नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइराला नभएको भए नेपालमा गणतन्त्र नआउने दाबी गरेका छन्। शनिवार जय नेपाल फाउन्डेसनले गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
‘जहाँसम्म गिरिजाप्रसाद कोइराला कुरा गर्दाखेरी उहाँ धेरै लडाकु व्यक्ति हो,’ देउवाले भने, ‘उहाँ नभएको भए आज गणतन्त्र आउने नै थिएन। त्यस्तो आँटिलो व्यक्ति हो। हिम्मतिलो व्यक्ति हो।गणतन्त्र आउँछ कसैले सोचेकै थिएन।’
पहिलो संविधान सभाबाट संविधान नबने पनि गिरिजाप्रसाद कोइरालाकै कारण पहिलो संविधान सभाको पहिलो बैठकबाटै गणतन्त्र पारित भएको सभापति देउवाले बताए।
‘त्यसकारण गणतन्त्र ल्याउने पहिलो श्रेय उहाँलाई नै जान्छ। उहाँले ल्याउनुभएको हो,’ उनले भने।
यस्तै संघीयता ल्याउने श्रेय पनि कोइरालालाई नै जाने देउवाले बताए।
प्रकाशित: २१ असार २०८२ १७:२३ शनिबार





