४ श्रावण २०८२ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसले भन्यो: हामीले दुवै काँध थाप्दा पनि सरकारले गति लिन सकेन

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अपेक्षित गति लिन नसकेको भन्दै असन्तुष्टि जनाएको छ।

पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कांग्रेसले सरकारलाई दुवै काँध दिएर पूर्ण समर्थन गर्दा पनि कार्यसम्पादन सुस्त रहेको टिप्पणी गरेका हुन्।

शनिबार काठमाडौंमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै विश्वकर्माले सरकारको गतिप्रति पार्टी सन्तुष्ट नरहेको स्पष्ट पारे।

‘कांग्रेसले एउटा मात्रै काँध होइन, दुईवटै काँध थापिदिएको छ। तर, सरकारले भनेजस्तो गति पक्रिन नसकेको कुरा मैले ढाकाछोप गर्न सक्दिनँ। गति पक्रिन सकेको छैन,’ उनले भने।

यद्यपि, विश्वकर्माले कांग्रेस तत्काल सरकार परिवर्तनको पक्षमा नरहेको स्पष्ट पारे। उनले सरकार बदल्नेभन्दा पनि सरकारको कार्यशैली र कार्यसम्पादनमा सुधार हुनुपर्नेमा पार्टीको जोड रहेको बताए।

‘अहिले हामी सरकार बदल्ने भन्दा पनि सरकारको कार्यशैली बदल्नुपर्छ भन्ने निष्कर्षमा छौँ,’ उनले भने, ‘त्यही निष्कर्षको आधारमा केन्द्रीय समितिको बैठक चलिराखेको छ। हामी सरकारको कार्यसम्पादनबारेमा समीक्षा गर्दैछौँ र नागरिकका असन्तुष्टिलाई पनि हामीले बैठकमा छलफल गरेका छौँ।’

नेता विश्वकर्माले सरकार जनताको टुटेको विश्वासलाई जोड्ने गरी अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनले सुशासनको सम्बन्धमा भने भर्खरै केही सरलता र सुगमता आएको स्वीकार गरे।

प्रकाशित: २१ असार २०८२ १८:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App