१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जनकपुरमा तयारी पूरा

जनकपुरधाम – अगामी शुक्रबार नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्रीलाई जनकपुरमा स्वागत तथा अभिनन्दन गर्न आवश्यक सबै तयारी पूरा भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन्। मोदी भ्रमणको तयारी अवलोकन गर्न सोमबार जनकपुर आएका मन्त्री ज्ञवालीले जानकी मन्दिर दर्शन तथा रंगभूमि मैदान बाह्रबिघामा नागरिक अभिनन्दनका लागि प्रदेश सरकार र स्थानीय सरकारले सबै तयारी पूरा गरिसकेको बताए।

‘भारतीय प्रधानमन्त्रीको भ्रमणको लागि जनकपुरमा गर्नुपर्ने सुरक्षा व्यवस्था तथा अन्य औपचारिक तयारी पूरा भएको छ,’ सञ्चारकर्मीसँग उनले भने, ‘जनकपुर विमानस्थलबाट जानकी मन्दिर र बाह्रबिघा मैदानमा आउने बाटो व्यवस्थापनको काम पनि तीव्र गतिमा भइरहेको छ। बुधबारसम्म भौतिक तयारी पनि पूरा गर्ने प्रदेश सरकारले विश्वास दिलाएको छ।’

भारतीय प्रधानमन्त्री मोदी जनकपुरमा अवतरण गर्ने विमानस्थल, जानकी मन्दिर र बाह्रबिघा मैदान, त्यहाँ निर्माण भइरहेको मञ्च तथा पण्डाललगायत तयारी कार्यको अवलोकन गरी ज्ञवालीले प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरू र जनकपुर उपमहानगरपालिकाका प्रमुखसँग छलफल गरेका थिए। भिभिआइपीको भ्रमणका लागि आवश्यक सुरक्षा व्यवस्थापन, स्वागत र सम्मानका लागि अहिलेसम्म पूरा भएको र गर्न बाँकी रहेका तयारीसम्बन्धी कार्य प्रगतिबारे प्रदेश सरकारले मन्त्री ज्ञवालीलाई अवगत गराएका थिए। मोदीको आगमन हुनुभन्दा कम्तीमा दुईदिन पूर्व सबै तयारी पूरा गरिसक्नुपर्ने बाध्यता रहेको बताउँदै ज्ञवालीले यसका लागि मोदीले यात्रा गर्ने सडकलाई दिनरात लगाएर व्यवस्थित गर्न प्रदेश सरकारलाई आग्रह गरे।

प्रदेश सरकार तथा उपमहानगरपालिकाले अभिनन्दन बाहेक मोदीको स्वागतका लागि सबै काम अगामी बुधबारसम्म गरिसक्नुपर्ने भारतीय सुरक्षा निकायको माग छ। मोदीलाई अभिनन्दन गर्ने बाह्रबिघा मैदान तथा जानकी मन्दिर क्षेत्रलाई बुधबारै साँझदेखि सुरक्षा निकायले आफ्नो नियन्त्रणमा लिने जनाइएको छ।

परराष्ट्रमन्त्री ज्ञवालीसँगै नेपाल प्रहरी प्रमुख सर्वेन्द्र खनाल र नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीलगायतको टोलीले जनकपुरमा भइरहेको तयारी कार्यको सुक्ष्म अवलोकन गरेको हो। प्रदेश सरकार तथा उपमहानगरपालिकाले अभिनन्दन बाहेक मोदीको स्वागतका लागि सबै काम अगामी बुधबारसम्म गरिसक्नुपर्ने भारतीय सुरक्षा निकायको माग छ। मोदीलाई अभिनन्दन गर्ने बाह्रबिघा मैदान तथा जानकी मन्दिर क्षेत्रलाई बुधबारै साँझदेखि सुरक्षा निकायले आफ्नो नियन्त्रणमा लिने जनाइएको छ।

