घोचपेच भए पनि लामिछानेप्रतिको मानवीय सद्भावमा कहिल्यै कमी नआएको सुनाए।

रविन्द्रले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘धेरै अघि नै मैले भनिसकेको थिएँ, रविको केसलाई तत्कालीन सरकारले जसरी ह्याण्डल गर्‍यो, त्यो पूर्णतः प्रतिशोधबाट प्रेरित थियो। वर्तमान सरकारले प्रतिशोध साँध्ने छैन भन्नेमा म पूर्णरूपले विश्वस्त छु।’

बाल्यकालमा एउटै टोलमा हुर्केको स्मरण गर्दै मिश्रले भेटको सुरुवात र अन्त्य अङ्कमाल गरेर भएको बताए। ‘हाम्रो राजनीतिक बाटो फरक होला तर मेरो धेरैधेरै शुभकामना छ, रवि, तिमीलाई !’

प्रकाशित: २५ कार्तिक २०८२ १९:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App