१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
राजनीति

६१ किलो सुन प्रकरण: राजनीतिक आडमा अमलालाई उन्मुक्तिको प्रयास

सुन तस्करी प्रकरणमा मुछिएका राजनीतिक व्यक्तिहरुले उन्मुक्ति पाउने क्रमसँगै अमला रोकालाई छाडिएको छ । 

त्रिभुवन विमानस्थलबाट बरामद भएको करिब ६१ किलो सुन तस्करी प्रकरणमा मुछिएकी अमला रोकालाई अदालत र प्रहरी दुवैले छाडिदिएको छ । जिल्ला अदालत काठमाडौंले २ लाख धरौटीमा छाड्न आदेश दिए लगत्तै सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेकी अमलालाई प्रहरीले पनि हाजिर जमानीमा छाडिदिएको हो । माओवादीका नेताहरु कृष्णबहादुर महरादेखि सुन प्रकरणमा मुछिएका सबैले कुनै न कुनै कारण देखाएर उन्मुक्ति पाउँदै आएका छन् । यो अमलाको हकमा पनि लागु हुने देखिएको छ ।

वर्षमान पुनका कान्छा भाइ प्रनिश पुन मगर सुन तस्करीमा पक्राउ परी पुर्पक्षमा रहेका दावा छिरिङको गिरोहका व्यापारिक साझेदार रहेको खुलेको भएपनि उनीमाथि अनुसन्धान नै भएन ।  पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन लगायतसँग निरन्तर सम्पर्क देखिएको थियो । केही छिटपुट बाहेक सुन तस्करीको अनुसन्धानमा सरकारले आलटाल गरिरहेको हुन्छ ।

कारबाहीका लागि पनि सरकारी निकाय उदासीन देखिएका छन् । सुन तस्करी प्रकरणमा २३ महिनासम्म फरार रहेकी अमलालाई प्रहरीले शुक्रबार पक्राउ गरेको जनाएको थियो । आइतबार थुनछेकका लागि अदालत लगिएको भएपनि सोमबार २ लाख धरौटीमा रिहा भएकी थिइन ।

विमानस्थलबाट ब्रेक सुमा राखेर सुन तस्करी अभियोगमा उनलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा बुझाइएको थियो । अदालतले धरौटीमा छाड्ने आदेश दिए लगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआइबी०को टोलीले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरेर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जिम्मा लगाएको थियो ।

विभागले सोमबार नै रोकालाई सामान्य हाजिरी जमानीमा छाडेर उन्मुक्ति दिन खोजेको छ । माओवादी निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चकी पूर्व उपाध्यक्षसमेत रहेकी रोकालाई असार ६ मा सिआइबीले काठमाडौंको टोखाबाट पक्राउ अदालतमा बुझाएको थियो ।

२०८० साउन २ गते विमानस्थलबाट छुटी आएको सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।  सुनको अनुसन्धान सुरु भएपछि माओवादीका प्रभावशाली नेताहरूसँग अमला रोका र उनका पति दावा छिरिङको बाक्लो सम्पर्क देखिएको थियो । खास गरी  पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनसँग अमलाको निकट सम्बन्ध देखिएको थियो । सुनको अनुसन्धान सुरु भएदेखि नै अमलालाई पुनले भगाएको आरोप लाग्दै आएको थियो ।  उनका पति दावा छिरिङ  पक्राउ गर्ने क्रममा सँगै रहेकी अमलालाई त्यहीबाट भाग्ने मौका दिइएको स्रोतको दाबी छ ।

पछिल्लो पटक भने रोका काठमाडौंमा माओवादी नेताकै घरमा लुकेर बसेको अवस्थामा फेला परे पनि यसलाई प्रहरीले बाहिर ल्याउन सकेको छैन । उनी अनुसन्धानकै क्रममा फरार भएपछि सीआइबीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेर खोजी गरेको थियो । सुन तस्करी प्रकरणमै उनका पति दावा छिरिङ अदालतको आदेशबमोजिम हाल पुर्पक्षका लागि थुनामा छन् ।

अमला रोका फरार रहेकै अवस्थामा सीआईबी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २९ जनालाई प्रतिवादी बनाएर ३ अर्ब ५० करोड ३० लाख ९१ हजार ९ सय ७५ रुपैयाँ बिगो कायम गरी ३१ भदौ २०८० मा मुद्दा दायर गरेको थियो ।

सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगबाट समेत अमलालाई उन्मुक्ति दिएको पाइएको छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार दावालाई दोषी देखाएर अमलालाई उन्मुक्ति दिइएको हो। वंशजको आधारमा नेपाली नागरिकता लिएका दावाले बाङ्लादेशी र पाकिस्तानीलाई समेत नागरिकता र राहदानी दिलाएका छन् ।

प्रकाशित: १० असार २०८२ १४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App