प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको सुशासन र विकासका लागि सुर्खेतदेखि खाली खुट्टै हिँडेर काठमाडौं आएका अभियानकर्मी नवराज बोहराको अभियानलाई सकारात्मक भन्दै प्रशंसा गरेका छन्।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले बोहराको अभियान ठीक रहेको बताउँदै यसलाई सही ढंगले अघि बढाउन शुभकामना दिए।
गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहरा ३१ दिनमा काठमाडौं आइपुगेका थिए। भेटका क्रममा उनले प्रधानमन्त्री ओलीलाई आफ्नो यात्राको उद्देश्य र कर्णालीका समस्याबारे अवगत गराउँदै ज्ञापनपत्र बुझाएका थिए।
आफू खाली खुट्टा हिँड्नुको कारणबारे बोहराले भने, ‘हामी दैलेख र कालीकोटको सिमानामा रहेको महावु लेकमा पशु र प्रकृतिको सुस्वास्थ्यको कामना गर्दै खाली खुट्टा पूजा गर्न जान्थ्यौं। त्यसैको सिको गर्दै मैले खाली खुट्टै अभियान थालेको हुँ। मेरो यो यात्रा पनि कसैको विरोधमा नभई कर्णालीको प्रकृति, संस्कृति र पहिचान बचाउनका लागि हो।’
उनले आफ्नो यात्रा कर्णालीमा रहेका अनियमितता र भ्रष्टाचारविरुद्ध भएको बताउँदै बबई डाइभर्सन, ग्यास र बिजुली जस्ता विकासका आयोजना तत्काल बन्नुपर्नेमा जोड दिए। साथै, रारा ताल वरिपरि पदमार्ग बनाउँदा स्थानीय ढुंगा प्रयोग गरेर पर्यावरण जोगाउन सकिने सुझाव पनि दिए।
बोहराका कुरा सुनिसकेपछि प्रधानमन्त्री ओलीले उनको अभियानको प्रशंसा गरे। ‘तपाईंको कुरा एकदम राम्रो छ। विकास गर्दा वातावरण, इकोसिस्टम सबै मिलाएर चल्नुपर्छ। विकासले वातावरण बिगार्नु भएन,’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईंले गरेको अभियान ठीक छ, त्यसलाई ठीक ढंगले लानुस् भन्ने मेरो शुभकामना छ।’
उनले सरकार सुशासन, भ्रष्टाचार नियन्त्रण र कमिसनतन्त्रको अन्त्यका लागि प्रतिबद्ध रहेको आश्वासन दिए।
भेटपछि बोहराले आफू खुसी भएको र आफ्नो पहिलो चरणको अभियान सफल भएको बताए। ‘एकदमै खुसीको कुरा हो। म चाहिँ यो पहिलो चरण सफल भएको मान्छु। मैले भोगेका र देखेका कुराहरू सुनाउन यहाँ आइपुगें,’ उनले भने, ‘अब म आफ्नो क्षेत्रमा फर्किएर अनियमितता र भ्रष्टाचारविरुद्धको अभियान जारी राख्छु।’
प्रकाशित: ८ असार २०८२ १८:५१ आइतबार

