राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विदेशमा रहेका नेपालीहरूलाई सम्बन्धित देशको नेपाली दूतावासबाटै मतदाता नामावलीमा नाम दर्ता गराउने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।
साथै, हाल जारी मतदाता नामावली संकलनको समयसीमा थप गर्न पनि पार्टीले निर्वाचन आयोगलाई अनुरोध गरेको छ।

मंगलबार रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्यहरू गणेश पराजुली, अशोक चौधरी र शिव नेपाली सम्मिलित टोलीले निर्वाचन आयोग र गृह मन्त्रालयमा छुट्टाछुट्टै पत्र बुझाउँदै यस्तो माग गरेको हो।
निर्वाचन आयोगमा दर्ता गराइएको अनुरोध पत्रमा बायोमेट्रिक दर्ता लगायतका प्राविधिक समस्याका कारण निर्धारित मितिभित्र सबैको नाम दर्ता हुन नसक्ने भन्दै समय थप गर्न माग गरिएको छ।
हाल निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कार्तिक ३० गतेसम्म मतदाता नामावली दर्ता गर्ने मिति तोकेको छ।
तर, दर्ता प्रक्रियामा देखिएको प्राविधिक जटिलता र बढ्दो भीडका कारण धेरै नागरिक मताधिकारबाट वञ्चित हुन सक्ने रास्वपाको चिन्ता छ।
यसैगरी, पार्टीको टोलीले गृहमन्त्री ओमप्रकाश अर्याललाई समेत भेटेर सोही व्यहोराको पत्र बुझाएको छ।
गृह मन्त्रालयलाई बुझाइएको पत्रमा ठूलो संख्यामा रहेका नेपाली युवाहरू रोजगारी वा अध्ययनका सिलसिलामा विदेशमा रहेकाले उनीहरूलाई मताधिकारबाट वञ्चित गर्न नहुने उल्लेख छ।
विदेशमा रहेका योग्य नागरिकका लागि राष्ट्रिय परिचयपत्रका आधारमा वा सम्बन्धित देशमा रहेको नेपाली राजदूतावासमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउने व्यवस्था तत्काल मिलाउन पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ।
विभिन्न देशमा रहेका नेपालीहरूले लामो समयदेखि विदेशबाटै मतदान गर्न पाउनुपर्ने र मतदाता नामावलीमा नाम दर्ता गर्न सहज हुनुपर्ने माग गर्दै आएका छन्।
प्रकाशित: २५ कार्तिक २०८२ १८:०७ मंगलबार