मोदीको सुरक्षाको लागि नेपाल प्रहरीले जनकपुरमा डिआइजी ठूले राई नेतृत्वको विशेष टोली परिचालन गरेको छ। जनकपुर विमानस्थल, जानकी मन्दिर र बाह्रबिघा मैदान क्षेत्रमा मात्रै नेपाल प्रहरीको पोशाकसहित कम्तीमा साढे तीन हजारको संख्यामा जनशक्ति परिचालन गर्ने तयारीमा रहेको निमित्त प्रमुख जिल्ला अधिकारी दीपक कर्णले जनाए। यी बाहेक सादा पोसाकका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धानका कर्मचारीसमेत परिचालन गरिने उनले बताए। भारतीय प्रधानमन्त्रीका सुरक्षा टोलीले छुट्टै आफ्नो जनशक्ति परिचालन गरेको छ। सोमबारसम्म करिब पाँच सयको संख्यामा भारतीय सुरक्षाकर्मी परिचालन भइसकेको स्रोतले जानकारी दियो। उनीहरूले सादा पोसाकमा सुरक्षासम्बन्धी चुनौती अध्ययन गरिरेहेको बुझिएको छ।

भ्रमण पूर्व तथा सो अवधिका लागि अति चुस्त अवस्थामा सुरक्षा तयारी मिलाउन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफंै सक्रिय छन्। उनी पछिल्लो एकसातामा चारपटक जनकपुर आइसकेका छन्। सोमबार प्रदेश तथा जिल्लास्तरीय सुरक्षा संयन्त्रलाई प्रहरी महानिरीक्षक खनालले सुरक्षा तयारीबारे निर्देशन गरेको निमित्त प्रजिअ कर्णले बताए। ‘जनकपुर नगरक्षेत्रलाई सुरक्षा घेराभित्र राख्न करिब १० हजारभन्दा बढी संख्यामा प्रहरी परिचालन गरिनेछ,’ कर्णले नागरिकसँग भने, ‘मोदीले यात्रा गर्ने सडक (विमानस्थल–जानकी मन्दिर–बाह्रबिघा) मा मात्रै साढे तीन हजारको संख्यामा नेपाल प्रहरीको पोसाकमा प्रहरी परिचालन गरिँदैछ।’

मोदीलाई अभिनन्दन गर्न प्रदेश सरकारले बाह्रबिघा मैदानमा एक करोड २६ लाख लागत पर्ने मञ्च तथा अभिनन्दन समारोहमा सहभागी हुनेका लागि पण्डालको निर्माण गर्दैछ। युद्धस्तरमा निर्माणकार्य जारी रहेको मञ्च तथा पण्डाल बुधबारसम्म तयार भइसक्ने प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्रीसमेत रहेका मञ्च व्यवस्थापन समिति संयोजक जितेन्द्र सोनलले बताए। ‘बुधबारसम्म मञ्च निर्माण कार्य पूरा गरी सुरक्षाकर्मीलाई हस्तान्तरण गरिसक्ने हाम्रो योजना छ,’ सोनलले भने।

मोदीको अभिनन्दन समारोहमा बढीभन्दा बढी सहभागिताका लागि प्रदेश सरकारले सांसदहरूलाई जिल्लामा परिचालन गरेका छन्। प्रदेशका सबै जिल्लाबाट सरकारले नै यातायातका साधनको व्यवस्थागरी कार्यकर्ता ओसार्न लागेको एक सांसदले बताए। मोदीको स्वागत र सम्मानका लागि जतिसक्दो बढी संख्यामा उपस्थिति आवश्यक रहेको बताउँदै संघीय समाजवादी फोरमका सांसद कौशलकुमार यादवले भने, ‘समारोहमा सहभागिताका लागि आठवटै जिल्लाबाट कार्यकर्ता परिचालन गर्न सरकारले पूर्वतयारी गरेको छ।’

यसैबीच नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पनि मोदीलाई जनकपुरमा स्वागत तथा अभिनन्दन गर्न सम्पूर्ण पार्टी कार्यकर्तालाई आग्रह गरेका छन्। ‘मोदीजीको स्वागतका लागि शुक्रबार प्रदेशका सबै जिल्लाबाट जिल्ला तथा गाउँ÷नगर कमिटीका नेता कार्यकर्तालाई सहभागी हुन मेरो आग्रह छ,’ स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै निधिले भने। भर्खरै पार्टी उपसभापतिमा चयन भएका निधि तरुण दलका धनुषा अध्यक्ष पंकज महतोको वैवाहिक समारोहमा भाग लिन जनकपुर आएका हुन्।

प्रकाशित: २५ वैशाख २०७५ ०१:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App