राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले सरकारले प्रतिपक्षीको आवाज नसुनेकाले आफूहरूले पनि सत्ता पक्षको कुरा नसुन्ने निर्णय गरेको बताएका छन्।
आइतबार संसद बैठक बहिष्कार गरेपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
‘सरकारले यो मुद्दा नै होइन, यो समस्या नै होइन, हामी यसरी नै लुटेर राज्य चलाइरहन्छौं भन्ने किसिमको जवाफ दिइराखेको छ,’ झाले भने, ‘यसको बारेमा आज हामीले आकस्मिक समयमा पनि कुरा राख्यौं। हामीले वेलमा उभिएर विरोध जनाइराख्यौं।’
उनले प्रतिपक्षी दलहरूले बजेटमाथिको असन्तुष्टिबारे निरन्तर आवाज उठाउँदा पनि सरकारले नसुनेपछि बैठक बहिष्कारको निर्णय लिनु परेको स्पष्ट पारे।
‘अहिले सत्ता पक्षका सांसदहरूले बोल्न थाल्नुभएपछि, सत्ताले हाम्रो कुरा सुनेको छैन भने सत्ता पक्षको कुरा पनि हामी सुन्न चाहँदैनौं भनेर हामीले बैठक बहिष्कार गरेका हौं,’ उनले भने।
प्रकाशित: ८ असार २०८२ १८:१४ आइतबार





