१४ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

एमाले सांसद थापाले 'अलोकतान्त्रिक' तर्क गरेको रास्वपाको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विजय जैरूले नेकपा (एमाले) का सांसद सूर्य थापाले 'अलोकतान्त्रिक' तर्क गरेको आरोप लगाएका छन्।

सोमबार (आज) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको पक्षमा जारी राखेको हस्ताक्षर अभियानलाई ‘नाटकीय’ भनेका थिए। यसको जवाफ दिँदै नेता जैरूले थापाले अलोकतान्त्रिक तर्क गरेको आरोप लगाएका हुन्।

‘शक्ति पृथकीकरणको नाममा जनताले प्रश्न उठाउने, हस्ताक्षर गर्ने अधिकार खोस्नु लोकतन्त्रको आत्मा मर्नुसरह हो। याद रहोस्, यसले मनपरी, दण्डहीनता र सत्ताको निरंकुशतालाई प्रोत्साहन दिरहेको छ। संविधानले शक्ति सन्तुलनको व्यवस्था गरेको हो, न कि जनआवाज दबाउने औजार बनाएको। यो तपाईंको तर्क अलोकतान्त्रिक भयो,’ उनले भनेका छन्।

उनले अगाडि भनेका छन्, ‘शक्ति पृथकीकरणको नाममा प्रतिशोध विरुद्धको हस्ताक्षर गराउन नपाउने भनाइ लोकतान्त्रिक प्रक्रियालाई कमजोर पार्ने प्रयास हो। जब सत्ता दुरुपयोग हुन्छ, अन्याय हुन्छ, तब जनताको प्रतिनिधि वा आवाज उठाउने व्यक्तिलाई मौन बस्न बाध्य बनाउने यो सोच नेपाली जनतको लागि घातक हो।‘

रास्वपाले पार्टी सभापति लामिछानेको पक्षमा हस्ताक्षर अभियान जारी राखेको छ। रास्वपाले लामिछानेका प्रति ‘राजनीतिक प्रतिशोध’ साँधिएको रूपमा व्याख्या गर्ने गरेको छ। त्यसका विरुद्ध हस्ताक्षर अभियान चलाएको रास्वपाले जनाएको छ।

तर, खासगरी नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका दलहरूले त्यसको विरोध गरेका छन्। सम्बन्धित मुद्दा अदालतबाट नटुङ्गिँदै यस्ता खाले गतिविधि गर्न नहुने उनीहरूले तर्क गर्दै आएका छन्। आजको बैठकमा थापाले यही कुरा दोहोर्‍याएका थिए।

प्रकाशित: २३ असार २०८२ २०:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App