प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण टोलीमा गएकाहरू नफर्किएको हल्लाले अहिले सामाजिक सञ्जाल पिटेको छ। पछिल्लो केही दिन सामाजिक सञ्जालमा चलेको यो हल्ला मंगलवार प्रतिनिधिसभामा समेत प्रवेश भयो।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) कि सांसद सोविता गौतमले आकस्मिक समयमा बोल्दै भिजिट भिसामा भइरहेको मानव तस्करीबारे पार्टीको धारणा राख्ने क्रममा सो विषय पनि कोट्याएकी थिइन्।
‘स्वयं प्रधानमन्त्रीज्यू जानुभएको स्पेनको कार्यक्रममा समेत सहभागी हुने बहानामा गएर नफर्किएको भन्ने समाचारहरू पनि आइरहेका छन्,’ सांसद गौतमले भनिन्, ‘यसमा व्यक्ति विशेष हाम्रो केही आरोप छैन । तर यो अत्यन्तै गम्भीर विषय हो ।’
प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको ‘विकासका लागि वित्त’ विषयक सम्मेलनमा सहभागी हुन असार १४ गते स्पेन गएका थिए। स्पेनबाट उनी २० गते स्वदेश फर्किएका थिए।
सोही भ्रमणका क्रममा प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण दलमा गएका व्यक्ति नफर्किएका हल्ला सामाजिक सञ्जालमा चलिरहेका छन्।
यही विषयलाई लिएर रास्वपा सांसद गौतमले संसदमा समेत कुरा उठाएपछि प्रधानमन्त्री ओलीको सचिवालयले स्पेन गएकामध्ये को नफर्किएको हो ? भनेर नाम बताइदिन आग्रह गरेको छ।
‘यसबारे म तपाईँ(नागरिक न्युज)लाई एक सुची पठाइदिन्छु। यो सुचीमा समेटिएका नाम नै मन्त्रिपरिषद्ले स्पेन भ्रमणका लागि स्वीकृत गरेको प्रतिनिधिमण्डल हो,’ नागरिक न्युजसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईँले भने, ‘त्यो सुचीमा भएको को फर्किएनन् ? भनेर माननीय सोविता गौतमलाई पनि तपाईँमार्फत सोध्न चाहन्छु।’ त्यसपछि उनले एक सूची पठाए।
प्रधानमन्त्रीको सचिवालयले पठाएको सुची

यो सुचीमा भएकामध्ये नफर्किएको व्यक्ति छुट्याउन उनले सांसद गौतमलाई चुनौती दिए । ‘आफ्ना फेसबुकमा भएका गुरिल्लाहरूका लागि कन्टेन्ट बनाउन मात्र संसद्को समय दुरुपयोग नगर्नुस्,’ सांसद गौतमलाई बजगाईँले सुझाव दिँदै भने।
प्रधानमन्त्री ओलीले उपलब्ध गराएको सुचीमा भ्रमण दलमा प्रधानमन्त्रीसहित २८ जनाको नाम छ।
प्रकाशित: २४ असार २०८२ १५:०८ मंगलबार





