नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कुनै बेला कांग्रेसको बलियो किल्ला मानिने तनहुँमा अहिले संगठन कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्।
तनहुँ-१ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेको जिततर्फ सङ्केत गर्दै उनले पार्टीको अवस्थाबारे गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको बताए।
नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले भने, ‘विगतमा नेपाली कांग्रेसको बलियो साङ्गठनिक जिल्लाका रूपमा तनहुँ थियो, तर अहिले त्यस्तो अवस्था छैन। यसतर्फ सबै नेता-कार्यकर्ताले सोच्नुपर्ने बेला आएको छ।’
नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि जिल्लाको परिस्थिति बदलिएको उल्लेख गर्दै उनले अब तनहुँको नेतृत्वले नयाँ ढंगबाट पार्टीलाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए।
डा. कोइरालाले पार्टीभित्र कार्यकर्तामा गहिरो निराशा छाएको र त्यसलाई आशामा बदल्नु अहिलेको मुख्य चुनौती भएको बताए।
‘पार्टी विधानबमोजिम चलेको छैन। भ्रातृ संस्थाका अधिवेशनहरू समयमा भएका छैनन्। महाधिवेशन पनि निर्धारित समयमा हुन्छ कि हुँदैन भन्ने आशंका छ।’ उनले भने।
पार्टीलाई विधानसम्मत चलाउन आफू लागिपरेको बताउँदै उनले २०८३ मंसिरभित्रै महाधिवेशन सम्पन्न गर्न देशभरका कार्यकर्ताले नेतृत्वलाई दबाब दिनुपर्नेमा जोड दिए।
‘पार्टीको महाधिवेशन जति लम्बिँदै जान्छ, यसले पार्टीलाई फाइदा गर्दैन। २०८४ को आम निर्वाचनअघि महाधिवेशन हुनैपर्छ,’ उनले भने।
उनले भ्रष्टाचार र कुशासनले मुलुक पछाडि परेको भन्दै सरकारले निर्ममतापूर्वक काम गर्नुपर्ने र दैलेखमा भेटिएको ग्यास खानीको सही सदुपयोग हुनुपर्ने धारणा राखे।
प्रकाशित: ८ असार २०८२ २०:४४ आइतबार