गण्डकी प्रदेशका नेकपा माओवादी केन्द्रका एक सांसदले रोष्ट्रममै गण्डकी प्रदेशको बजेट पुस्तिका च्यातेका छन् । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२-८३ का लागि ल्याएको बजेट असमान ढंगले ल्याएको भन्दै म्याग्दी (ख)बाट निर्वाचित सांसद रेशमबहादुर जुग्जालीले रोष्ट्रममा बोल्ने क्रममा बजेट पुस्तिका च्यातेका हुन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि धारणा राख्न रोष्ट्रममा पुगेका उनले बजेटमा म्याग्दीलगायतका जिल्लामाथि अन्याय गरेको टिप्पणी गरे । मुख्यमन्त्री र अर्थमन्त्रीले आफ्नो जिल्लामा मात्रै बजेट खन्याएको आरोप लगाउँदै उनले भने,'बजेटमा लगातार दुई वर्ष म्याग्दीलाई अन्याय भएको छ, अहिलेको बजेट म्याग्दीलाई कुनै अर्थ नभएको हुँदा सभामुखको अनुमतिले च्यात्न चाहन्छु, धन्यवाद ।’
म्याग्दीमा साढे तीन करोडको मात्र नयाँ योजना छानिएको तर त्योपनि कांग्रेस र एमालेले छानेको योजना परेको बताए । म्याग्दीको समस्या र अवस्था अर्थमन्त्री र भौतिक मन्त्रीलाई थाहा नभएकाले बजेट नछुट्याएको हुनसक्ने भन्दै उनले दुबैजना मन्त्रीलाई म्याग्दी लगेर घुमाउने बताए । 'म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म म अर्थमन्त्री र भौतिक मन्त्रीलाई घुमाउन चाहन्छु, त्योपनि आफ्नै खर्चमा,’ उनले व्याङ्ग्यात्मक शैलिमा भने । उनले बजेट भौतिक मन्त्रीलाई अझै नपुगेको हुनसक्ने भन्दै म्याग्दीमा परेको बजेटपनि फिर्ता लैजान चुनौति दिए ।
प्रदेश सभा सदस्य जुग्जालीले अहिलेको बजेट सगरमाथा हिंड्न खोजेको तर हिन्द महासागरतिर पुगेको टिप्पणी गरे । गण्डकीको बजेटमा देवी देवताको मन्दिर र धामका लागि धेरै बजेट छुट्याएकोतर्फ कटाक्ष गर्दै उनले भने,'बजेटबाट सबैभन्दा बढी देवीदेवता खुसी भएको हुनसक्छ ।’
गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि ३१ अर्ब ९७ करोडको बजेट ल्याएको छ । जसमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई पुँजीगततर्फ ११ अर्ब ४८ करोड ३५ लाख रुपैयाँ छुट्याइएको छ । त्यसमध्ये धेरै बजेट जिल्लामा रहेका पूर्वाधार विकास कार्यालयबाट कार्यान्वयन हुन्छन् । मन्त्रालय मातहतको पूर्वाधार विकास निर्देशनालय, यातायात व्यवस्था र सहरी विकास तथा भवन कार्यालयबाट कार्यान्वयन हुन्छन् ।
प्रकाशित: ९ असार २०८२ १९:५१ सोमबार